१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १५ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o बैशाख १५ शुक्रबार ११:३o:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

तन्नेरीमा ट्याटु क्रेज : आर्टिस्टको माग र व्यस्तता बढ्दै 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख १५ शुक्रबार ११:३o:oo

मण्डला, सिंह, भगवान्, फूल, पुतली, चरा, बिच्छी,  ड्रयागन, सर्प, माछा, बिरालो, फ्याउरो, हात्तीलगायत आकृतिको ट्याटु युवायुवतीको रोजाइमा पर्छन्

कुनै समय थियो, जति वेला काठमाडौंको वसन्तपुरस्थित ट्याटु आर्टिस्ट अमन महर्जनको ‘उमेश ट्याटु इन’मा आउने अधिकांश ग्राहक विदेशी हुन्थे । तर, अहिले उनीहरूको स्टुडियोमा विदेशी नेपाली ग्राहक पनि राम्रो संख्यामा आउँछन् । यसमध्ये अधिकांश युवायुवती छन् । उनी भन्छन्, ‘ हामीले स्टुडियो सुरु गरेको १२ वर्ष भयो । ५–६ वर्षअघिसम्म धेरैजसो विदेशी बढी आउँथे । तर, अहिले विदेशी र नेपाली बराबर हुन्छन् ।’

अहिलेको पुस्ता ट्याटु कलाबारे जानकार बन्दै गएको उनको अनुभव छ । महर्जन भन्छन्, ‘कुनै समय ट्याटु खोप्नुलाई नकारात्मक मानिन्थ्यो । तर, अहिले यसलाई कला र सुन्दरतासँग जोड्ने गरिएको छ ।’ 

सन्दीप लामाले विगत एक दशकदेखि बानेश्वरमा ‘ट्याटु हाउस’ सञ्चालन गरिरहेका छन् । आफ्नो स्टुडियोमा आउने अधिकांश ग्राहक नेपाली नै रहेको उनी बताउँछन् । पछिल्लो समय सहरी क्षेत्रमा ट्याटुलाई फेसनको रूपमा लिने लहर चलेको उनी बताउँछन् । ‘पछिल्लो समय नेपालका सहरी क्षेत्रमा ट्याटुको क्रेज बढेको छ । नेपालमा ट्याटुलाई हेर्ने धारणा बदलिएको छ,’ उनी भन्छन्, ‘कुनै समय ट्याटु दुर्व्यसनीमा लागेका मान्छेले मात्रै खोप्छन् भन्ने भ्रमपूर्ण मानसिकता थियो । अहिले विभिन्न पेसा तथा व्यवसायमा संलग्न मान्छेले पनि खोपाउन थालेका छन् ।’

युवायुवतीले मात्रै नभएर ४५–५० वर्षका मान्छे पनि ट्याटु खोपाउन आउने उनी बताउँछन् । डाक्टर, इन्जिनियर, व्यवसायी, रिटायर्ड भएका आर्मी–पुलिस तथा उच्चपदस्थ मानिसले पनि आफ्नो स्टुडियोमा ट्याटु खोपाउने गरेको उनले बताए । ‘खासगरी, कला तथा मनोरञ्जन क्षेत्रका सेलेब्रिटीले ट्याटु खोपाउने चलन बढ्दै गएको छ । सेलेब्रिटीहरूले नै ट्याटु खोपाउने भएपछि आममानिसमा पनि यो नराम्रो होइन रहेछ भन्ने छाप पर्न थालेको छ ।’

बालकुमारी, ललितपुरमा ‘संयक ट्याटु इन’ सञ्चालन गर्दै आएका आर्टिस्ट संयक श्रेष्ठ मानिसहरूले आफ्नो रुचिअनुसार विभिन्न डिजाइनका ट्याटु खोपाउने गरेको बताउँछन् । उनी भन्छन्, ‘अधिकांशले हातमा ट्याटु खोप्ने ट्रेन्ड चलेको छ । महिलाले फूल, श्रीमान्को नाम, प्रेमीको नाम खोप्छन् । मण्डलाको आकृति, सिंह, भगवान्को ट्याटु, फूल, पुतली, चरा, बिच्छी, ड्र्यागन, सर्प, माछा, बिरालो, फ्याउरो, हात्तीलगायत आकृति पुरुष–महिला दुवैको रोजाइमा पर्छन् ।’ 

ट्याटु आर्टिस्ट अमन महर्जन ग्राहकको रुचि बुझेर नै कलाकारहरूले आकृति तयार गर्ने गरेको बताउँछन् । ‘विदेशी हुन् वा स्वदेशी, ट्याटु खोपाउने अधिकांश युवा नै हुन्छन् । मनबाटै इच्छा जागेर ट्याटु खोपिन्छ । उनीहरूले आफ्नो इच्छा व्यक्त गरेपछि कलाकारले त्यहीअनुसार डिजाइन तयार गर्छन् र शरीरमा खोप्छन्,’ महर्जनले भने । 

कतिपय ट्याटु आर्टिस्टले उच्छृंखल ट्याटु खोपाइदिँदा समाजमा ट्याटु कल्चरबारे नकारात्मक भ्रम फैलने गरेको ट्याटु आर्टिस्ट सन्दीप लामाको अनुभव छ । ‘कतिपय ट्याटु आर्टिस्टले भल्गर ट्याटु बनाएर विकृति पनि भएको छ । ग्राहकलाई ट्याटुबारे बुझाएर मात्रै खोप्दा राम्रो हुन्छ । नेपालमा १८ वर्षभन्दा माथिकालाई मात्रै ट्याटु खोप्न दिइन्छ ।’ उनी थप्छन्, ‘तपाईंले ट्याटु खोपाउने ठाउँ सुरक्षित हुन पनि जरुरी छ । हेलचेक्र्याइँ भयो भने स्वास्थ्य, विशेषगरी छालामा संक्रमण र अन्य समस्या देखिन सक्छ । एलर्जिक रियाक्सन यसैमध्येको एक हो । अर्कोतर्फ, डिजाइन राम्रो भएन भने हेर्दा नराम्रो पनि देखिन्छ ।’ 

आफ्ना प्रेरक पात्रको सम्झनामा ट्याटु खोपाउने जमात पनि ठूलो रहेको उनले बताए । उनी भन्छन्, ‘छोरा–छोरीले बुबा–आमाको चित्र बनाउँछन्, कतिपयले श्रीमान्–श्रीमतीको आ–आफ्नो फोटो राखेर पनि बनाउँछन् । अर्काे, घरमा पालेका पेट (कुकुर–बिरालो) खोपाउने पनि हुन्छन् ।’

समाजमा ट्याटुलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै जाँदा ट्याटु आर्टिस्टको माग र व्यस्तता पनि बढेको उनले बताए । ‘मेरो पसलमा महिलाहरू बढी ट्याटु खोपाउन आउँछन् । कुनै वेला महिलाले ट्याटु खोप्दा नराम्रो नजरले हेरिन्थ्यो । तर, अहिले सासू–बुहारी नै ट्याटु खोपाउन आउनुहुन्छ । अहिले ट्याटुलाई सकारात्मक रूपमा लिन थालिएको छ ।’

गंगोबु, काठमाडौंमा ट्याटु स्टुडियोसमेत सञ्चालन गर्दै आएका आर्टिस्ट प्रविन श्रेष्ठ पछिल्लो समय सामाजिक सञ्जालको विकाससँगै ग्राहकको बुझाइमा परिवर्तन आएको बताउँछन्् । ‘अहिले फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालले गर्दा पनि ट्याटु खोप्नेको क्रेज बढेको हो । ग्राहक आफैँले विभिन्न डिजाइनका फोटो लिएर ट्याटु खोपाउन आउँछन्,’ उनले भने ।