१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नेपाली सामान बोकेर खासातर्फ जाँदै गरेको कन्टेनर 
रामकृष्ण थापा सिन्धुपाल्चाेक
२o८१ बैशाख १९ बुधबार o६:o२:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

आठ वर्षपछि तातोपानी नाकाबाट निर्यात

Read Time : > 2 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चाेक
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:o२:oo

पहिलोपटक हस्तकलाका तीन कन्टेनर सामान पठाइयो खासा

१२ वैशाख ०७२ को भूकम्पपछि बन्द उत्तरी नाका तातोपानीबाट आठ वर्षपछि निर्यात सुरु भएको छ । नेपाल–चीन जिल्लास्तरीय सरकारी अधिकारीको उपस्थितिमा सोमबार तीन कन्टेनर सामान पठाएर निर्यात खुला गरिएको हो । हुम्लाको हिल्सा नाका पनि सोमबारदेखि नै मानिस र कार्गो ओहोर–दोहोरका खुला गरिएको छ । 

यसअघि १५ जेठ ०७६ मै तातोपानीबाट आयात खुला गरिए पनि चीनले निर्यात भने रोकेको थियो । त्यसपछि कोभिडको समयमा संक्रमणको जोखिमले आयात रोकिएकोमा डिसेम्बर २०२२ देखि भने नियमित छ । निर्यात पनि खुला गर्न नेपालले पटक–पटक आग्रह गरेकोमा चीनले बल्ल सहमति दिएको छ । 

पहिलोपटक सिल्क ट्रान्सपोर्ट कम्पनीका दुई र नमस्ते ट्रान्सपोर्ट कम्पनीको एक कन्टेनर सामान खासा पठाइएको छ । नेपालमा उत्पादित हस्तकलाका सामग्री झाङ्मु पोर्ट (खासा) प्रवेश गराएर निर्यात सञ्चालन गरिएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानिधि केसीले बताए । ‘नेपालमा उत्पादित म्याट्रेस, कुर्सी र मुढा खासा पठाएर निकासी सुरु गरिएको छ,’ उनले भने । निर्यात उद्घाटन गर्दा कुनै औपचारिक कार्यक्रम भने गरिएन । 

पूर्वाधार स्तरोन्नति गर्दै निर्यात बढाउनुपर्छ : रवि सैँजू, पूर्वसहसचिव
नेपाल र चीनबीचको पुरानो नाका तातोपानी दुईतर्फी रूपमा चल्नु सकारात्मक हो । अहिले आयात–निर्यात मात्रै खुला गरिएको छ । अब यात्रुसमेत आवतजावत गर्न सकिने बनाइनुपर्छ । निर्यात बढाएर नेपालले लाभसमेत लिनुपर्छ । तर, यसका लागि नेपालतर्फका सडकलगायत पूर्वाधारको स्तरोन्नति गर्नु अत्यावश्यक छ । दुई देशबीचको पारवहन प्रोटोकलले बन्दरगाहमा दिएको पहुँच तथा नाकाको नेपालले सदुपयोग गर्न सक्नुपर्छ ।

निकासी खुलाउन सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने र चीनतर्फ न्यालम काउन्टी प्रमुख मिस्टर झुओमाजीले बैठक बसेर सहमति गरेका थिए । चैत र वैशाखमा दुवै देशका अधिकारीबीच मितेरीपुलमा बैठक बसेर आयात–निर्यातका लागि सबै पूर्वाधार पूरा गर्ने सहमति भएको थियो । सहमतिअनुसार क्रस बोर्डर क्राइम नियन्त्रण गर्न दुवै देश मिलेर काम गर्ने उल्लेख छ । स्वतन्त्र तिब्बत गतिविधिबारे पनि सरकारी अधिकारीले छलफल गरेका थिए । नेपाल एक चीन नीतिमा रहेकाले दुवै मुलुक मिलेर काम गर्ने अनौपचारिक सहमति छ । नेपाल चेम्बर अफ कमर्स भोटेकोसीका अध्यक्ष फुनु शेर्पाले निकासी खुला भए पनि खासापट्टि ड्युटी फ्री नभएकाले बढी कर तिर्नुपर्ने बाध्यता रहेको बताए । 

नाका खुले पनि मानिस आवतजावत तत्काल नहुने अवस्था छ । निकासी भएका सामान नेपाली पक्षले सीमासम्म पुर्‍याउने र पारिबाट चिनियाँ व्यापारीले बुझ्ने प्रणाली लागू हुनेछ । भूकम्पले लडेका खासाका सरकारी कार्यालय र निजी आवास पुनर्निर्माण सम्पन्न भएका छैनन् । वर्षौँदेखि खासा बसेका स्थानीय अझै घर फर्केका छैनन् । हाल खासामा खाने, बस्ने होटेल र रेस्टुरेन्ट नभएकाले मानिस आवतजावत सम्भव छैन । नेपाली कन्टेनर लगेर राख्ने खासा पार्किङ गत वर्षको पहिरोले पुरेकाले त्यसको पुनर्निर्माण गर्न चीन सरकारले भर्खर टेन्डर निकालेको छ । खासामा बस्ने चिनियाँ सरकारी अधिकारीका अनुसार नाका पूर्ववत् सञ्चालन हुन अझै ६ महिना लाग्छ । 

निकासी चेकजाँच, अध्यागमन र क्वारेन्टिनको सबै पूर्वाधार भने तयार भइसकेका छन् । तातोपानी क्षेत्रमा रहेका धेरैजसो सरकारी कार्यालय भने पूर्वाधारविहीन छन् । भूकम्पमा बचेको पुरानो भन्सार भवनमा अध्यागमन कार्यालय कोदारीका कर्मचारीले नियमित काम सुरु गरेका छन् । खासाका बासिन्दा र सरकारी कार्यालयको घर पुनर्निर्माण गर्न पनि टेन्डर निस्केको छ ।

अध्यागमनका कर्मचारी तिलक मगरले खासा क्षेत्र प्रवेशका लागि आवश्यक कागजात तयार पार्ने काम सुरु भएको बताए । आयात–निर्यात व्यवस्थित पार्न सीमा सुरक्षामा रहेका प्रहरीले गस्ती बढाएका छन् । ‘निकासीका लागि भन्सार, क्वारेन्टिन र सम्बन्धित व्यापारी तयारी अवस्थामा रहेका छन्,’ भन्सार प्रमुख केसीले भने । अहिले हस्तकला र तयारी सामग्री जाने भएकाले सम्बन्धित कम्पनीको सिफारिस भए पुग्छ । खाद्यान्न, तरकारी, फलफूल र मासुजन्य वस्तु पठाउन पनि क्वारेन्टिन तयारी अवस्थामा रहेको केसीले बताए । 

भूकम्पपछि चीन सरकारले झाङ्मुपोर्ट (खासा) पुनर्निर्माण सुरु गरेको थियो । तर, कोरोना महामारीले सबै प्रोजेक्ट रोकिए । अहिले निकासी नियमित गर्नुपर्ने दबाबले पुनर्निर्माणलाई तीव्र पारिएको छ । चिनियाँ क्षेत्रका व्यापारीसँग निरन्तर संवादमा रहेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतका अनुसार आउँदो डिसेम्बरसम्म सम्पूर्ण रूपले पुनर्निर्माण सकिनेछ । काठमाडौंबाट सबैभन्दा नजिक पर्ने भएकाले तातोपानीबाट आयात–निर्यात गर्दा व्यापार घाटा कम हुने उनले बताए । 

त्यस्तै, हुम्लाको हिल्सा नाका पनि सोमबारदेखि दुईतर्फी खुला भएको छ । मानिस र कार्गो ओहोर–दोहोरका लागि औपचारिक रूपमा नाका खुला भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । पौडेलका अनुसार नाका खुलेसँगै सोमबार १८ नेपाली तिब्बत गएका छन् । हिल्सामा अध्यागमन अधिकारी र सशस्त्र प्रहरीका अधिकृत तथा चिनियाँ अधिकारीको सहभागितामा नाका सञ्चालनको सुरुवात गरिएको थियो । कोरोना महामारी भएसँगै तीन वर्षदेखि बन्द यो नाका कैलाश मानसरोवर जाने प्रमुख रुट हो । 

तीन नाका अझै खुलेनन्
नेपाल–चीन पारवहन सन्धिको प्रोटोकलले दुई देशबीचका ६ वटा नाकाबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सकिने व्यवस्था गरेको छ । प्रोटोकलले रसुवाको  केरुङ, सिन्धुपाल्चोकको तातोपानी, हुम्लाको हिल्सा, संखुवासभाको किमाथांका, मुस्ताङको कोरला र ताप्लेजुङको ओलाङचुङगोला नाकामार्फत पारवहन ढुवानी गर्न सकिने व्यवस्था गरिएको छ । तर, किमाथांका, कोरला र ओलाङचुङगोला नाका अझै खुलेका छैनन् । ओलाङचुङगोला नाका खोल्न केही दिनअघि दुई देशको स्थानीय अधिकारीहरूबीच छलफल भएको थियो । 

ad
ad