
मौलाकाली केबलकार औपचारिक रूपमा सञ्चालनमा आएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गैँडाकोट– १ मा रहेको मौलाकाली केबलकार बटम स्टेसनमा ताम्रपत्र अनावरण गर्दै केबलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकालीजस्ता पर्यटकीय पूर्वाधारको महत्व रहने उल्लेख गर्दै सरकार, निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्री प्रचण्डले आर्थिक वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको बताए। तनहुँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएको बताउँदै उनले यस क्षेत्रलाई आर्थिक समृद्धिको क्षेत्रको रूपमा विकास गर्ने पनि प्रधानमन्त्री प्रचण्डले बताए।
त्यसैगरी, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मौलाकाली केबलकारको निमार्णसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे।
मौलाकाली केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको शिथिल अर्थतन्त्रलाई उकास्न पर्यटकीय पूर्वाधार निर्माणलाई तीव्रता दिन र विकासका काम समयमै पूरा हुने वातावरण बनाउन आग्रह गरे।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका भएका ढकालले निजी क्षेत्रले तोकिएको समयमा, तोकिएकै बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न सक्षम छौँ भन्ने उदाहरण मौलाकाली केबलकारसमेतले प्रस्तुत गरेको बताए।
मौलाकाली केबलकार निर्माणकै रफ्तारमा अन्य पर्यटकीय पूर्वाधार र विकासमा काम सम्पन्न हुने हो भने अर्थतन्त्रमा देखिएको शिथिलता स्वतः कम हुँदै जाने अध्यक्ष ढकालले उल्लेख गरे।
मुलुकका सबै प्रदेशमा कम्तीमा एउटा यस्तै पर्यटकीय पूर्वाधार निर्माणको काम तीव्र पारेको बताउँदै बुटबलमा निर्माणाधीन लुम्बिनी केबलकार पनि केही हप्ताभित्रै सञ्चालनमा आउने जानकारी पनि अध्यक्ष ढकालले दिए।
मौलाकाली केबलकारसहितको पर्यटकीय पूर्वाधार रहेको स्थलको महत्वबारे उल्लेख गर्दै अध्यक्ष ढकालले चितवन, तनहुँ र नवलपुरको संगम क्षेत्र नेपालकै धार्मिक तथा सांस्कृतिक महत्वको पवित्र भूमि रहेको बताए।
मौलाकालिका मन्दिरको साढे चार सय वर्ष पुरानो इतिहास छ। यस मन्दिरबाट दाहिनेतर्फ देखिने देवघाट वैदिक सनातन धर्ममा पवित्र भूमि हो।
नारायणी, देवघाट र त्रिवेणीजस्ता देवभूमि र तपोभूमि सहितका सम्पदाहरूको ऐतिहासिक गरिमा र महिमालाई सबै नेपालीसमक्ष पुर्याउन केबलकारसहितका नयाँ पर्यटकीय संरचनाले सघाउ पुग्ने विश्वास लिएको पनि अध्यक्ष ढकालले उल्लेख गरे।
पर्यटनको विकासमार्फत स्थानीय नागरिकको जीवनस्तर उकास्दै देशको समृद्धि हासिल गर्ने कामलाई निरन्तरता दिने प्रतिबद्धता पनि अध्यक्ष ढकालले व्यक्त गरे।
करिब दुई अर्ब रुपैयाँ लागतमा बनेको करिब एक हजार दुई सय मिटर लम्बाइको केबलकारमा १४ वटा गोन्डाेला छन्। फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिरनजिकै रहेको टप स्टेसनसम्म पुग्न सकिन्छ। माथिल्लो स्टेसनसँगै निर्माणाधीन होटेलमा ६० कोठा, बैंक्वेट हल, स्विमिङ पुल र रेस्टुरेन्ट छन्।