मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १८ सोमबार ०७:४४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक खर्ब पाँच अर्बले कम राजस्व संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १८ सोमबार ०७:४४:००

चालू आर्थिक वर्षको नौ महिनामा ६ खर्ब ८३ अर्ब ८० करोड राजस्व संकलन भएको छ । यो गत वर्षको सोही अवधिको एक खर्ब पाँच अर्ब ४६ करोड कम हो । मन्त्रालयका अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्म सात खर्ब ८९ अर्ब २६ करोड राजस्व संकलन भएको थियो । सरकारले केही वस्तुको आयातमा गरेको कडाइको असर राजस्व संकलनमा देखिएको हो । पुस मसान्तबाट भने सरकारले आयातमाथि लगाएको प्रतिबन्ध हटाइसकेको छ । यद्यपि, त्यसको असर राजस्वमा भने कायमै छ ।

कुन क्षेत्रमा कति उठ्यो राजस्व ?
गत आर्थिक वर्षको चैतसम्म एक खर्ब ८३ अर्बको भन्सार महसुल उठेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ३० अर्ब मात्रै उठेको छ । गत आवको पहिलो नौ महिनामा दुई खर्ब ३२ अर्बको मूल्यअभिवृद्धि कर (भ्याट) उठेको थियो । चालू आर्थिक वर्षमा सोही अवधिमा दुई खर्ब दुई अर्ब मात्रै उठेको छ । 

भ्याटमध्ये पनि सबैभन्दा आयाततर्फकै देखिन्छ । आयात गरिएका वस्तुमा लाग्ने भ्याटबापतको राजस्व एक खर्ब २३ अर्ब पुगेको छ । गत आवमा यस्तो राजस्व एक खर्ब ५१ अर्ब थियो । त्यस्तै उत्पादन, बिक्री तथा सेवाबापतको ७८ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । गत आवको नौ महिनामा एक खर्ब २१ अर्ब ४१ करोडको अन्तःशुल्क संकलन भएको थियो । चालू आवमा यो एक खर्ब तीन अर्ब सात करोड मात्रै उठेको छ । आन्तरिक उत्पादनतर्फ भने यो वृद्धि भएको छ । गत आवमा ७६ अर्ब १२ करोड यस्तो अन्तःशुल्क उठेकोमा चालू आवमा ७९ अर्ब ६६ करोड संकलन भएको छ ।  आयाततर्फ भने यस्तो अन्तःशुल्क आधाले घटेको छ । गत आवको चैतसम्ममा ४५ अर्ब २९ करोड उठेकोमा चालू आवमा २३ अर्ब ४० करोड संकलन भएको छ ।

शिक्षा सेवा शुल्कबापत गत वर्ष  ६२ करोड रुपैयाँ मात्रै उठेकोमा यस वर्ष एक अर्ब २३ करोड उठेको छ । आन्तरिक राजस्वको मूल हिस्सा रहेको आयकर चालू आवमा एक खर्ब ७९ अर्ब उठेको छ । गत आवको चैतसम्म यस्तो कर एक खर्ब ८७ अर्ब उठेको थियो । जसमध्ये ब्याजकरबाहेकको आयकरको हिस्सा एक खर्ब ६९ अर्ब पुगेको थियो । चालू आवमा एक खर्ब ५३ अर्ब मात्रै उठेको छ । त्यस्तै, पोहोर १७ अर्ब ५६ करोडको ब्याजकर संकलन भएकोमा यसपालि २५ अर्ब २१ करोड उठेको छ ।  

त्यस्तै, गैरकरबापत गत आवको चैतसम्म ६१ अर्ब ४७ करोड उठेकोमा यसपालि बढेको छ । अर्थ मन्त्रालयका अनुसार चालू आवको नौ महिनामा ६७ अर्ब ६८ करोड रुपैयाँ संकलन भएको छ ।