Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० बैशाख २२ शुक्रबार ११:३८:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१८ वर्षदेखि अन्योलमा बाहिरी चक्रपथ, फेरि नयाँ डिपिआरको माग

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० बैशाख २२ शुक्रबार ११:३८:००

सरकारले ०६२ सालमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का काँठ क्षेत्र समेट्ने गरी बाहिरी चक्रपथ निर्माण गर्ने घोषणा गरेको थियो । मन्त्रिपरिषद्बाट बाहिरी चक्रपथ निर्माणको निर्णय भएपछि ०६५ मा डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट) पनि तयार गरिएको थियो । त्यसयता यस विषयमा पटक–पटक चर्चा चले पनि १८ वर्ष बित्दा पनि निर्माण भने सुरु भएको छैन । त्यतिवेला सरकाले पाँच वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्यसमेत तय गरेको थियो । 

तत्कालीन डिपिआरअनुसार आयोजना उपयुक्त हुने देखिएको थियो । तैपनि, सरकारकै बेवास्ताले ७१ दशमलब ९१ किमि यो सडक निर्माण हालसम्म सुरु भएको छैन । त्यतिवेला आयोजना सम्पन्न गर्न ४३ अर्ब रुपैयाँ लागत अनुमान गरेको थियो । अहिले यसको लागत बढेर एक खर्ब १५ अर्ब पुगेको उपत्यका विकास प्राधिकरणले जनाएको छ । काठमाडौंको बलम्बुलाई शून्य किलोमिटर मानिएको यो आयोजनाको हालसम्मको भौतिक प्रगति शून्य छ ।

बाहिरी चक्रपथ आयोजनाले झन्डै दुई दशकसम्म पनि आयोजना सुरु नभएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष पुरानो फाइल पुनः पेस गर्ने तयारी गरेको छ । ‘बजेट अभावकै कारण लामो समयसम्म आयोजनाको काम सुरु गर्न सकेनौँ,’ आयोजना प्रमुख जगदीश लामिछानेले भने, ‘सरकारले प्राथमिकतामा नपर्दा उत्यकाका तीन जिल्लाको महत्वको यो आयोजना सुरु हुन सकेको छैन ।’ 

आठ लेनको यो चक्रपथले तीन जिल्लाका नयाँ बस्ती र सहरी क्षेत्र समेट्ने विश्वास गरिएको थियो । आयोजनाको पहिलो चरणमा चोभार, कीर्तिपुरको गाम्चा र सतुंगल खण्डको ६ दशमलव ६ किलोमिटर निर्माण सुरु गर्ने सरकारले जनाएको थियो । तर, हालसम्म आयोजनाको कुनै खण्ड निर्माण सुरु हुन सकेको छैन । 

चक्रपथको धेरै भाग काठमाडौंमै 
बाहिरी चक्रपथको सबैभन्दा धेरै भाग काठमाडौंमै पर्छ । चक्रपथको ३५.०८ किलोमिटर लम्बाइ काठमाडौंमा छ भने ललितपुरमा १५.८० किलोमिटर र भक्तपुरमा २१.०५ किलोमिटर पर्छ । सरकारको बेवास्ताका कारण आयोजना सञ्चालन हुने भनिएका सबैजसो क्षेत्रमा भवन निर्माण र बस्ती विस्तार भइसकेका छन् । आयोजना सञ्चालन हुने रुटमा १५ हजारभन्दा बढी संरचना बनेको अनुमान छ ।

हरेक वर्ष बजेट विनियोजन, सधैँ फ्रिज
चालू आर्थिक वर्षमा आयोजनाका लागि सरकारले चालूतर्फ ५५ लाख र विकासतर्फ २६ लाख बजेट विनियोजन गरेको थियो । चालू बजेट कर्मचारी तलब सुविधामै खर्च हुने गरेको छ भने अन्य बजेट फ्रिज हुँदै आएको छ । आयोजनामा तीनजना इन्जिनियरसहित १० जना कर्मचारी छन् । तर, आयोजनाको काम सुरु नभएपछि कर्मचारी बेकामे बनेका छन् ।

सरकारले ०६५ देखि भौतिक निर्माणका लागि भन्दै वार्षिक २५ लाखका दरले बजेट विनियोजन गर्दै आइरहेको छ । आयोजना सुरु गर्न ठूलो आकारको बजेट चाहिने र यसका लागि सरकार तयार नभएकाले काम सुरु गर्न नसकेको आयोजना प्रमुख लामिछानेले जानकारी दिए । 

फेरि डिपिआर गर्न माग 
०६५ मा गरिएको डिपिआर अहिलेको अवस्थामा लागू गर्न नसकिने भन्दै आयोजनाले फेरि अध्ययन हुनुपर्ने माग गरेको छ । ०६५ मा तय गरिएको बाहिरी चक्रपथ निर्माणको रुटमा धेरै संरचना निर्माण भएकाले पुनः अध्ययन आवश्यक देखिएको आयोजना प्रमुख लामिछानेले जानकारी दिए । ‘पुरानो अध्ययन अब काम छैन, किनभने बाहिरी चक्रपथ सञ्चालन गर्ने भनिएको रुटमा बस्ती बसिसकेको छ,’ उनले भने, ‘ती बस्ती र भवनको मुआब्जामा अर्बौँ बजेट खर्च गर्नुपर्ने हुन्छ ।’ उनले पुनः अध्ययन गरेर पुरानो अध्ययनअनुसार बाहिरी चक्रपथको रुट परिवर्तन गर्न सकिने बताए । कम बस्ती भएको क्षेत्रबाट आयोजना अघि बढाउँदा सहज हुने उनको भनाइ छ । 

१५ हजारभन्दा बढी संरचना बनेको अनुमान
सरकारले बाहिरी चक्रपथ निर्माणका लागि एकपटक अध्ययन गरे पनि उक्त आयोजनाभित्र पर्ने व्यक्तिगत जग्गा भने एकीकरण गरिसकेको छैन । सडक प्रभावित स्थानीयलाई मुआब्जा दिन सकेको छैन । जसका कारण स्थानीयले चक्रपथ निर्माणमा विरोध गरिरहेका छन् । आयोजनाका अनुसार झन्डै ७२ किमि प्रस्तावित चक्रपथभित्र १५ हजारभन्दा बढी संरचना बनेको छ । यी संरचना हटाउन र मुआब्जा दिन सरकारले ठूलो आकारमा बजेट छुट्याउनुपर्छ ।

नगरपालिकाहरूसँग बजेट माग 
आयोजनाले बाहिरी चक्रपथमा समेटिने स्थानीय सरकारहरूलाई पनि आ–आफ्नो क्षेत्रमा पर्ने सडकखण्ड निर्माण गर्न आवश्यक बजेट दिन माग गरेको छ । केन्द्र सरकारले एकै चरणमा ठूलो बजेट नदिने र पटक–पटक बजेट छुट्याएर आयोजना निर्माण गर्दा बर्सौँ लाग्ने भएपछि आयोजनाले स्थानीय सरकारसँग समन्वयको माग गरेको हो । आयोजनाले काठमाडौंको चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, ललितपुर महानगरपालिका,  गोदावरी, महालक्ष्मी, भक्तपुरको सूर्यविनायक, चागुनारायण, काठमाडौंको गोकर्णेश्वर, बुढानीलकण्ठलगायत नगरपालिकासँग आयोजनाले समन्वय गर्न र आर्थिक सहयोग गर्न आग्रह गरेको छ । कतिपय नगरपालिकाले यसबारे इच्छा देखाएको आयोजना प्रमुख लामिछानेले जानकारी दिए । 

बाहिरी चक्रपथले कुन–कुन क्षेत्र समेट्छ ? 
बलम्बुलाई शून्य किलोमिटर मानेर सुरु हुने बाहिरी चक्रपथले काँठका अधिकांश बस्ती समेटेको छ । यसको दूरी ७१ दशमलब ९१ किलोमिटर थियो । चक्रपथलाई भित्री बस्तीहरूसँग पनि लिंक गर्ने उपत्यका विकास प्राधिकरणको योजना छ । 

बाहिरी चक्रपथभित्र काठमाडौंको नैकाप भन्ज्याङ, सीतापाइला, स्युचाटार, बाहिरी स्वयम्भू, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाइपास, बालुवाटारको छेउ, टोखा–सरस्वती क्षेत्र, गोंगबु, हिलेडोल, मनमैजु, चपली, बामथली, नयाँपाटी, चुनीखेल, टुसाल गाउँ, गोकर्णेश्वरलगायत बस्ती समेट्छ । 

त्यस्तै, इचंगुनारायणस्थित गैह्रीगाउँ, दौडिनेपानी, नेपालटार, सीतापाइलाको बाहिर क्षेत्र, हलचोकलगायत क्षेत्रबाट यो सडकखण्ड जानेछ । चोभारस्थित बागमती पुल, कीर्तिपुर क्षेत्र, गाम्चा, मच्छेगाउँ, तीनथाना, सतुंगललगायत क्षेत्र हुँदै बाहिरी चक्रपथ निर्माण हुनेछ । 

ललितपुरतर्फ ललितपुर महानगर, गोदावरी र महालक्ष्मी नगरपालिकालाई समेट्ने जनाइएको छ । लुभु–लामाटार, सुनाकोठी, ढोलाहिटी, विष्णुडोल, हरिसिद्धि, दशघर, धापाखेल, ठेँचो, बुङमती, खोकनालगायत क्षेत्रका बस्तीलाई समेट्ने गरी चक्रपथ निर्माण हुने उल्लेख छ । भक्तपुरको कमलविनायक, खरीपाटी, छालिङ, सुडाल, दधिकोट, दुवाकोटलगायत बस्तीलाई समेट्ने गरी आयोजना सञ्चालन हुनेछ ।