१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:२६:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुकौराकोटको विकास गर्न प्राधिकरण गठन गर्ने योजनामा छाैँ : मुख्यमन्त्री चौधरी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:२६:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुर उपमहानगरपालिका– ११ सुकौरास्थित थारू राजा दंगीशरणको दरबार उत्खनन र विकासका लागि दंगीशरण सुकौराकोट विकास प्राधिकरण गठन गर्ने योजना अघि सारेका छन्। 

थारू राजा दंगीशरणको दरबार भएको ठाउँको उत्खनन, विकास र संवर्द्धन गर्न गुरुयोजना बनाएर अघि बढ्ने बताउँदै उनले सुकौराकोट दरबारलाई ऐतिहासिक पवित्र भूमिको रूमा विकास गर्नुपर्ने बताए। 

‘मन्त्रिपरिषदबाटै निर्णय गराएर सुकौराकोट विकास प्राधिकरण गठन गर्ने योजना छ,’ उनले भने, ‘उत्खनन, विकास र संवर्द्धनका लागि आवश्यक पर्ने रकमको व्यवस्था लुम्बिनी प्रदेश सरकारले गर्नेछ।’

थारू राजा दंगीशरण दरबारको उत्खनन र विकास विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले दंगीशरणले सयौँ वर्ष पहिले नै संघीयता अंगीकार गरेको बताए।

‘राजा दंगीशरणले संघीयतालाई अंगीकार गरी दाङमा प्रगन्ना र मटावाँ  प्रचलनमा ल्याएका थिए। यो अहिले पनि प्रचलनमा छ। दंगीशरणले थप के–के गरेका थिए उत्खनन पछि खुल्दै जानेछ,’ मुख्यमन्त्री चौधरीले भने। 

उनले बुद्ध जन्मेको ठाउँ पवित्र भूमि भनेजस्तै दंगीशरण राजा जन्मेको ठाउँ पनि पवित्र भूमि भएको बताए। उनले दंगीशरण राजाको दरबार रहेको ठाउँको एक अञ्जुली माटो पनि नचलाउन आग्रह गर्दै उत्खनन र इतिहास खोतलेपछि वास्तविकता पत्ता लाग्ने जिकिर गरे।

‘लुम्बिनीलाई हामीले बुद्ध जन्मेको भूमि भनेर पूजा गर्छौँ, दंगीशरण दरबारलाई पनि त्यस्तै बनाउन खोजिरहेका छौँ,’ उनले भने, ‘यहाँको माटोको पूजा गर्ने दिन पनि आउन सक्छ। उत्खनन र अनुसन्धान नहुँदासम्म यहाँको माटो मनपरि तरिकाले चलाउने अधिकार कसैलाई छैन।’

इतिहासको आधारमा दंगीशरण थारू राजाको दरबार क्षेत्रको विस्तृत गुरुयोजना तयार गरी विकास गरिने उनले बताए। 

‘दंगीशरण राजाको इतिहास कसरी खोज्ने त्यो मूलभूत कुराहरू हो,’ उनले भने, ‘दंगीशरण राजाका पैसाहरू हामीले पाएका छौँ र उत्खननपछि पुरातत्व विभागमा घोडाका कैँजा, माटाका सिक्काहरू अहिले पनि सुरक्षित छन्, अब त्यसका आधारमा विकास अगाडि बढ्नुपर्छ। इतिहास नखोजेर सुकौराकोटमा झिनामसिना काम भएका छन्। यसले इतिहास मेटाउने काम गरिरहेको छ। यो कार्य तत्काल बन्द हुनुपर्छ।’

उनले भने, ‘थारू राजाहरू कहाँ नुहाउँथे, रानीले कहाँ नुहाउँथिन्, कहाँ बसेर पूजा गर्थिन्, सिकार खेल्न, नुहाउन कहाँ–कहाँ जान्थे ? त्यो पत्ता लगाएर डिपिआर बनाउनुपर्‍याे । संरचना बनाउने पैसाको अभाव हुन दिने छैनौँ।’

उनले थारू राजाको सम्बन्ध घोराहीस्थित रतननाथ मन्दिरसँग भएको बताए। नरहरिनाथ योगीले आफ्नो पुस्तकमा थारू राजाको वर्णन गरेको बताउँदै उनले थारूका अन्तिम राजा रत्नपारुखु भएको र उनी गोरखनाथबाट दीक्षान्त भएपछि राजकाज त्यागेर तपस्वी बनेको इतिहास भएको दाबी गरे। 

विगतमा दंगीशरण राजाले नै भारतको पाटनमा पूजा आराधनाका लागि डोली बोकाएर मानिस पठाउने प्रचलन रहे पनि अहिले आएर त्यो क्रम रोकिएको उनको भनाइ छ। 

‘अहिले पनि थारूहरू पाटनदेवीको पूजा गर्छौँ,’ उनले भने, ‘त्यो प्रचलन र इतिहासको खोजी गरी सोहीअनुरूप सुकौराकोटको विकास गर्नुपर्छ। यसका लागि विकास प्राधिकरण गठनको प्रक्रिया अगाडि बढाऔँ।’

उनले इतिहासअनुसार संरचना निर्माण गर्न यसै आर्थिक वर्षमा ४०–५० लाख लैजान सरोकारवाला निकायसँग आग्रह गरे। ‘कामका लागि पैसा लैजानुस, तर काम इतिहासअनुसार हुनुपर्छ। मान्छे पुर्खाको इतिहास हेर्न आउने हो, पर्खाल र भ्युटावर हेर्न आउँदैनन्।’

उनले इतिहास मेटाउने गरी बन्ने योजनाले कसैलाई फाइदा नपुग्ने बताए। इतिहास मेटाउने काम भइरहेको बताउँदै उनले भ्युटावर, पार्कले इतिहास जोगाउन नसक्ने स्पष्ट पारे। 

‘यहाँ इतिहास मेटाउन खोजियो। हामीले इतिहास मेटाउने गरी संरचना बनाउने होइन, इतिहासलाई टेकेर डिपिआर बनाएर अगाडि बढेनौँ भने यसले सिंगो दाङलाई घाटा हुनेछ,’ मुख्यमन्त्री चौधरीले भने, ‘अहिले इतिहास बिगार्ने गरी भ्युटावर, पार्क र पर्खाल निर्माण भएको छ। अब पनि यस्ता काम भए सह्य हुँदैन। म यही कार्यक्रममार्फत सजग गराउन चाहन्छु। चुनेमुने योजना ल्याउन बन्द गरौँ।’   
 

ad
ad