
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतको क्षेत्रमा नयाँ क्रान्ति ल्याएको बताएका छन्। उनले देशलाई लोडसेडिङमुक्त गरी अबको दुई वर्षभित्रमा विदेशमा विद्युत् बिक्री गरी अर्बौँ रकम नेपाल भित्र्याउने ठाउँमा पुगेको बताए।
काभ्रेको महाभारत गाउँपालिकामा आयोजित विद्युतको केन्द्रीय प्रसारण लाइन उदघाटन तथा सडक शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
‘हामी हिजोको लोडसेडिङकाे युगबाट मुक्त भइसकेका छाैँ। विद्युतमा हामीले नयाँ क्रान्ति नै गरेका छौँ,’ प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी दुई वर्षभित्रमा विद्युत् निर्यात गरी अर्बाैँ रकम भित्र्याउने ठाउँमा पुग्ने छौँ।’
विद्युत् छिमेकी राष्ट्र भारतमा मात्र नभई अन्य राष्ट्र बंलादेश, भुटानलगायतको देशहरूमा निर्यात गर्ने उनको भनाइ छ। काभ्रे र सिन्धुलीको सिमाना भएर बग्ने कोखाजोर खोलामा जलाशयसहितको एक सय १० मेगावाटको विद्युत् बन्दै गरेको उनले बताए।
विकासमा पछाडि परेका क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै उनले अबको दुई वर्षमा कुनै पनि घर विद्युतविहीन नहुने दाबी गरे। सोही कार्यक्रममा सामाजिक न्याय र सुशासनका लागि भ्रष्टाचारको अन्त्य हुनु आवश्यक बताए।