Skip This
चुनौतीबीच सुधारोन्मुख अर्थतन्त्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १५ शुक्रबार
  • Sunday, 16 June, 2024
महाप्रसाद अधिकारी
२o८o बैशाख १५ शुक्रबार o९:१५:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

चुनौतीबीच सुधारोन्मुख अर्थतन्त्र

नेपाली अर्थतन्त्र आयात र विप्रेषणमा बढी निर्भर रहेकाले अन्तर्राष्ट्रिय प्रभाव सामना गर्दै आन्तरिक सन्तुलन कायम राख्ने कार्य चुनौतीपूर्ण छ

Read Time : > 4 मिनेट
महाप्रसाद अधिकारी
नयाँ पत्रिका
२o८o बैशाख १५ शुक्रबार o९:१५:oo

कोभिड–१९ को महामारीपश्चात् विश्व अर्थतन्त्र पुनरुत्थानको क्रममा रहेको वेला २०२२ फेब्रुअरीमा सुरु भएको रसिया–युक्रेन युद्धले गर्दा विश्वव्यापी रूपमा आपूर्तिजन्य व्यवधान, पेट्रोलियम पदार्थलगायत खाद्यान्न र निर्माणजन्य सामग्रीको मूल्य बढ्न गयो । मूल्यवृद्धिलाई नियन्त्रण गर्न संयुक्त राज्य अमेरिकाले मौद्रिक नीतिमा गरेको कडाइका कारण नेपाली रुपैयाँ अमेरिकी डलरसँग अवमूल्यन हुन गयो । छिमेकी देश भारतले पनि बढ्दो मूल्यवृद्धि र पुँजी बहिर्गमनलाई रोक्न मौद्रिक नीतिलाई कडाइ गर्दै लग्यो । 

कोभिड–१९ पछि पुनरुत्थानको क्रममा रहेको नेपाली अर्थतन्त्र पनि प्रतिकूल विश्व अर्थतन्त्रबाट प्रभावित हुन पुग्यो । एकातर्फ मूल्यवृद्धि हुन थाल्यो भने अर्कोतर्फ उच्च आयात र कमजोर विप्रेषण आप्रवाहका कारण आर्थिक वर्ष ०७८/७९ को अवधिमा नेपालको शोधनान्तर घाटा उल्लेख्य मात्रामा बढेर विदेशी विनिमय सञ्चिति तीव्र दरमा घट्न गयो । विदेशी विनिमय सञ्चितिमा आएको कमीसँगै बैंकिङ प्रणालीमा तरलता कम भई ब्याजदर बढ्न गए । बाह्य क्षेत्रमा देखा परेको उच्च दबाबलाई कम गर्न नेपाल सरकारले दशवटा विलासिताका वस्तुको आयातमा प्रतिबन्ध लगायो भने चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दर बढाइयो । कोभिड–१९ महामारीको वेला दिइएका नियामकीय सुविधाहरू क्रमशः हटाइयो भने पुनर्कर्जा सुविधालाई अर्थतन्त्रका अति प्रभावित क्षेत्रमा मात्र सीमित गर्दै लगियो । 

नेपाल सरकार र यस बैंकले लिएका नीतिगत व्यवस्था र प्रयासले गर्दा १४ महिनापछि ०७९ असोजबाट शोधनान्तर बचत रहन गई विदेशी मुद्राको सञ्चितिमा सुधार हुन थाल्यो । शोधनान्तर स्थितिमा आएको सुधारसँगै नेपाल सरकारले केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाएको छ भने यस बैंकले पनि केही वस्तुको आयातका लागि प्रतीतपत्र खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ । 

शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा पछिल्ला महिनामा आएको निरन्तर सुधारका कारण बैंकिङ प्रणालीको तरलता स्थितिमा पनि सुधार आएको छ भने ब्याजदरमा परेको दबाब कम हुन थालेको छ । तरलता व्यवस्थापनलाई सुदृढ गर्दै ओभरनाइट तरलता सुविधा नीतिगत दरमा उपलब्ध गराउने व्यवस्था गरेपश्चात् अन्तरबैंकदर ८.५ प्रतिशतबाट घटेर ७ प्रतिशतमा आएको छ । बैंक तथा वित्तीय संस्थाले पनि निक्षेप र कर्जाको ब्याजदर घटाउन थालेका छन् । 

बैंकिङ क्षेत्रको स्रोत साधनलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नुपर्ने आवश्यकता छ । अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि समग्र उत्पादन र उत्पादकत्व बढाउनेतर्फ क्रियाशील हुनुपर्छ ।

मौसमको अनुकूलता र रासायनिक मललगायत कृषि सामग्रीको उपलब्धताका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने देखिएको छ । ब्याजदरमा देखिएको वृद्धिको फलस्वरूप कर्जाको मागमा समेत कमी आएको तथा सरकारको पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसक्नाले समष्टिगत माग कमजोर रही आर्थिक गतिविधिमा भने केही शिथिलता आएको छ । तथापि, करिब चार सय मेगावाटको थप जलविद्युत्को उत्पादन र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालू वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने देखिन्छ । त्यस्तै, पछिल्ला महिनामा मूल्यवृद्धि पनि घट्दो क्रममा छ । 

आयातमा कमी आउँदा चालू आर्थिक वर्षमा सरकारको राजस्व संकलन गत वर्षभन्दा घटेको छ । कमजोर राजस्व परिचालन र बढ्दो सरकारी चालू खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । आयात नियन्त्रणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्था हटाइएको र आयात बढ्ने क्रममा रहेकाले आगामी महिनामा राजस्व परिचालनमा सुधार हुने अपेक्षा राखिएको छ । तापनि, अनावश्यक खर्च कटौती, राजस्व चुहावट नियन्त्रण, राजस्वको दायरा फराकिलो पार्दै र वैदेशिक सहयोग परिचालन बढाउँदै जानुपर्ने देखिन्छ । 

आर्थिक गतिविधिमा आएको केही शिथिलताले गर्दा बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परेको अवस्था छ । तापनि, ०७९ फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निष्क्रिय कर्जाको अनुपात कुल कर्जाको २.६ प्रतिशत रहेको, खुद तरल सम्पत्ति कुल निक्षेपको २४.३ प्रतिशत रहेको र जोखिम भारित सम्पत्तिको १२.९ प्रतिशत कुल पुँजीकोष अनुपात रहेकाले नेपालका बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा छ । 

आन्तरिक आर्थिक तथा वित्तीय स्थिति :  कोभिड–१९ महामारीको असर कम भएसँगै आर्थिक गतिविधिमा भएको विस्तार, आर्थिक वर्ष ०७९/८० मा समयमै रोपाइँ भएको तथा बिउबीजन र रासायनिक मलको उपलब्धतामा सुधारका कारण कृषि क्षेत्रमा भएको वृद्धि तथा वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएसँगै विप्रेषण आप्रवाहमा भएको सुधारले बाह्य क्षेत्रमा परेको चाप कम हुँदै गई समग्र अर्थतन्त्रमा सुधार हुने अपेक्षा गरिएको छ । यसैगरी, विदेशी पर्यटकको आगमन संख्यामा सुधार भएसँगै पर्यटन क्षेत्रको पुनरुत्थानमा पनि सहयोग पुगेको छ ।

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७९/८० मा धानबाली लगाइएको क्षेत्रफल दुई प्रतिशतले घटे पनि धानबाली उत्पादन ६.९ प्रतिशतले वृद्धि हुने अनुमान छ । यसैगरी, मुख्य अन्न उत्पादन भने ३.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रयमासको आर्थिक वृद्धिदर ०.८ प्रतिशत मात्र रहेको छ ।

खासगरी, निर्माण र खानीजन्य उत्खनन क्षेत्रको उत्पादनमा उल्लेख्य ह्रास आएको छ भने विद्युत्, ग्यास, पानी, र आवास तथा भोजन सेवाको उत्पादन उल्लेख्य रूपमा बढेको छ । समग्रमा चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर चार प्रतिशतको हाराहारीमा रहन सक्ने भनेर विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाको अनुमान छ । ०७९ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१४ प्रतिशत थियो । 

महालेखा नियन्त्रक कार्यालयका अनुसार ०७९ चैत मसान्तसम्ममा चालू खर्च रु. ७०६ अर्ब ७७ करोड, पुँजीगत खर्च रु. १०७ अर्ब २४ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्च रु. १२९ अर्ब चार करोड गरी कुल सरकारी खर्च रु. ९४३ अर्ब पाँच करोड (विनियोजित बजेटको ५२.६ प्रतिशत) पुगेको छ । 

०७९ चैत मसान्तसम्ममा संघीय सरकारको कर राजस्व रु. ६१६ अर्ब १२ करोड र गैरकर राजस्व रु. ६७ अर्ब ६९ करोड गरी कुल राजस्व संकलन १३.४ प्रतिशतले ह्रास आई रु. ६८३ अर्ब ८१ करोड पुगेको छ । ०७९ चैत मसान्तसम्ममा संघीय सरकारले रु. ११२ अर्ब २० करोड आन्तरिक ऋण परिचालन गरेको छ । 

चालू आर्थिक वर्ष निर्यात–आयात दुवैमा कमी आएको छ । आर्थिक वर्ष ०७९/८० को फागुनसम्म कुल वस्तु निर्यात २९.१ प्रतिशतले कमी आई रु. १०४ अर्ब ८० करोड कायम भएको छ । आर्थिक वर्ष ०७९/८० को फागुन महिनामा कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले कमी आई रु. ९५३ अर्ब ५९ करोड पुगेको छ । आर्थिक वर्ष ०७९/८० को फागुन महिनासम्म विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई रु. ७९४ अर्ब ३२ करोड पुगेको छ । सो अवधिमा खुद ट्रान्सफर २३.९ प्रतिशतले वृद्धि भई रु. ८७६ अर्ब सात करोड पुगेको छ ।

आर्थिक वर्ष ०७९/८० को पहिलो आठ महिनाको अवधिमा चालू खाता घाटामा सुधार भएको छ भने शोधनान्तर स्थिति बचतमा गएको छ । आर्थिक वर्ष ०७९/८० को फागुन महिनासम्म चालू खाता रु. ४४ अर्ब ३१ करोडले घाटामा रहेको छ । सोही अवधिमा शोधनान्तर स्थिति रु. १४८ अर्ब ११ करोडले बचतमा रहेको छ । 

०७९ असार मसान्तमा रु. १,२१५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले वृद्धि भई ०७९ फागुन मसान्तमा रु. १,४०१ अर्ब २१ करोड पुगेको छ । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

अर्थतन्त्रको दीर्घकालीन सुधारको बाटो :  अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधारसँगै तरलता व्यवस्थापन सहज भए तापनि अन्तर्राष्ट्रिय कारणले गर्दा मूल्यमा परेको दबाब अझै कायम छ । गत वर्षभन्दा व्यापार घाटामा केही कमी आएको, विप्रेषण प्रवाहमा वृद्धि र पर्यटन क्षेत्रमा आएको सुधारका कारण शोधनान्तर स्थिति पनि बचतमा रहन थालेकाले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रको बाह्य क्षेत्रलगायत बैंकिङ क्षेत्रको तरलतामा पनि सुधार आएको देखिन्छ ।

यद्यपि, विकास खर्च र कर्जा प्रवाहमा कमी आउँदा आर्थिक गतिविधिमा केही शिथिलता आएको छ भने सरकारको राजस्व संकलनमा गिरावट आएको अवस्था छ । बाह्य क्षेत्रको सहजतासँगै बैंकिङ प्रणालीको तरलतामा सुधार भइरहेको र बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउन थालेकाले आन्तरिक आर्थिक गतिविधि सुधार हुँदै जाने देखिन्छ । यसलगायत राजस्व चुहावट नियन्त्रणमा अपनाइएको थप सक्रियताका कारण राजस्व संकलनमा सुधार हुने अपेक्षा छ । 

नेपाली अर्थतन्त्र बढी आयात र विप्रेषणमा निर्भर रहेकाले विश्व अर्थतन्त्रको प्रभाव सामना गर्दै आन्तरिक सन्तुलन कायम राख्ने कार्य चुनौतीपूर्ण रहेको छ । तापनि, वित्तीय स्थायित्व कायम राख्दै समष्टिगत आर्थिक स्थिरता कायम राख्ने कार्यमा राष्ट्र बैंक सदैव प्रतिबद्ध रहेको छ । बैंकिङ क्षेत्रको स्रोत साधनलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नुपर्ने आवश्यकता छ । अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि समग्र उत्पादन र उत्पादकत्व बढाउनेतर्फ क्रियाशील हुन सम्पूर्ण सरोकारवालालाई अपिल गर्दछु । 
(राष्ट्र बैंकको वार्षिकोत्सवमा गभर्नर अधिकारीले दिएको मन्तव्यको सम्पादित अंश)

ad
ad
ad
ad