Skip This
साढे नौ महिनामा दुई सय ३५ उद्योग दर्ता झन्डै दुई खर्बको लगानी प्रतिबद्धता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २६ मंगलबार
  • Saturday, 27 July, 2024
नवीन अर्याल काठमाडाैं
२o८o बैशाख २६ मंगलबार o६:२३:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

साढे नौ महिनामा दुई सय ३५ उद्योग दर्ता झन्डै दुई खर्बको लगानी प्रतिबद्धता

होटेल, टायल, एयरलाइन्स, केबलकार, चिनी उद्योगदेखि अटो एसेम्बल प्लान्टसम्म भए दर्ता

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख २६ मंगलबार o६:२३:oo

आर्थिक मन्दीकै बीच साढे नौ महिनामा नेपालमा स्वदेशी तथा विदेशी लगानीका दुई सय ३५ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्षको २० वैशाखसम्म दर्ता भएका यी उद्योगमार्फत एक खर्ब ८९ अर्ब १९ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाइएको छ । तर, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा लगानी प्रतिबद्धता करिब ३५ प्रतिशतले कमी हो ।

उद्योग विभागका अनुसार गत वर्षको सोही अवधिमा दुई खर्ब ९० अर्ब ५२ करोड लगानी प्रतिबद्धताका दुई सय ५५ उद्योग–परियोजना दर्ता भएका थिए । यस वर्ष अर्थतन्त्रमा देखिएको मन्दीका कारण स्वदेशी तथा विदेशी लगानीकर्ता हच्किएको उद्योग विभागको बुझाइ छ । तरलता अभाव, चर्को ब्याजदर, मागमा व्यापक गिरावट, उपभोग्य आम्दानीमा गिरावट, महँगीलगायत कारणले उद्योग–व्यवसायदेखि समग्र अर्थतन्त्र नै संकटमा परेको छ ।

यो वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्य छ । तर, राष्ट्रिय तथ्यांक कार्यालयले हालै चालू आवमा २.१६ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । अर्थतन्त्रमा समस्या देखिँदा पनि पाँचतारे होटेल, जलविद्युत् आयोजना, टायल उद्योग, एयरलाइन्स, चिनी उद्योग, सवारीसाधनका एसेम्बल प्लान्ट दर्ता भएका छन् ।

यीमध्ये कतिपय उद्योग निर्माणको चरणमा गइसकेका पनि छन् । मुरारका ग्रुपले भारतको सोमानी ग्रुपसँग साझेदारी गरेर दुई अर्ब लगानीमा भैरहवामा टायल उद्योग निर्माण सुरु गरिसकेको छ । यस्तै, रमेश कर्पले भारतकै कजरीय ग्रुपसँगको साझेदारीमा चार अर्ब लगानी गरेर नवलपरासीको बर्दघाटमा ठूलो टायल प्लान्ट लगाउँदै छ । प्लान्ट नै लगाउन सुरु भइसकेका दुवै उद्योग हालै मात्र दर्ता भएका हुन् । 

 कुन क्षेत्रमा कति उद्योग दर्ता ?
साढे नौ महिनाको अवधिमा दर्ता भएका कुल उद्योगमध्ये ६ वटा कृषि तथा वनपैदावारमा आधारित छन्, जसमा ९१ करोड लगानी प्रतिबद्धता छ । ऊर्जामूलक ३९ परियोजनामा एक खर्ब एक अर्ब १६ करोड, सूचना प्रविधिमा आधारित आठ उद्योगमा ६१ करोड, पूर्वाधारको एउटा परियोजनामा १३ करोड लगानीको प्रतिबद्धता छ । उत्पादनमूलक ९२ उद्योगमा ३६ अर्ब ८३ करोड, खनिजका चारवटा परियोजनामा ७६ करोड, सेवामूलक ४४ उद्योगमा २९ अर्ब १४ करोड र पर्यटनका ४१ उद्योगमा १९ अर्ब ६४ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । यी उद्योग तथा परियोजनाले १७ हजार नौ सय ८२ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । 

 सवा चार अर्ब लगानीका दुई चिनी उद्योग
चालू आवमा चार अर्ब २८ करोड लगानीका दुईवटा चिनी उद्योग दर्ता भएका छन् । ४ वैशाखमा पर्साको बहुदरमाई गाउँपालिका–४ मा उद्योग खोल्ने गरी शिवशक्ति सुगर एन्ड केमिकल इन्डस्ट्रिज दर्ता भएको छ । दुई अर्ब आठ करोड लगानी हुने यस उद्योगबाट वार्षिक ३७ हजार आठ सय टन चिनी, १८ हजार नौ सय टन मोलासिस, विद्युत्लगायत उत्पादन गर्ने प्रतिबद्धता छ । यो उद्योग सन्दीप गाडियाको लगानीमा सञ्चालनमा आउने बताइएको छ ।

यस्तै, १७ वैशाखमा पर्साको जिराभवानी गाउँपालिका–८ मा उद्योग खोल्ने गरी विजय श्री सुगर मिल दर्ता भएको छ । दुई अर्ब २० करोड लगानी गर्ने प्रतिबद्धता जनाइएको यस उद्योगबाट वार्षिक ३३ हजार सात सय ५० टन चिनी, १८ हजार सात सय ५० टन मोलासिस, १० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

 १० अर्बका चार टायल उद्योग दर्ता
यो अवधिमा तीन अर्ब २९ करोड लगानी गर्ने गरी अरिहन्त इन्फ्रास्ट्रक्चर उद्योग दर्ता भएको छ । सुनसरीको दुहबीमा सञ्चालनमा आउने उद्योगबाट विभिन्न प्रकारका टायल, स्यानेटरी आइटम, जिप्सम बोर्ड, जिप्सम पाउडर, ग्रेनाइटलगायत उत्पादन हुनेछ । 

२१ चैतमा नवलपरासीको रामग्रामा उद्योग खोल्ने गरी सेराप्रो नेपाल उद्योग दर्ता भएको छ । पशुपति मुरारका र भारतको सोमानी सेरामिक्सको करिब दुई अर्ब संयुक्त लगानी हुनेछ । यस उद्योगबाट वार्षिक ३० लाख वर्गमिटर टायल उत्पादन हुने मुरारकाले बताए । यस्तै, बाराको जितपुर–सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा ९५ करोड लगानीमा पशुपति सेरामिक्स उद्योग सञ्चालनमा आउने भएको छ । 

नवलपरासीको बर्दघाटमा देशकै ठूलो सेरामिक्स टायल उद्योग सञ्चालनमा आउने भएको छ । रमेश कर्प र भारतको कजरिया सेरामिक्सको संयुक्त लगानीमा अहिले उद्योग लगाउने काम भइरहेको छ । संयुक्त रूपमा दुई–दुई अर्ब (चार अर्ब) लगानी हुने उद्योगमा वार्षिक ८० लाख टन फ्लोर र वालटायल उत्पादन क्षमता रहने बताइएको छ ।मोरङको टहरीमा कार्पेट, पिभिसी र लेमिनेट प्लेन्क उत्पादन गर्ने गरी जानकी पोलिकेम उद्योग दर्ता भएको छ, जसमा एक–एक अर्ब ५० करोड लगानी हुने जनाइएको छ ।

 पोखरामा एभिएसन कलेज खुल्ने
स्वदेशी तथा क्यानेडियन लगानीकर्ताको संयुक्त लगानीमा पोखरामा क्यानेडियन एभिएसन कलेज खुल्ने भएको छ । ६२ प्रतिशत स्वदेशी र ३८ प्रतिशत विदेशी लगानी रहने गरी २६ असोजमा ३४ करोड ५० लाख पुँजीको कम्पनी दर्ता भएको हो । वार्षिक रूपमा हवाईजहाज उडाउने ५० जना र हेलिकोप्टर उडाउने १५ जना पाइलट उत्पादन गर्ने कलेजको लक्ष्य छ । यसै वर्ष एक अर्ब ६९ करोड लगानीको होटेल इस्टर्न दर्ता भएको छ । दुई अर्ब ४० करोडमा बुढानीलकण्ठ हेरिटेज होटेल खुल्दै छ भने झापाको मेचीनगरमा दुई अर्ब ५१ करोड लगानीमा आयुष्मान होटेल खुल्ने भएको छ ।

 तीनवटा एसेम्बल प्लान्ट
उद्योग विभागमा रोयल इन्फिल्ड, होन्डा र हिरो मोटोकर्पले बाइक तथा स्कुटर स्वदेशमै एसेम्बल गर्ने गरी उद्योग दर्ता गरेका छन् । एनजिएम इन्जिनियरिङ एन्ड सेल्स प्रालिले वार्षिक ४५ हजार बाइक तथा स्कुटर एसेम्बल गर्ने गरी वीरगन्जमा हिरोको एसेम्बल प्लन्टमा ३३ करोड लगानी गर्दै छ । हिमाल मोटोले रुपन्देहीको रोहिणी गाउँपालिकामा ६० करोड लगानीमा एसेम्बल प्लान्ट खोल्दै छ । यो उद्योगले वार्षिक २५ हजार मोटरसाइकल र ७५ हजार स्कुटर एसेम्बल गर्ने प्रस्ताव पेस गरेको छ ।

 सिकलेस अन्नपूर्ण केबलकार
कास्कीको मादी गाउँपालिका (अन्नपूर्ण क्षेत्र)मा केबलकार सञ्चालनका लागि सिकलेस अन्नपूर्ण केबलकार दर्ता भएको छ । आइएमई समूहलगायत टिमको लगानीमा अन्नपूर्ण क्षेत्रमा केबलकार सञ्चालन गर्न लागिएको हो । केबलकार र होटेलसहितको परियोजना सञ्चालनमा ल्याउन करिब पाँच अर्ब लगानी लाग्ने उद्योग विभागमा प्रस्ताव गरिएको छ ।  

 तीन इन्भेस्टमेन्ट कम्पनी दर्ता
चालू आवमा उद्योग विभागमा तीनवटा इन्भेस्टमेन्ट कम्पनी दर्ता भएका छन् । करिब ६ अर्ब पुँजीको बोर्डरलेस कन्सल्टिङ कर्पोरेसन इन्भेस्टमेन्ट कम्पनीले हेल्थ, जलविद्युत्, पर्यटन, आइसिटी, लजिस्टिक र एभिएसन प्रोजेक्टमा लगानी गर्ने जनाएको छ ।