मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०८० बैशाख २५ सोमबार ०७:३९:००
Read Time : > 5 मिनेट
समाचार प्रिन्ट संस्करण

भद्रगोल वीर अस्पताल : क्षमताभन्दा ३६० कम बेड मात्र सञ्चालनमा

Read Time : > 5 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०८० बैशाख २५ सोमबार ०७:३९:००

स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डअनुसार अस्पतालहरूले दिइरहेका सेवाअनुसार विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी हुनुपर्छ । ५० शड्ढयाका अस्पतालमा नर्सिङ जनशक्ति एक सय नौजना र उपलब्ध सेवाअनुसार विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्यकर्मी कम्तीमा ८७ जना हुनुपर्ने उल्लेख छ । सयदेखि तीन सय बेडसम्मका अस्पतालमा नर्सिङ क्रमशः दुई सय २४, पाँच सय ९४ हुनुपर्छ भने चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी दुई सय ४७ भन्दा बढी आवश्यक पर्छ । तर, नेपालमा स्वास्थ्यकर्मीको चरम अभाव छ ।

चैतको पहिलो साता प्रकाशित ‘डब्लुएचओ हेल्थ वर्कफोर्स सपोर्ट एन्ड सेफगार्डस् लिस्ट, २०२३’ प्रतिवेदनले नेपालमा स्वास्थ्य जनशक्तिको चरम अभाव रहेको जनाएको थियो । उपलब्ध जनशक्ति र स्रोत–साधन पनि काठमाडौं उपत्यकाकेन्द्रित रहेको वार्षिक अध्ययनले देखाउने गरेका छन् । तर, काठमाडौंमै केन्द्रित रहेका केन्द्रीय अस्पतालमा पनि जनशक्ति आवश्यकताभन्दा निकै कम छ । जसकारण अस्पताल पुगेका बिरामी उपचार नपाई फर्कनुपर्ने वा लामो समयपछि पालो कुरेर स्वास्थ्य सेवा लिन विवश छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनसंख्याका आधारमा स्वास्थ्य जनशक्ति निकै न्यून रहेकाले सन् २०३० सम्ममा स्वास्थ्य लक्ष्य हासिल गर्ने उद्देश्य पूरा नहुने बताउँदै आएको छ । 
देशकै जेठो वीर अस्पताल नौ सय ६० वटा शड्ढया क्षमताको छ । तर, जनशक्ति र उपकरण अभावमा हाल ६ सय ६० वटा बेड मात्र सञ्चालनमा छन् । आवश्यक भवन र अन्य पूर्वाधार भए पनि स्वास्थ्यकर्मी र उपकरण अभावमा क्षमताभन्दा तीन सय ६० वटा कम बेड प्रयोगमा छन् । बहुविशेषज्ञ सेवा सञ्चालन तथा विस्तार भइरहेको अस्पतालमा वीर र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत गरी एक हजार दुई सय २२ जना स्वास्थ्यकर्मीको दरबन्दी छ । तर, उपचार गराउन आउने बिरामीको संख्या हेर्दा कार्यरत जनशक्ति निकै न्यून हो । हाल अस्पतालमा तीन सय ३६ चिकित्सक, पाँच सय १४ स्टाफ नर्स र बाँकी ३९ जना पारामेडिक्स कार्यरत छन् ।

अस्पतालले दरबन्दीकै स्वास्थ्यकर्मी पदपूर्ति मात्रै भए पनि क्षमताअनुसारको बेड सञ्चालनमा ल्याउन सकिने बताउँदै आएको छ । खासगरी नर्सिङ स्टाफ अभावका कारण सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालको भनाइ छ । अस्पतालका अनुसार हाल चलिरहेकै सेवा सञ्चालनका लागि समेत नर्सिङ जनशक्ति अपुग छ ।

प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठका अनुसार हाल सञ्चालनमा रहेको सेवा विस्तारका लागि मात्रै कम्तीमा नौ सय ३८ जना नर्स आवश्यक छ । तर, अस्पतालमा रहेका नर्सिङ स्टाफसमेत शतप्रतिशत कार्यरत नहुँदा कामको भार बढी भइरहेको उनको भनाइ छ । हाल वीरमा नर्सिङतर्फ एक सय ८६ सरकारी दरबन्दी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत एक सय २४ जना नर्सको दरबन्दी छ । जसमध्ये २२ जना नर्स अन्यत्र काजमा रहेको र २० जनाभन्दा बढी नर्स अध्ययन र बेतलबी बिदामा छन् । 

 उपचारका लागि महिनौँसम्म पालो कुर्नुपर्ने बाध्यता 
वीर अस्पतालमा दैनिक इमर्जेन्सी र ओपिडीमा मात्रै दुई हजारदेखि २५ सयसम्म बिरामी पुग्ने गरेका छन् । तर, बेडको अभाव र स्वास्थ्यकर्मी कम हुँदा बिरामीले उपचारका लागि महिनौँसम्म पालो कुनुपर्ने बाध्यता छ । वीरमा हाल उपचारका लागि दुरबिनको सहायताले गरिने शल्यक्रियाका लागि कम्तीमा दुईदेखि तीन महिना, न्युरो सर्जरी गर्न चारदेखि पाँच महिना, नाक–कानको शल्यक्रिया गर्न पाँचदेखि ६ महिना, नयाँ हेमोडायलाइसिस सेवाका लागि दुईदेखि चार हप्ता, क्यान्सर अप्रेसनका लागि एक महिना, इमर्जेन्सीबाहेकको अप्रसेनका लागि पाँचदेखि ६ महिना, एलर्जी टेस्टका लागि दुई महिनासम्म पालो कुर्नुपर्ने अवस्था छ । 

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको अभाव नै मुख्य समस्या भएको बताए । अस्पतालमा दैनिक कम्तीमा दुई सयको संख्यामा बिरामी भर्ना हुँदा अत्यधिक चापका कारण लामो समय पालो कुनुपर्ने बाध्यता देखिएको उनको भनाइ छ । वीरमा स्वास्थ्यकर्मीको संख्या बिरामीको तुलनामा निकै कम हँुदा एकजना चिकित्सकले ४० देखि ६० जना बिरामी परीक्षण गर्नुपर्दा सामान्य सेवा लिनसमेत तीनदेखि चार घन्टासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको महालेखाको पछिल्लो प्रतिवेदनले समेत देखाएको छ । 

वीरमा उपचारका लागि महिनौँसम्म पालो कुर्नुपर्ने बाध्यतासँगै स्वास्थ्यकर्मी अभाव भएको भन्दै धेरै सेवा वर्षौँदेखि बन्द छन् । आवश्यक उपकरण समयमा खरिद गर्न नसकिएको र वार्ड सञ्चालनका लागि स्वास्थ्यकर्मी र अन्य जनशक्ति उपलब्ध नभएको भन्दै विभिन्न वार्ड वर्षौँदेखि ठप्प छन् । जसमध्ये मेसिनरी उपकरण अभावले डेन्टल इम्प्लास्ट सेवा, कार्डियोथोरासिक उपचार सेवा, कार्डियक भास्कुलर सेवा, आँखाको लेजर, रेटिना केयर सेवालगायत सेवा हाल सञ्चालनमा छैनन् । 

 भेन्टिलेटरसहित १९ वटा  उपकरण मर्मत अभावमा थन्किए
बिग्रेका मेसिन तथा उपकरण समयमा मर्मत नहुँदासमेत अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ । हालै प्रयोगमा ल्याइएका सातवटा सामान्य भेन्टिलेटर मेसिन, आठवटा हेमिल्टन भेन्टिलेटर मेसिन, दुईवटा केयर फ्युजन भेन्टिलेटर र एक–एकवटा युएसजी मेसिन र प्यासेस्ट मोनिटर गरी १९ वटा उपकरण मर्मत अभावमा थन्किएका छन् । यी मेसिन समयमा मर्मत नहुँदा गत पाँच महिनायता स्टोरमा थन्क्याइएका हुन् । तर, अस्पतालले भने मेसिनको अटोसेन्सर बिग्रिएका र मर्मतका लागि सम्बन्धित कम्पनीले नै बनाउनुपर्ने भएकाले समय लागेको दाबी गरेको छ ।

‘अधिकांश महँगा उपकरण युरोपबाट आउने गर्छन् । बिग्रिएमा मर्मत गर्नसमेत सम्बन्धित कम्पनीलाई नै गुहार्नुपर्ने हुन्छ । हरेक कानुनी प्रक्रिया पु¥याउँदा समय लागेको हो । तर, हामीकहाँ ब्याकअपमा अन्य भेन्टिलेटर मेसिन भएकाले उपकरण बिग्रिँदा सेवा प्रवाहमा समस्या देखिएको छैन,’ अस्पतालका प्रवक्ता सागर मिश्रले भने ।

 औषधि खरिद र बिल तिर्न दुई घन्टा लाइन
अस्पतालनजिकका फार्मेसी अनधिकृत रूपमा बनाइएको भन्दै काठमाडौं महानगरपालिकाले भत्काएपछि वीर अस्पतालका फार्मेसीमा औषधि किन्न सेवाग्राहीले दुई घन्टासम्म लाइन बस्नुपर्ने बाध्यता छ । अस्पतालले नयाँ सर्जिकल भवनमा दुईवटा थप फार्मेसी सञ्चालनमा ल्याए पनि बिरामीको चाप अत्यधिक हुँदा औषधि किन्न लामो लाइन बस्नुपरेको अस्पताल प्रशासनले बताएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको फार्मेसी सेवा निर्देशिका, २०७२ अनुसार अस्पताल आफैँले गुणस्तरयुक्त फार्मेसी पालन गर्नुपर्ने व्यवस्था रहे पनि अस्पतालले बिरामीको चाप अत्यधिक रहेकाले सेवा प्रवाहमा समस्या भएको जिकिर गर्दै आएको छ । ‘विपन्नलक्षित, ओपिडी र सर्जरीलक्षित गरेर अस्पतालभित्रै चारवटा फार्मेसी सञ्चालनमा छन् । 

केन्द्रीय अस्पतालमै छैनन् आवश्यक स्वास्थ्य जनशक्ति : कान्तिमा सेवा लिन तीनदेखि चार घन्टासम्म कुनुपर्ने बाध्यता 
कान्ति बाल अस्पताल बालबालिकाको उपचारका लागि केन्द्रीय अस्पताल मानिन्छ । तर, यो अस्पतालमा पनि जनशक्ति अभावका कारण दैनिक सेवा लिन तीनदेखि चार घन्टासम्म लाइन बस्नुपर्ने बाध्यता छ । हाल तीन सय ५२ शड्ढयामा चलिरहेको अस्पतालले गत वर्ष एक लाख १६ हजार चार सय ५३ बालबालिकालाई सेवा प्रदान गरेको थियो । अत्यधिक भिड रहने कान्तिमा आइतबारदेखि शुक्रबारसम्म दैनिक बिहान ८ देखि १ बजेसम्म ओपिडी टिकट वितरण गरिन्छ ।

उपचार सेवा लिन आउने बिरामीको बिहान १० बजेदेखि चेकजाँच सुरु गरे पनि चिकित्सकको सेवा लिन कम्तीमा तीनदेखि चार घन्टासम्म कुर्नुपर्ने अवस्था छ । अस्पतालमा विकास समितितर्फ चिकित्सक, नर्स, पारामेडिक्स र अन्यसमेत दुई सय ९६ को दरबन्दी स्वीकृत भएकोमा हाल एक सय ५० कार्यरत रहेको र रिक्त दरबन्दीमा करारका स्वास्थ्यकर्मी कार्यरत छन् । हाल नेपाल सरकारतर्फ ७८ चिकित्सक, एक सय ६ नर्स र अन्यसमेत दुई सय ६४ को दरबन्दी छ । तर, ४९ चिकित्सक र ४२ नर्स मात्र कार्यरत छन् । चिकित्सक, नर्स र अन्य कर्मचारी गरी ९४ दरबन्दी रिक्त छन् ।

जनशक्ति अभावकै कारण उपचार सेवा प्रभावित भइरहेको अस्पतालले जनाउँदै आएको छ । अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको मुटु रोगको उपचार गर्ने कार्डियो सेवा सञ्चालनमा रहे पनि छुट्टै कार्डियो युनिट र मुटुरोग विशेषज्ञको पदपूर्ति नहुँदा मेडिसिन चिकित्सकले सेवा दिइरहेका छन् । इको, क्याथ ल्याब र सिसियू नभएका कारण मुटुको एन्जियोप्लास्टी, एन्जियोग्राफीलगायत सेवा उपलब्ध छैनन् ।

जनशक्ति अभावका कारण अस्पतालका शल्यक्रियामा समेत महिनौँसम्म पालो कुर्नुपर्ने अवस्था छ । अस्पतालले हाइड्रोसिलको अप्रेसन गर्न ६ महिनादेखि दुई वर्ष, सामान्य अप्रेसन गर्न तीन महिनादेखि एक वर्ष, मेजर अप्रेसन गर्न ६ महिनादेखि दुई वर्षसम्म पालो पर्खनुपर्ने नीति बनाएकोे छ । दुईवटा मात्र अप्रेसन थिएटर रहेको अस्पतालमा १६ शड्ढयाको आइसियू र ३० शड्ढयाको सर्जिकल वार्डमा सेवा दिइरहेको छ । 

 परोपकार प्रसूतिगृहमा पनि आवश्यकताभन्दा कम जनशक्ति
हाल चार सय ८९ शड्ढयामा सञ्चालन भइरहेको परोपकार प्रसूतिगृहमा समेत जनशक्ति अभाव छ । विकास समितितर्फको दुई सय ६८ र सरकारीतर्फको तीन सय ८० गरी ६ सय ४८ स्वास्थ्य दरबन्दी रहे पनि आवश्यकताअनुसार जनशक्ति छैन । अस्पतालको भिडलाई सेवा दिन स्वास्थ्यकर्मी अझै अपुग भइरहेको अस्पतालको भनाइ छ । हाल अस्पतालमा एक सय ५४ नर्स, ६० चिकित्सक र ५५ प्यारामेडिक्स कार्यरत छन् ।

खासगरी नर्सिङ जनशक्ति अभाव छ । न्यूनतम मापदण्डअनुसार चार सय बेडको अस्पताललाई कम्तीमा सात सय ३५ जना नर्स चाहिन्छ । तर, सरकारी दरबन्दी रहेका २७ मध्ये १५ जना मात्रै कार्यरत छन् । अस्पतालमा विकास समितिअन्तर्गत एक सय ४६ जनाको दरबन्दी रहेकोमा २७ जना स्थायी र करारमा एक सय ३९ जना कार्यरत छन् । 

 सय शड्ढयाको नरदेवी आयुर्वेदिक अस्पतालमा ६५ स्वास्थ्यकर्मी
केन्द्रीय अस्पताल कम्तीमा तीन सय शड्ढया हुनुपर्ने मापदण्ड छ । नरदेवी अस्पताल अहिलेसम्म सय शड्ढयामा चलिरहेको छ । तर, चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी पर्याप्त छैनन् । सबै कर्मचारी गरी ९९ जनाको दरबन्दी रहेको अस्पतालमा हाल चिकित्सक १९ जना, १६ जना नर्स, ३० जना फर्मासिस्ट, वैद्य, कविराज कार्यरत छन् । ‘पुरानो दरबन्दीका आधारमा अहिलेसम्म अस्पताल चलाउनुपर्ने बाध्यता छ । वैज्ञानिक रूपमा बिरामीको चाप सर्वेक्षण गरेर सरकारले जनशक्ति व्यवस्थापन गर्नुपर्ने हो, तर दरबन्दी परिमार्जन नहुँदा सेवा दिनै मुस्किल भइरहेको छ,’ अस्पतालका कार्यकारी निर्देशक डा. प्रदीप केसीले भने ।

 पाटन मानसिक अस्पतालमा पनि उस्तै समस्या
हाल ५० शड्ढया रहेको पाटन मानसिक अस्पतालमा पनि स्वास्थ्यको चरम अभाव छ । कार्यकारी निर्देशक डा. अनन्त अधिकारीका अनुसार अस्पतालमा दैनिक सयभन्दा बढी ओपिडीमा र ५० जना इमर्जेन्सीमा जनशक्ति चाहिन्छ । तर, स्वास्थ्यकर्मी कम हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । मानसिक रोगको उपचारमा विशिष्टीकृत सेवा दिइरहेको अस्पतालमा हाल १५ जना चिकित्सक, १६ जना नर्स र ६ जना प्यारामेडिक्स मात्र कार्यरत छन् । जब कि ५० शड्ढयाको विशिष्टीकृत अस्पतालमा न्यूनतम सेवा मापदण्डअनुसार नर्स मात्रै एक सय नौजना आवश्यक पर्छ ।