मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पर्खाल लडेर खस्दा भत्किएको अस्पतालको छाना । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२०८० बैशाख १८ सोमबार ०८:१२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वीर अस्पतालको पर्खाल भत्किँदा पाँच कुरुवा घाइते आइसियूका बिरामी जोखिमपूर्ण भवनमै

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० बैशाख १८ सोमबार ०८:१२:००

देशकै जेठो वीर अस्पतालको मेडिकल वार्ड भवन जीर्ण र धरापपूर्ण बनेको छ । त्यही भवनको पाँचौँ तलाको पर्खाल भत्किँदा आइतबार दोस्रो तलास्थित कुरुवाघरमा बसेका पाँचजना घाइते भएका छन् । घाइते हुनेमा अंशु चौधरी, धनेश्वर पन्थी, श्यामा देवी, रिना झा चौधरी र बहुवा देवी छन् ।

आइसियूमा उपचाररत बिरामीका आफन्त उनीहरू कुरुवाघरमा बसेका थिए । आइतबार दिउँसो पानी परिरहेका वेला एक्कासि पर्खाल भत्किएको थियो । पर्खाल भत्किँदा इँटा र जस्तापाताले लागेर उनीहरू घाइते भएका हुन् । पर्खालले थिचेपछि घाइतेको टाउको र ढाडमा चोट लागेको छ । 

पुरानो जीर्ण भवनका कारण भवनको पहिलो, दोस्रो र तेस्रो तलामा रहेका कुरुवाघर जोखिमपूर्ण अवस्थामा छन् । मेडिकल वार्ड भवनको पहिलो, दोस्रो र तेस्रो तलामा एक–एकवटा कुरुवाघर छन् । तर, भवनको पाँचौँ र छैटौँ तलाको कौसी तथा छतलाई घेरिएको इँटाको पर्खाल जोखिमपूर्ण रहेकाले जोखिम बढेको अस्पतालका मेडिकल शाखा प्रमुख टीकाराम पनेरूले बताए ।

उनले पुरानो मेडिकल वार्ड भवन सबैतिर धरापपूर्ण पर्खाल र भित्ताहरू रहेको जानकारी दिए । यो भवनमा हाल १७ जना आइसियूका बिरामी छन् । उनीहरूका कुरुवा यही जीर्ण भवनको गल्ली र कुरुवाघरमा बस्छन् । कुरुवा बस्ने घर फोहोर र जीर्ण छन् । ‘पुरानो भवन जीर्ण बनेको छ, त्यसको माथिल्लो तला र वरिपरिका पर्खाल झन् धरापपूर्ण छन्,’ उनको प्रश्न छ, ‘यसको मर्मत–सम्भार कसले गर्ने ?’

पर्खाल लडेर घाइते भएकाको ट्रमा सेन्टरको इमर्जेन्सीमा उपचार भइरहेको ट्रमा सेन्टरका प्रवक्ता अर्जुन भेटुवालले जानकारी दिए । उनका अनुसार घाइतेहरू खतरामुक्त छन् । ‘जीर्ण भवनको माथिल्लो तलामा जोखिमपूर्ण पर्खालहरू छन्, त्यसलाई व्यवस्थापन नगर्दा घटना भएको छ,’ उनले भने, ‘त्यो भवन नै भत्काउनुपर्ने अवस्थामा छ ।’ 

वीर अस्पतालमा हाल नयाँ र पुराना गरी चारवटा भवन छन् । त्यसमध्ये तीनवटा भवन ०३६–४० को बीचमा बनेका हुन् । आइतबार पर्खाल खसेको मेडिकल वार्ड भवन ०३६ मा भारत सरकारले निर्माण गरिदिएको हो । तर, निर्माण गरेयता भवनको मर्मत–सम्भार नहुँदा जोखिम भवनमै राखेर बिरामीको उपचार गर्नुपर्ने बाध्यता रहेको वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए । ठाउँ अभावका कारण जीर्ण भवनमै बिरामी उपचार गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

पौडेलले यो भवन जीर्ण र जोखिमपूर्ण रहेकाले त्यसलाई भत्काउने तयारीबारे स्वास्थ्य मन्त्रालयसँग छलफल गर्ने बताए । ‘यो भवन निकै पुरानो रहेछ, आजसम्म यसबारे कसैले चासो नदिँदा यस्तो घटना भएको हो, यसबाहेक अन्य तीनवटा भवन पनि पुराना भइसकेका छन्,’ उनले भने, ‘त्यसमध्ये सबैभन्दा जीर्ण मेडिकल वार्ड भवनको हामीले छिटो मर्मत तथा पुननिर्माण गर्छौँ ।’ उनले सरकारले अस्पतालका संरचना ध्यान दिएको र त्यसको मर्मत–सम्भारका लागि एक रुपैयाँ बजेटसमेत नदिएको बताए । हाल अस्पताल मर्मत–सम्भारका लागि सरकारले बजेट छुट्याएको छैन । 

 भूकम्पले चर्किएको भवनमा उपचार
मेडिकल वार्ड भवन आयुको हिसाबले पुरानो र जीर्ण मात्रै होइन, यो भवन भूकम्पका वेला पनि चारैतिर चर्किएको थियो । तर, ०७२ को भूकम्पमा चर्किएको यो भवन अस्पताल प्रशासनले जोखिमपूर्ण अवस्थामै प्रयोग गर्दै आइरहेको छ । तत्कालीन समयमा सरकारले उक्त भवनमा रातो स्टिकर पनि टाँसेको थियो । हाल ६ तले उक्त भवनका भ¥याङ र भित्ताहरू चर्किएकै अवस्थामा छन् । धेरै अघि बनेकाले भवनका गल्लीहरू पनि साँघुरा र ह्विलचेयर गुडाउन नमिल्ने छन् । तर, त्यही जीर्ण र थोत्रो भवनभित्र आइसियूका १७ जना बिरामीको उपचार भइरहेको छ । 

 चिकित्सकहरू भन्छन्– जोखिम मोल्दै उपचारमा खटिनुपरेको छ 
अस्पताल प्रशासनले चर्किएको र जोखिमपूर्ण उक्त भवनमा बिरामी राखेपछि चिकित्सकहरू पनि जोखिम मोल्दै बिरामीको उपचारमा खटिनुपरेको बताउँछन् । ‘यो ब्लक निकै पुरानो र जीर्ण छ, भूकम्पका वेला चर्किएको समेत थियो, तर यही भवनमा आइसियूका बिरामी राखिएको छ,’ चर्किएको भवनमा बिरामी उपचारमा संलग्न एक चिकित्सकले नयाँ पत्रिकासँग भने, ‘यस्तो भवनमा बिरामी राखेर उपचार गर्दा जोखिम हुन्छ, अप्रेसन गर्दागर्दै भूकम्प आइहाल्यो भने यो भवन रहँदैन ।’

उनले चर्किएको भवनबाट बिरामी अर्को भवनमा सार्नेबारे अस्पताल प्रशासनले चासो नदिएको गुनासो गरे । जोखिमपूर्ण भवनको चौथो र पाँचौँ तलामा हाल १७ वटा आइसियू बेड छन् । छैटौँ तलामा थोत्रा सामान राखिएको छ । अन्य तलामा अस्पतालको प्रशासनकै कर्मचारी र मेडिकलसम्बन्धी सामान राखिएको छ भने कुरुवाघर पनि छन् ।

अस्पताल मर्मत–सम्भारका लागि सरकारले एक रुपैयाँ दिएन
डा‍. सन्तोष पौडेल निर्देशक, वीर अस्पताल

यो भवन निकै पुरानो हो । त्यसैमा आइसियूका बिरामीको उपचार गर्नुपरेको छ । सरकारले अस्पतालका संरचना मर्मत–सम्भारका लागि एक रुपैयाँ पैसा दिँदैन, जेनतेन तलब छुट्याउँदै आएको छ । अनि कसरी बन्छन् सरकारी अस्पतालका संरचना गतिला र व्यवस्थित ?

 पटक–पटक हुन्छ घटना, तर प्रशासन मौन 
पुरानो भवनको पाँचौँ तलाको पर्खाल ६ महिनाअघि पनि भत्किएको थियो । त्यतिवेला पनि कुरुवाघर र गल्लीमा बसेका १० जना घाइते भएका थिए । जोखिमपूर्ण भवन र सोही भवनको पाँचौँ र छैटौँ तलाको पर्खाल अस्पताल प्रशासनले मर्मत गरेको छैन । जसका कारण उक्त भवनको तलतिर बस्ने कुरुवा र ओहोरदोहोर गर्नेलाई जोखिम हुने गरेको छ ।

‘यसअघि पनि सोही भवनको पर्खाल भत्किँदा १० जना कुरुवा घाइते भएका थिए । आइतबार पनि पर्खाल भत्कियो,’ अस्पतालका मेडिकल विभाग प्रमुख पनेरूले भने, ‘अस्पतालको मेडिकल वार्ड भवनको जीर्ण पर्खाल व्यवस्थापनबारे प्रशासनले चासो दिएको छैन ।’ पुरानो ६ तले भवनको सिँढी तथा गल्लीमा फोहोर र इँटा खसेर अस्तव्यस्त बनेको छ ।