१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format १२:४७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सात वर्षपछि तातोपानी नाकाबाट निर्यात सुरु 

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १२:४७:oo

विनाशकारी भूकम्पको सात वर्षपछि उत्तरी नाका तातोपानीबाट निर्यात सुरु भएको छ। नेपाल–चीन जिल्लास्तरीय सरकारी अधिकारीको उपस्थितिमा नेपालबाट चीन स्वशासित तिब्बततिर सामान पठाउन थालिएको हो। 

निकासी खुलाउन सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने र चीनतर्फ न्यालम काउन्टी प्रमुख मिस्टर झुओमाजीले यसअघि बैठकमा सहमति गरेका थिए। 

सहमतिअनुसार क्रसबोर्डर क्राइम नियन्त्रण गर्न दुवै देश मिलेर काम गर्ने उल्लेख छ। स्वतन्त्र तिब्बत गतिविधिबारे पनि सरकारी अधिकारीले छलफल गरेका थिए। 

नेपाल एक चीन नीतिमा रहेकाले दुवै मुलुक मिलेर काम गर्ने अनौपचारिक सहमति छ। निकासी उद्घाटन गर्दा कुनै औपचारिक कार्यक्रम गरिएन। सिल्क ट्रान्सपोर्ट कम्पनीका दुई र नमस्ते ट्रान्सपोर्ट कम्पनीको एक कन्टेनर सामान खासा पठाएको छ। तर, नेपाल चेम्बर अफ कमर्स भोटेकोसीका अध्यक्ष फुनु शेर्पाले निकासी खुला भए पनि खासापट्टि ड्युटी फ्री नभएकाले बढी कर तिर्नुपर्ने बाध्यता रहेको बताए। 

नेपालमा उत्पादित हस्तकलाका सामग्री झाङमु पोर्ट (खासा) प्रवेश गराएर निर्यात सञ्चालन गरिएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानिधि केसीले जानकारी दिए । १५ जेठ ०७६ मा आयात खुला गरिएको थियो।

गत चैत र यही वैशाखमा दुवै देशका अधिकारीबीच मितेरीपुलमा बैठक बसेर आयात–निर्यातका लागि सबै पूर्वाधार पूरा गर्ने सहमति भएको थियो। नेपालमा उत्पादित म्याट्रेस, कुर्सी र मुडा खासा पठाएर निकासी सुरु गरिएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानिधि केसीले बताए। 

निकासी खुला भए पनि तातोपानी नाकाबाट मानिस आवतजावत तत्काल नहुने अवस्था छ। निकासी भएका सामान नेपाली पक्षले सीमासम्म पुर्‍याउने र पारिबाट चिनियाँ व्यापारीले बुझ्ने प्रणाली लागू हुनेछ। भूकम्पले लडेको खासाका सरकारी कार्यालय र निजी आवास पुनर्निर्माण सम्पन्न भएको छैन। वर्षौँदेखि खासा बसेका स्थानीय अझै घर फर्केका छैनन्। 

हाल खासामा खाने बस्ने होटेल र रेस्टुरेन्ट नभएकाले मानिस आवतजावत सम्भव छैन। नेपाली कन्टेनर लगेर राख्ने खासा पार्किङ पोहोर सालको पहिरोले पुरेकाले त्यसको पुनर्निर्माण गर्न चीन सरकारले भर्खर टेन्डर निकालेको छ। 

खासामा बस्ने चिनियाँ सरकारी अधिकारीका अनुसार नाका पूर्ववत् सञ्चालन हुन अझै ६ महिना लाग्छ। खासाका बासिन्दा र सरकारी कार्यालयको घर पुनर्निर्माण गर्न पनि टेन्डर निस्केको छ। तर, निकासी चेकजाँच, अध्यागमन र क्वारेन्टिनको सबै पूर्वाधार तयार भइसकेका छन्। 

तातोपानी क्षेत्रमा रहेका धेरैजसो सरकारी कार्यालय पूर्वाधारविहीन छन्। भूकम्पपछि बचेको पुरानो भन्सार भवनमा अध्यागमन कार्यालय कोदारीका कर्मचारीले नियमित काम सुरु गरेका छन्। 

अध्यागमनका कर्मचारी तिलक मगरले खासा क्षेत्र प्रवेशका लागि आवश्यक कागजात तयार पार्ने काम सुरु भएको बताए। आयात–निर्यात व्यवस्थित पार्न सीमा सुरक्षामा रहेका प्रहरीले गस्ती बढाएका छन्।

‘निकासीका लागि भन्सार, क्वारेन्टिन र सम्बन्धित व्यापारी तयारी अवस्थामा रहेका छन्,’ भन्सार प्रमुख केसीले भने। अहिले हस्तकला र तयारी सामग्री जाने भएकाले सम्बन्धित कम्पनीको सिफारिस भए पुग्छ। खाद्यान्न, तरकारी, फलफूल र मासुजन्य वस्तु पठाउन पनि क्वारेन्टिन तयारी अवस्थामा रहेको केसीले जानकारी दिए। भूकम्पपछि चीन सरकारले झाङ्मुपोर्ट (खासा) पुनर्निर्माण सुरु गरेको थियो। तर, कोरोना महामारीले सबै प्रोजेक्ट रोकिए। 

अहिले निकासी नियमित गर्नुपर्ने दबाबले पुनर्निर्माणलाई तीव्र पारिएको छ। चिनियाँ क्षेत्रको व्यापारीसँग निरन्तर संवादमा रहेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले दिएको जानकारीअनुसार आउँदो डिसेम्बरसम्म सम्पूर्ण रुपले पुनर्निर्माण सकिनेछ।

काठमाडौंबाट सबैभन्दा नजिक पर्ने भएकाले तातोपानीबाट आयात–निर्यात गर्दा व्यापार घाटा कम हुने उनले बताए।