१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हिक्मत कार्की मुख्यमन्त्री, कोसी प्रदेश
गणेश लम्साल विराटनगर
२०८० बैशाख २८ बिहीबार ०९:०३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अर्थमन्त्रीविनै बजेट बनाउँदै  कोसी सरकार

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०८० बैशाख २८ बिहीबार ०९:०३:००

सरकार परिवर्तन गर्ने कांग्रेसको प्रयास, माओवादी निर्णयको पर्खाइमा

कोसी प्रदेशमा एमाले नेतृत्वको गठबन्धन सरकारले नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने सम्भावना बढेको छ । एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार ढाल्न मुख्य प्रतिपक्षी कांग्रेसले हुटहुटी देखाए पनि गठबन्धनमा आबद्ध अन्य दलले चासो नदिँदा नीति तथा कार्यक्रम र बजेट यही सरकारले प्रस्तुत गर्ने सम्भावना बलियो बनेको हो ।

मुख्यमन्त्री कार्कीले अर्थमन्त्री पनि नियुक्त गरेका छैनन् । उनले आर्थिक मामिला तथा योजना मन्त्रालय मात्र नभएर आन्तरिक मामिला मन्त्रालय पनि आफैँले राखेका छन् । कोसीमा नौ मन्त्रालय छन् । मुख्यमन्त्री कार्कीले जेठ दोस्रो हप्तादेखि बजेट अधिवेशनको तयारी थालेका छन् । मन्त्रालयले बजेट तर्जुमा छलफल सुरु गरिसकेका छन् । अधिवेशनमा बहुमतका आधारमा बजेट छलफल गराएर नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेर १ असारसम्ममा सहज रूपमा पारित गराउने रणनीति पनि बनाइसकेको छ । 

कार्की माओवादी, राप्रपा र जसपाको समर्थनमा २४ पुसमा मुख्यमन्त्री बनेका थिए । उनीलाई एमालेका ४१, माओवादीका १३, राप्रपाका चार, जनता समाजवादीका एक सांसदको समर्थन थियो । २९ सिट रहेको कांग्रेस र चार सिटको एकीकृत समाजवादी सरकारबाहिर छ । 

प्रतिपक्षलाई छैन सुविधाजनक बहुमत
९३ सांसद रहेको कोसीमा बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । एमाले नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउन राप्रपाबाहेक अन्य दलको सुविधाजनक बहुमत पुग्दैन । माओवादीबाट सभामुख बनेका बाबुराम गौतमले राजीनामा दिए मात्र बहुमत पुग्छ । तर, त्यसो गर्दा फेरि सभामुख एमालेलाई दिनुपर्ने हुन्छ । त्यसैले माओवादी यो जोखिम उठाउन चाहँदैन । सुविधाजनक बहुमत बनाउन एमालेइतर गठबन्धनका लागि राप्रपाको साथ चाहिन्छ । राप्रपालाई साथमा लिन मुख्यमन्त्री दिनुपर्ने हुन्छ ।

माओवादीले राप्रपालाई मुख्यमन्त्री दिनुभन्दा एमालेकै नेतृत्वको सरकारलाई समर्थन गर्न उचित ठानिरहेको छ । अर्कोतर्फ एमाले र माओवादी वा एमाले–कांग्रेस मिलेमा मात्र सुविधाजनक बहुमत हुन सक्छ । तर, वर्तमान केन्द्रीय राजनीतिक परिस्थितिले दुवै सम्भावना कम छ । 

बजेट अधिवेशन सुरु भएपछि पनि कांग्रेसको दबाबले वा केन्द्रीय भागबन्डामा सहमति भएमा कोसी सरकार परिवर्तन हुनसक्नेछ । यसो भएमा कांग्रेसका उद्धव थापा, माओवादीका इन्द्रबहादुर आङ्बो वा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई मुख्यमन्त्री बन्न सक्नेछन् । 

कांग्रेस संसदीय दलका नेता उद्धव थापा सरकार परिवर्तनबारे केन्द्रीय नेतृत्वसँग छलफल तीव्र बनाएको बताउँछन् । काठमाडौंमा उपलब्ध प्रदेश सांसदहरूले २३ वैशाखदेखि भेला भएर निरन्तर केन्द्रीय नेतृत्वलाई दबाब दिइरहे पनि निष्कर्ष नआएको उनले बताए । 

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो सरकार परिवर्तन गर्ने–नगर्ने भन्नेबारे छलफल भइरहेको बताउँछन् । ‘हाम्रो छलफल चलिरहेको छ, तर निष्कर्ष आइसकेको छैन,’ उनले भने ।

राप्रपा संसदीय दलका नेता तथा कोसी सरकारका कृषिमन्त्री भक्ति सिटौला केन्द्रको निर्णयअनुसार चल्ने भएकाले हाललाई सरकारबारे आफूहरूको धारणा प्रस्ट नभएको बताए । एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले एमाले नेतृत्वको वर्तमान सरकार असफल भइसकेकाले माओवादी र जसपाले समर्थन फिर्ता लिनुपर्ने र त्यसबारे छलफल पनि भइरहेको बताए । पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता राईले भने, ‘मुख्यमन्त्री जो भए पनि हामी स्वीकार गर्छौँ, तर पहिले माओवादी र जसपाले समर्थन फिर्ता लिनुपर्छ ।’ 

जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य जयराम यादवले कोसी प्रदेशको सरकार फेरबदलबारे अहिलेसम्म के गर्ने भन्नेबारे केन्द्रबाट कुनै निर्णय नआएको र प्रदेशका पार्टीहरूले पनि कुनै राय–सुझाव नमागेको बताए ।