१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
यम बम काठमाडौं
२o८१ बैशाख ३० आइतबार २o:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वन मन्त्रालयले साढे पाँच महिनापछि पायो सचिव, मन्त्रीको अझै टुंगो छैन

Read Time : > 1 मिनेट
यम बम, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २o:२५:oo

वन तथा वातावरण मन्त्रालयले साढे पाँच महिनापछि सचिव पाएको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डा. रेवतीरमण पौडेललाई सचिवमा बढुवा गर्दै वन मन्त्रालयमा पदस्थापन गरेको हो । उनी पछिल्लो तीन महिनादेखि वन मन्त्रालयमा कामु सचिव थिए ।

डा. पेमनारायण कँडेल गत १४ मंसिरमा सेवानिवृत्त भएपछि मन्त्रालय सचिवविहीन थियो  ।

सरकारले पुसमा सचिव बढुवाको तयारी गरेको थियो । लोकसेवाका अध्यक्षको नेतृत्वमा रहने सचिव बढुवा समितिको सिफारिसमा उल्लेख वरीयतामा असन्तुष्टि जनाउँदै कृषिका सहसचिव सबनम सिवाकोटी सर्वाेच्च अदालत पुगेपछि बढुवा हुन सकेको थिएन ।

५ पुसमा सहसचिवत्रय (क्रमशः) डा. रेवतीरमण पौडेल, यमप्रसाद पोखरेल र डा. राजेन्द्रप्रसाद मिश्रको नाम सचिवका लागि सिफारिस भएको थियो । 

सर्वाेच्चले मुद्दा किनारा लगाएपछि सोमबार बढुवा समितिले सिवाकोटीको नामसमेत समेटेर सिफारिस गरेको थियो । यसपटक क्रमशः सञ्जीवकुमार कर्ण, डा. रेवतीरमण पौडेल र सबनम सिवाकोटीको नाम सिफारिस भएको थियो । यी तीनमध्ये सरकारले पौडेललाई सचिवमा बढुवा गरेको हो । 

कर्ण पहिलो नम्बरमा रहे पनि खाद्य तथा गुणस्तर विभागको महानिर्देशक छँदा मोबाइल भ्यान खरिदको भ्रष्टाचार कान्डमा मुछिएका थिए । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा नै दायर गरेको थियो । 

विशेष अदालतले कर्णसहित सबै १३ जनालाई सफाइ दिए पनि अख्तियारले सर्वाेच्च अदालतमा पुनरावेदन गरेको छ । 

वनले साढे पाँच महिनापछि सचिव पाए पनि कात्तिकदेखि मन्त्री पाएको छैन । अहिले वन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै छ । 

गत ४ मंसिरको निर्वाचनपूर्व जसपाले एमालेसँग सहकार्य गरेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले वनमन्त्री प्रदीप यादवलाई पदमुक्त गरेका थिए । त्यसयता मन्त्रालयले नयाँ मन्त्री पाउन सकेको छैन । 

सत्तागठबन्धनमा वनमन्त्री जसपाको भागमा परे पनि अध्यक्ष उपेन्द्र यादवले सिफारिस गर्न सकेका छैनन। पूर्ववनमन्त्री प्रदीप फेरि वनमन्त्रीका लागि धाउन थालेका छन् ।

ad
ad