
मोरङ प्रहरीले भारत तस्करी गर्न लागिएको चार सय २२ केजी गाँजा बरामद गरेकाे छ । पहाडी जिल्लाबाट ल्याएर भारत तस्करी गर्न सीमा क्षेत्रमा लुकाएर राखिएको चार सय २२ केजी गाँजा प्रहरीले बरामद गरेको हाे।
मोरङको सीमावर्ती जहदा गाउँपालिका- २ बेरियारी टोलमा रहेको मकैबारीमा लुकाएर राखिएको चार सय २२ केजी गाँजा बुधबार दिउँसो मोरङ प्रहरीले बरामद गरेको छ। स्थानीय मजेबुल मियाँको खेतको मकैबारीमा उक्त गाँजा फेला परेको हो ।
खेतमा गाँजा लुकाएर राखेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले छापा मारी १४ वटा बोरामा राखिएको गाँजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए ।
कोसी प्रदेशको पहाडी जिल्लाहरूमा अवैध रूपमा उत्पादन गरिएको गाँजा लुकाइछिपाई ल्याएर भारततर्फ तस्करी गर्ने गरिन्छ ।