१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन अर्याल काठमाडाैं
२०८० बैशाख १९ मंगलबार १२:०७:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

७० वर्षे इतिहासमा सगरमाथा आरोहणको अनुमति लिने यसपटक धेरै

यो सिजनका लागि चार सय ६६ आरोहीले लिए अनुमति, सबैभन्दा धेरै चिनियाँ, दोस्रोमा अमेरिकन

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०८० बैशाख १९ मंगलबार १२:०७:००

वसन्तकालीन सिजनमा सगरमाथा आरोहण गर्न हालसम्मकै धेरै आरोहीले अनुमति लिएका छन् । २८ अप्रिलसम्म सगरमाथा आरोहण गर्न ४३ टिमबाट चार सय ६६ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । यो संख्या सगरमाथा आरोहणको ७० वर्षे इतिहासमै सबैभन्दा धेरै हो । २९ मे १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको शिखरमा पाइला टेकेका थिए ।

हिमाल आरोहणमा देखिएको आकर्षणले कोभिड महामारीपछि हिमाली पर्यटन पुनः लयमा फर्किएको देखाउँछ । यस सिजनमा सगरमाथासहित २४ हिमाल आरोहणका लागि ८० देशका एक हजार ७९ जना आरोहीले अनुमति लिएका छन् । अझै हिमाल आरोहणका लागि अनुमति लिने क्रम जारी नै रहेको विभागले जनाएको छ । यी आरोहीहरूबाट पर्यटन विभागले ७४ करोड रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

यस सिजनमा सगरमाथा आरोहणको अनुमति लिएका ६५ देशका कुल आरोहीमध्ये ९८ महिला आरोही रहेका छन् । मौसमका हिसाबले पनि सगरमाथा आरोहणका लागि वसन्त ऋतु सबैभन्दा उत्तम मानिन्छ । यस सिजनमा आइसफल डाक्टरले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर बाटो बनाउने हुँदा आरोहीको भिड नै लाग्छ । शरद्कालीन सिजनमा भने आफैँ जोखिम मोलेर सगरमाथा आरोहण गर्नुपर्ने हुन्छ ।

सगरमाथा आरोहणका लागि सन् २०२२ मा तीन सय २३ र सन् २०२१ मा चार सय नौ आरोहीले अनुमति लिएका थिए । कोभिड महामारीका कारण सन् २०२० को वसन्त ऋतुमा आरोहण बन्द थियो । पर्यटन विभागका अनुसार सन् २०२१ मा एक सय ८३ आरोही र दुई सय ७६ सहयोगीले सगरमाथा चुचुरोमा सफल आरोहण गरेका थिए । सन् २०२० मा कोभिडका कारण एउटै आरोहण हुन सकेन भने सन् २०१९ मा दुई सय ८० आरोही र तीन ६४ सहयोगी चुचुरोसम्मै पुगेको विभागको तथ्यांक छ ।

 सगरमाथामा आरोहीको भिड
खराब मौसम र बाक्लो हिमपातका कारण अझै सगरमाथा आरोहण खुलेको छैन । आइसफल डाक्टरले हालसम्म चौथो क्याम्पसम्म बाटो बनाउन सकेका छन् । चुचुरोसम्म डोरी टाँगेर बाटो बनाउनेबित्तिकै आरोहण सुरु हुने बताइएको छ । आरोहणको अनुमति लिइसकेका अधिकांश सगरमाथा बेसक्याम्प पुगिसकेको विभागले जनाएको छ । उनीहरू सगरमाथाको पहिलो आधार शिविरदेखि तेस्रो शिविरसम्म पुगेर आरोहणको पर्खाइमा छन् । यतिवेला पहिलो, दोस्रो र तेस्रो आधार शिविर ‘टेन्ट भिलेज’जस्तै देखिन्छ । 

 चिनियाँ र अमेरिकनको आकर्षण
वसन्तकालीन सिजनमा सगरमाथा आरोहण गर्न सबैभन्दा धेरै चिनियाँ र अमेरिकन आरोहीले अनुमति लिएका छन् । २८ अप्रिलसम्म ९६ चिनियाँ र ८७ अमेरिकन आरोहीले अनुमति लिइसकेका छन् । सगरमाथा आरोहण गर्न चिनियाँले अमेरिकनसहित पश्चिमा देशहरूलाई पछाडि पारेको तथ्यांकले देखाउँछ । तेस्रो नम्बरमा रहेको भारतबाट ४० जना रहेका छन् । त्यस्तै, १५ जना नेपालीले पनि सगरमाथा आरोहण गर्दै छन् ।

सिंगो विश्वलाई नै मन्दीको चपेटामा पार्ने गरी द्वन्द्वमा फसेका दुई देश युक्रेन र रसियाबाट क्रमशः १० र २० जनाले सगरमाथा आरोहण गर्दै छन् । बेलायतबाट १८ जना, फ्रान्सबाट १३, क्यानडाबाट २१, अस्ट्रेलियाबाट १२, ब्राजिलबाट आठ, जर्मनीबाट सात, जापानबाट ६, मलेसियाबाट ६, मेक्सिकोबाट नौ, पोल्यान्डबाट पाँच, साउथ अफ्रिकाबाट पाँचजनाले सगरमाथा आरोहणको अनुमति लिएका छन् ।

 कुन हिमाल कतिले चढ्दै छन् ? 
नेपालसहित ८० देशबाट दुई दर्जन हिमालमा आरोहण गर्न आएका कुल आरोहीमध्ये दुई सय ५२ जना महिला रहेका छन् । हिमाल आरोहीहरूको आकर्षणमा सगरमाथापछि लोत्से (८,५१६ मि.) हिमाल परेको छ । यो हिमाल चढ्न १४ टिमबाट एक सय २६ जनाले अनुमति लिएका छन् । त्यस्तै, नुप्त्से (७,८५५ मि.) आरोहणका लागि ६३, अन्नपूर्ण फस्ट (८,०९१ मि.) आरोहण गर्न ५४, थोरोङ पिक आरोहण गर्न ४२, धौलागिरि (८,१६७ मि.) आरोहण गर्न ३५, आमादब्लम आरोहण गर्न ७४, मकालु फस्ट (८,४६३ मि.) आरोहण गर्न ५८, कञ्चनजंघा मेन (८,५८६ मि.) आरोहण गर्न ४२ जनाले अनुमति लिएको विभागले जनाएको छ । यस्तै, मनास्लु (८,१६३ मि.) आरोहण गर्न १५, बरुनत्सेका लागि १८, हिमलुङ हिमालका लागि १६, अरनिको चुलीका लागि नौ, पुमोरीका लागि १२, थापा पिक (धम्पुस) र जाक्र्या पिकका लागि आठ–आठ, खातुङ खाङका लागि सात, रत्नचुलीका लागि ६, पोङ्ग्री गोल्डुम्बा आरोहणका लागि ६ जना आरोहीले अनुमति लिएका छन् ।

 कुन देशका कति आरोही ?
अनुमति लिएका कुल आरोहीमध्ये एक सय ६३ जना अमेरिकी नागरिक छन् । यस्तै, चीनबाट एक सय १३ जना, अस्ट्रेलियाबाट ३१, अस्ट्रियाबाट १६, ब्राजिलबाट १४, क्यानडाबाट ५१, फ्रान्सबाट ४६, जर्मनीबाट २१, इन्डियाबाट ९०, इरानबाट १२, जापानबाट ५१, मलेसियाबाट १०, मेक्सिकोबाट १६, नेपालबाट ४९, नेदरल्यान्डबाट १२, पोल्यान्डबाट १९, रसियाबाट ५०, साउथ कोरियाबाट १६, स्पेनबाट १४, स्विट्जरल्यान्डबाट २१, युक्रेनबाट १३, युकेबाट ६० जना आरोहीले विभिन्न हिमाल आरोहण गर्दै छन् । 

यस वर्ष विभिन्न दुई दर्जन हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीहरू वसन्तकालीन सिजनमा हालसम्मका धेरै हुन् । सन् २०१६ मा सात सय ४०, सन् २०१७ मा आठ सय ३८, सन् २०१८ मा आठ सय ४४, सन् २०१९ मा आठ सय ८९, सन् २०२० मा शून्य, सन् २०२१ मा सात सय ५७ र सन् २०२२ मा करिब एक हजार आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएका थिए । कोभिड महामारीका कारण सन् २०२० को वसन्त ऋतुमा कुनै पनि हिमाल आरोहणका लागि खुला थिएनन् । त्यसो त सिंगो विश्व नै कोभिडका कारण घरभित्रै थुनिएको थियो ।