मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० बैशाख २४ आइतबार ०९:३९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सातौँ पोखरा स्पोर्टस् अवार्ड : करण र सावित्रा वर्ष उत्कृष्ट खेलाडी

Read Time : > 1 मिनेट
२०८० बैशाख २४ आइतबार ०९:३९:००

क्रिकेटका करण केसी र फुटबलकी सावित्रा भण्डारी सातौँ पोखरा स्पोर्टस् अवार्ड २०७९ का वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा करण पुरुषमा र सावित्रा महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी बनेका हुन् । दुवै खेलाडीले आ–आफ्नो विधामा मनोनयनमा परेका समान दुई खेलाडीलाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधि जित्दा करणले आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्कालाई पाखा लगाए । महिलातर्फ सावित्राले आर्चरीकी रोजिना थापामगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगरलाई निराश पारिन् । 

वर्ष उत्कृष्ट खेलाडीद्वयले दुई लाख १७ हजार पर्ने इलेक्ट्रिक स्कुटर पाएका छन् । यसैगरी, वर्ष उदीयमान खेलाडी क्रिकेटका सुवास भण्डारी बनेका छन् । उदीयमान खेलाडीतर्फ भलिबलका रवि केसी र फुटबलका सुमित श्रेष्ठ मनोनयनमा परेका थिए । वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड आर्चरीका किशोरकुमार गुरुङले पाए । प्रशिक्षकका लागि गुरुङसँग टेनिसका नीरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार मनोनयनमा रहेका थिए । विधागत रूपमा उत्कृष्ट भएका खेलाडीले जनही ३५ हजार रुपैयाँ पाएका छन् । वर्ष उत्कृष्ट खेल संघ ह्यान्डबल कास्कीले जितेको छ । वर्ष उत्कृष्ट खेल पत्रकार सागरराज तिमिल्सिना बनेका छन् । 

मञ्चले ०७३ सालदेखि अवार्ड गर्दै आइरहेको मञ्चका अध्यक्ष दिननाथ बरालले जानकारी दिए । प्रदेशका ११ जिल्लामा खेलाडीले गत वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनका आधारमा अवार्ड प्रदान गरिएको बरालले जानकारी दिए । 

मर्सानीलाई लाइफ टाइम अचिभमेन्ट 
बक्सिङका पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा वरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीले लाइफ टाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् । मर्सानीले १५ वर्षको उमेरदेखि बक्सिङ खेल्न सुरु गरेका थिए । उनले ०३७ सालमा गण्डकी अञ्चलको प्रतिनिधित्व गर्दै पहिलोपटक राष्ट्रिय बक्सिङ प्रतियोगितामा भाग लिए । त्यसपछि ०३८ सालमा काठमाडौंमा भएको बृहत् राष्ट्रिय खेलकुद र वीरगन्जमा भएको सातौँ राष्ट्रिय बक्सिङ प्रतियोगितामा रजत पदक जिते । ०४२ सालमा सहायक प्रशिक्षकका रूपमा खेलकुद विकास समितिमा प्रवेश गरेका मर्सानीले भारतमा दुई वर्ष अध्ययन गरे । मर्सानीले ३५ वर्ष प्रशिक्षकका रूपमा काम गर्दै ०७७ साल असारमा अनिवार्य अवकाश पाए ।