मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० बैशाख १४ बिहीबार १९:५९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लामो रस्साकस्सीपछि गण्डकीले पनि पायो नयाँ मुख्यमन्त्री

६२ महिनामा पाँच सरकार, चार मुख्यमन्त्री

Read Time : > 1 मिनेट
२०८० बैशाख १४ बिहीबार १९:५९:००

गठबन्धनमा रहेको दल माओवादीसँगको लामो रस्साकस्सीपछि अन्ततः काग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन्। 

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को (२) अनुसार गोरखा २ (ख) बाट निर्वाचित पाण्डेलाई दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नियुक्त मुख्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनेछन्।

६० सदस्य प्रदेश सभामा बहुमतको सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक रहन्छ। पाण्डे कांग्रेसका २७, माओवादीका सात र एक स्वतन्त्र गरी ३५ जनाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
 
प्रदेश सभामा कांग्रेसका २७, नेकपा एमालेका २२ माओवादीका सभामुखसहित आठ, राप्रपाका दुई र एक स्वतन्त्र सांसद छन्। 
यसअघि एमाले संसदीय दलका नेता खगराज अधिकारी २५ पुसमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

अधिकारीलाई समर्थन गरेको माओवादीले १० चैतमा आफनो समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका उनले ९ वैशाखमा विश्वासको मत लिन असफल भएपछि गण्डकीमा नयाँ सरकार गठनको बाटो खुलेको थियो। मुख्यमन्त्री पदमुक्त भएको ६ दिनमा गण्डकीले नयाँ मुख्यमन्त्री पाएको हो।

गण्डकीमा सरकारको नेतृत्व कांग्रेस र माओवादीले आलोपालो गर्ने सहमति केन्द्रमा भएपछि पहिलो नेतृत्व कसले गर्ने भन्नेमा विवाद हुँदा नयाँ सरकार गठनमा ढिलाइ भएको थियो। 

आफ्नो पार्टीले पहिलो नेतृत्व गर्न पाउनुपर्ने भन्दै कांग्रेस र माओवादीका नेताहरू पार्टीका शीर्ष नेताहरूलाई भेट्न काठमाडाैंसमेत गएका थिए। 

६२ महिनामा पाँच सरकार, चार मुख्यमन्त्री   

पहिलो निर्वाचनको परिणामपछि सरकार गठन भएको मितिदेखि हालसम्म ६२ महिनाको अवधिमा गण्डकीमा पाँच सरकार र चारजना मुख्यमन्त्री भएका छन्। 

४ फागुन ०७४ मा गण्डकीमा पहिलो सरकार गठन भएको थियो। त्यसवेला एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री भएका थिए। गुरुङको सरकार ०७८ को वैशाखमा ढलेपछि उनी वैशाखमा पुनः मुख्यमन्त्री नियुक्त भएका थिए। 

०७८ जेठमा गुरुङ नेतृत्वको सरकार ढलेसँगै काग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल प्रदेशको दोस्रो मुख्यमन्त्री हुँदै तेस्रो सरकारको नेतृत्व गरेका थिए। ०७९ मंसिरमा नयाँ निर्वाचन भएसँगै एमाले संसदीय दलका नेता खगराज अधिकारी गत पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनको सरकार ९ वैशाखमा ढलेको थियो। अधिकारीपछि पाण्डेले गण्डकीको चौथो मुख्यमन्त्री हुँदै पाँचौँ सरकारको नेतृत्व गर्ने भएका हुन्। यसअघि २०७४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित पाण्डेले तत्कालीन अवस्थामा विपक्षी दलका नेताको रूपमा काम गरेका थिए।