मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १७ आइतबार ०६:४५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

४० लाख डोज सिनोभ्याक खोपको म्याद सकिन आठ महिना बाँकी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १७ आइतबार ०६:४५:००

कुनै पनि देशले चासो नदेखाएकाले कहाँ पठाउने भन्ने अझै टुंगो लागेन

चीनले अनुदानमा दिएको ४० लाख डोज भ्याक्सिनको म्याद सकिन आठ महिना मात्रै बाँकी रहे पनि अझैसम्म कहाँ पठाउने भन्ने टुंगो लागेको छैन । बुस्टर डोजका रूपमा प्रयोग गर्न नमिल्ने र प्राथमिक डोज लगाउने नागरिक नभएकाले अन्य देशलाई पठाउन वा चीन नै फिर्ता गर्न गत कात्तिकमै सल्लाहकार समितिले निर्णय गरे पनि हालसम्म खोपको टुंगो नलागेको हो । 

बुस्टरका रूपमा एकभन्दा बढी भाइरसको स्ट्रेनसँग जुध्न सक्ने बाइभेलेन्ट खोप प्रयोगमा आइसकेकाले सिनोभ्याक बुस्टरका रूपमा प्रयोग नगर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र खोप सल्लाहकार समितिको निर्देशनसँगै खोप स्टोरमा थन्किएको हो । ‘त्यो समयमा फाइजर, मोडर्ना, एस्ट्रेजेनेकाजस्ता खोप प्रशस्तै भएको र रोजाइमा समेत परेकाले सिनोभ्याक प्रयोगमा आएन । त्यतिवेला सिनोभ्याकको म्याद पनि अन्यको तुलनामा बढी भएकाले स्टोरमा राखिएको थियो,’ स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले भने । 

तर, धेरैजसो देशहरूले कोभिडको पहिलो र दोस्रो डोज लगाइसकेकाले खोप लिन नमानेको खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए । उनका अनुसार मन्त्रालयले विभिन्न देशलाई खोप दिन पत्र पठाए पनि इच्छा नदेखाएकाले अहिलेसम्म कहाँ पठाउने भन्ने टुंगो नलागेको हो । 

निष्क्रिय भाइरसबाट बनाइएको यो खोप पहिलो र दोस्रो मात्राका लागि भने प्रभावकारी देखिएको थियो । यो खोप अस्पतालमा भर्ना दर ६४.६ प्रतिशत घटाउने र गम्भीर बिरामी हुनबाट ६९ प्रतिशत प्रभावकारी हुने भनिएको थियो । १२ चैत ०७८ मा ३५ लाख र १४ चैतमा पाँच लाख ४० लाख खोप भित्रिएको थियो ।

हालसम्म नेपालमा ८२ प्रतिशतभन्दा बढीले पहिलो र ८३ प्रतिशत जनसंख्याले पूर्ण मात्रा खोप लगाइसकेका छन् । यसअघि अनुदान, खरिद र कोभ्याक्स परियोजनाबाट ल्याइएका सिनोभ्याकबाहेक सबै खोप प्रयोगमा आएका हुन् । हाल बुस्टरका रूपमा भने एकभन्दा बढी स्ट्रेन अर्थात् भेरियन्टविरुद्ध लड्न सक्ने बाइभेलेन्ट खोप प्रयोगमा आइरहेका छन् ।

व्यवस्थापन महाशाखाको तथ्यांकअनुसार प्रदेश केन्द्रमा गरी हाल आठ लाख ९५ हजार डोज खोप मौज्दात छ । साथै, नियमित खोप ल्याएर जिल्लामा पठाइरहेकोसमेत विभागले जनाएको छ । बुधबार मात्रै ८८ हजार ६ सय ४३ डोज खोप बुस्टरका रूपमा प्रयोगमा आएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।