१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एक महिनादेखि कलेजमा लगाइएको ताला र परीक्षाकाे माग गर्दै जिल्ला प्रशासनअगाडि धर्नामा विद्यार्थी ।
२०८० बैशाख २१ बिहीबार १२:५३:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

स्ववियु निर्वाचन विवादले एक महिनादेखि क्याम्पसमा ताला, बोर्ड परीक्षा नै स्थगित 

कि पुनः स्ववियु कि क्याम्पस प्रमुख हटाउ : नेवीसंघ 

Read Time : > 2 मिनेट
२०८० बैशाख २१ बिहीबार १२:५३:००

नियमित पठनपाठन र परीक्षा दिन पाउने हकको माग गर्दै रामपुर कृषि क्याम्पसका विद्यार्थीले शान्तिपूर्ण धर्ना कार्यक्रमको आयोजना गरेका छन्। 

पूर्वीचितवनको खैरहनीस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आंगिक रामपुर कृषि क्याम्पसका विद्यार्थीले स्वतन्त्र विद्यार्थी युनियनमार्फत बुधबार जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापनपत्र बुझाउँदै प्रशासनको ध्यानाकर्षण गराएका हुन्।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भए पनि नेपाल विद्यार्थी संघले निर्वाचन प्रक्रिया र नतिजा घोषणाप्रति असहमति जनाउँदै तालाबन्दी गरेका कारण कलेजको नियमित परीक्षासमेत रोकिएको छ। 

तालाबन्दी नखुल्दा चैत २६ गतेबाट सुरु भएको त्रिविको बिएस्सी एजी पाँचौँ सेमेस्टर र ८ वैशाखदेखि सुरु भएको आठौँ सेमेस्टरको  परीक्षा रामपुर कृषि क्याम्पसमा रोकिएको स्ववियु सभापति दिवस पौडेलले बताए।

उनले भने, ‘हाम्रो कुरा कसले सुनिदिने? तालाबन्दी समस्याको समाधान हो ? धेरै केही मागेको छैन। पढ्ने अधिकार देउ। अनि यसरी कृषि क्षेत्रले दक्षजनशक्ति पाउला त ? चाबी हरायो क्या हो? चारवर्षे कोर्स चार दुना आठ वर्ष लाग्लाजस्तो छ।’ 

नेविसंघले किन खोलेको छैन ताला ?

त्रिविअन्तर्गतका क्याम्पसमा चैत ५ मा स्ववियु निर्वाचन हुने कार्यतालिका थियो । तर, सो कार्यतालिकाभित्र चितवनका दुई क्याम्पसमा मात्रै निर्वाचन भए।

अन्य क्याम्पसमध्ये खैरहनीको रामपुर कृषि क्याम्पसमा  चैत १७ गतेका लागि स्ववियु निर्वाचन भएर परिणाम घोषणा भएको थियो । चैत २० मा नेविसंघले क्याम्पसमा ताला लगाएर परिणामलाई अस्वीकार गर्दै आएको छ।

उम्मेदवारी मनोनयनलगायत निर्वाचनसम्बन्धी सबै प्रक्रिया पूरा भएको अवस्थामा मतदानको अघिल्लो दिन नेविसंघले चैत ४ मा तालाबन्दी गरेपछि निर्धारित मितिमा चुनाव हुन सकेको थिएन। 

चैत ८ मा सबै राजनीतिक दलका क्षेत्रीय र नगर समितिका पदाधिकारीहरू, विद्यार्थी संगठनका नेताहरू र क्याम्पस प्रशासन तथा निर्वाचन समितिको सर्वपक्षीय बैठक बसेर स्थगित मतदान चैत १७ मा गर्ने निर्णय गरेको थियो। 

चैत १७ को मतदान हुनुभन्दा दुई दिनअघि नेविसंघले चैत १५ मा निर्वाचन प्रक्रिया र निर्वाचन समितिप्रति असहमति जनाउँदै तालाबन्दी गरेको थियो। तालाबन्दीबीच चैत १७ मा दिउँसो मतदान भएको थियो।

मतदान प्रक्रियाको विरोध गर्दा नेविसंघ एकाइ सभापति तथा स्ववियु सभापति पदका उम्मेदवार आशिष जैसी देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सो क्रममा उनीसँगै निवर्तमान एकाइ अध्यक्ष सुरज यादव गम्भीर घाइते भएका थिए। 

निर्वाचन अधिकृत र क्याम्पस प्रमुखको मिलेमतोमा आफूहरूलाई मरणासन्न हुने गरी घाइते पारी बुथ कब्जा गरेर नतिजा प्रकाशन गरिएको उनको आरोप छ। निर्वाचनको दिन प्रहरीले आफूहरूलाई हत्कडीसमेत लगाएको देवकोटा बताउँछन्।

गत चैत १७ को निर्वाचनमा वामपन्थी विद्यार्थीको संयुक्त प्यानल अखिल संयुक्तका उम्मेदवारहरू विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ । दुई सय ४१ मतदाता रहेको सो क्याम्पसमा एक सय २० मत खसेको थियो । ५० प्रतिशत पनि मत खसेको छैन। 

नेविसंघका सभापति देवकोटाले भने, ‘हाम्रो उपस्थितिविना सीमित व्यक्तिको मिलिमतोमा एकलौटी र धाँदलीपूर्ण भएको निर्वाचन हामी कसरी मान्ने ? त्यसैले सो निर्वाचन र मतपरिणाम घोषणा खारेज हुनुपर्छ वा क्याम्पस प्रमुख र विद्यार्थीलाई नियन्त्रणमा लिने सुरक्षाकर्मीलाई बर्खास्त गर्नुपर्छ। स्ववियु निर्वाचनको विषय समाधान नभईकन तालाबन्दी नखुल्ने अडानमा हामी छौँ। न्याय माग्दै हाम्रो कार्यवाहक अध्यक्ष विवेक अर्याल क्याम्पस प्रमुखको कार्यालयमा कुटिए। हामी न्यायको खोजीमा छौँ, कलेज बन्द गर्ने हाम्रो रहर हैन।’ 

यस विषयमा क्याम्पस प्रमुख मिलन सुवेदीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। यसअघि उनले आफूलाई चित्त नबुझे निर्वाचनको विषयमा अदालतमा उजुरी गर्न विद्यार्थीलाई सुझाव दिएका थिए।

यता, नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले पनि क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले अमुख विद्यार्थी संगठनको पक्षपोषण हुने गरी क्याम्पसमा क्रियाशील अन्य विद्यार्थी संगठनको कुनै समन्वयविना मतदानको सूचना प्रकाशित गरी निर्वाचन गराएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो। 

मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षण गरेको विज्ञप्तिमा घटनाको यथार्थ छानबिन गरी अवैधानिक रूपमा गरिएको निर्वाचन रद्द गर्न सम्बद्ध सबै पक्षसँग नेपाली कांग्रेसको माग छ भनिएको छ। संसदमा सांसदहरूले समेत यस विषयमा आवाज उठाएका थिए। 

कुन-कुन परीक्षा स्थगित भयो ?

‘बिएस्सी एजी पाँचौँ सेमेस्टरको बोर्ड परीक्षा चैत १२ गतेदेखि थियो। चैत १७ मा खैरहनीको रामपुर कृषि क्याम्पसका स्ववियु निर्वाचन हुने भएपछि परीक्षाको समय चैत २६ देखि वैशाख १२ सम्म सरेको थियो।

तर, सरेको मितिमा पनि ताला नखुल्दा परीक्षा हुन सकेन। वैशाख ८ गतेदेखि २१ गतेसम्म बिएस्सी एजी आठौँ सेमेस्टरको परीक्षामा पनि विद्यार्थी सहभागी हुन पाएनन्। ‘अन्य कलेजमा परीक्षा भयो, तर हामीले प्रवेश–पत्र नै नपाएपछि कसरी परीक्षामा सहभागी हुन पाउँथ्याैँ र ?’ विद्यार्थी दीपेश वलीले बताए। उनी रोल्पादेखि आएर यहाँ पढ्दै छन्। 

कलेजका स्ववियुका सचिवसमेत रहेको अखिल (क्रान्तिकारी) सचिव चेतराज जोशीले प्रशासनले पटपटक पठनपाठन सुरु गराउने आश्वास दिए पनि विद्यार्थीको भविष्यलाई बेवास्ता गरेको बताए। 

उनले भने, ‘विद्यार्थीको पढ्न पाउने अधिकारमा प्रशासनको ध्यान हुनुपर्ने हो, तर हाम्रो भविष्यमाथि बेवास्था भएको छ।’ उनका अनुसार उनीहरू आफ्नो माग पूरा नभएपछि दोस्रोपटक ज्ञापनपत्र बुझाउन बुधबार जिल्ला प्रशासन कार्यलय चितवन आएका थिए। 

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले विद्यार्थीको ज्ञापनपत्र बुझ्दै वार्ताकै माध्यमबाट ताला खोल्ने तयारी हुँदा ढिलो भएको बताए । उनले भने, ‘यस विषयलाई हामी अब लम्ब्याउन चाहन्नौँ।  यदि वार्ताबाट ताला खोल्न सकिएन भने आउँदो आइतबारसम्म ताला फोरेर भए पनि पढ्ने वातावरण तयार पार्छौँ।’ 

पश्चिम चितवन रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएपछि त्रिविले सोही नामको क्याम्पस खैरहनीमा ७५ सालको असारदेखि सञ्चालनमा ल्याएको छ।