Skip This
घटनास्थल पुगे सुरक्षाकर्मी, बेपत्ताको खोजी जारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १९ मंगलबार
  • Saturday, 27 July, 2024
दार्चुलाको ब्यास गाउँपालिका–१, भोलुङ्गमा गएकाे हिमपहिराेमा बेपत्ताहरूकाे खाेजी गर्दै सुरक्षाकर्मी । तस्बिर साैजन्य : सशस्त्र प्रहरी बल ।
२o८o बैशाख १९ मंगलबार १९:५२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

घटनास्थल पुगे सुरक्षाकर्मी, बेपत्ताको खोजी जारी

दार्चुला हिमपहिरो अपडेट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १९ मंगलबार १९:५२:oo

दार्चुला र बझाङको हिमाली क्षेत्रमा यार्सा संकलन गर्न गएका ६ जना हिमपहिरोमा परेर बेपत्ता भएका छन्। स्थानीय प्रशासनका अनुसार दार्चुलामा पाँच र बझाङमा एकजना यार्सा संकलक हिमपहिरोमा बेपत्ता भएका हुन्। 

दार्चुलाको व्यास गाउँपालिका– १, भोलुङमा मंगलबार दिउँसो पौने तीन बजेतिर हिमपहिरो गएको र त्यसमा पाँचजना बेपत्ता भएकाे प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्। 

बेपत्तामध्ये चार महिला र एक पुरुष छन्। उनीहरू त्रिपालको टेन्टभित्र बसेका वेला आएको हिमपहिरोले पुरेको प्रमुख जिल्ला अधिकारी जोशीले बताइन्।

बेपत्ता हुनेमध्ये तीनजना डोटीको बुडर र दुईजना दार्चुलाको दुहुका बासिन्दा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बेपत्ता भएकाहरूको नाम खुल्न सकेको छैन। 

छाङरुस्थित सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म र प्रहरी चौकी सीतापुरबाट खटिएको ३० जना सुरक्षाकर्मीको टोली बेलुकीतिर हिमपहिरो गएको क्षेत्रमा पुगेको छ। 

सुरक्षाकर्मीको टोलीले पुगेलगत्तैबाट बेपत्ता भएकाहरूको खोजी गरिरहेको जिल्ला प्रशासनले जनाएको छ। टेन्टमा १२ जना भए पनि हिमपहिरो गएका वेला सातजना टेन्टबाहिर रहेकाले बाँच्न सफल भएको बुझिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताइन्। 

‘१२ जनाको टोली रहेछ। सातजना दाउरा खोज्न बाहिर गएका रहेछन्। टेन्टभित्र बसेका पाँचजना हिमपहिरोमा पुरिएको बुझिएको छ,’ उनले भनिन्, ‘सुरक्षाकर्मीको टोली बेलुकी घटनास्थलमा पुगेको छ, तर राम्रोसँग सम्पर्क हुन सकिरहेको छैन।’   

२५ जना सशस्त्र प्रहरी र पाँचजना नेपाल प्रहरीको टोली हिमपहिरो गएको क्षेत्रमा खोज र उद्धारका लागि खटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

त्यस्तै, बझाङको सुर्मामा गएको हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छिन्। यार्सा संकलन गर्न गएकी सुर्मा गाउँपालिका–१, देवडीकी ३३ वर्षीया झल्लादेवी बोहरा हिमपहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुर्मा गाउँपालिकाको पार्थी हिमाल क्षेत्रमा मंगलबार बिहान हिमपहिरो गएको हो। वर्षा र हिमपात हुन थालेपछि फर्कने क्रममा उनी हिमपहिरोमा परेको बुझिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

उक्त क्षेत्रमा यार्सा संकलक धेरै भए पनि अन्य मानवीय क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेपत्ताको खोजीका लागि हिमपहिरो गएको क्षेत्रमा दौलीचौर प्रहरी चौकीबाट प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए। टोली त्यहाँ पुग्न केही समय लाग्ने प्रहरीले जनाएको छ।