मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पुरानो बसपार्कमा फुटपाथ मिचेर बनाइएको ट्राफिक प्रहरी बिटमा डोजर लगाउँदै महानगर प्रहरी ।
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १३ बुधबार ०७:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अनधिकृत रूपमा बनाइएका प्रहरी बिटमा महानगरले लगायो डोजर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १३ बुधबार ०७:४६:००

अनधिकृत रूपमा बनाइएका प्रहरी बिटमा काठमाडौं महानगरपालिकाले डोजर लगाउन थालेको छ । महानगरले मंगलबार पुरानो बसपार्कस्थित ट्राफिक प्रहरी बिटमा डोजर लगाएर यो कामको सुरुवात गरेको हो ।

महानगरका अनुसार प्रहरीले नै फुटपाथ अतिक्रमण गरेर प्रहरी बिट बनाएका कारण डोजर लगाइएको हो । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार सडक–पेटीमा बनेको ट्राफिक प्रहरी बिट हटाइएको हो । ‘फुटपाथ मिचेर बनाइएको प्रहरी बिटमा पनि डोजर लगाएका छौँ । अनधिकृत रूपमा बनाइएका अन्य बिटहरू पनि भत्काउँदै जानेछौँ,’ उनले भने । उक्त ठाउँमा रहेका बिटलाई वडा नम्बर २८ कार्यालयसँगैको भवनमा राख्ने व्यवस्था मिलाइएको छ । 

यसअघि, महानगरका मेयर बालेन्द्र साहले गत २५ चैतमा नै सडक र सडक–पेटी मिचेर बनाइएका १९ वटा प्रहरी बिटको नाम सार्वजनिक गरेका थिए । उनले फुटपाथ व्यापारलाई नियन्त्रण गरिसकेको र अब यो नियम सबैका लागि बराबर हुने बताएका थिए । सम्बन्धित निकायलाई नै उक्त संरचना हटाउन भने पनि नहटाएपछि भत्काउन सुरु गरेको महानगरले जनाएको छ । यसअघि महानगरले गत २४ माघमा फुटपाथ मिचेर बनाएको भन्दै मैतीदेवी चोकमा रहेको प्रहरी बिटमा डोजर लगाएको थियो । महानगरले विदेशी नियोगले पनि अनधिकृत रूपमा संरचना निर्माण गरेको भन्दै ती संरचनालाई हटाउन छलफल भइरहेको बताएको छ । ‘राजदूतावाससहित विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ । यसमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ महानगरका प्रवक्ता मानन्धरले भने । 

यी हुन् अनधिकृत रूपमा निर्माण भएका प्रहरी बिट 
महानगरका अनुसार अझै पनि १९ वटा प्रहरी बिट अनधिकृत रूपमा रहेका छन् । वडा २६ मा रहेको सामाखुसी खोलामाथि ढलान गरेर बनाइएकोे प्रहरी बिट, वडा ३२ को जडीबुटी चोकमा रहेको प्रहरी बिट, वडा ९ को सिनामंगल चोकको प्रहरी बिट, वडा ६ को चुच्चेपाटीमा रहेको प्रहरी बिट, वडा १७ को ढल्कोमा रहेको प्रहरी बिट, वडा १८ को ताम्सीपाखामा रहेको प्रहरी बिट, वडा २९ को रुद्रमतीमार्ग मैतीदेवीमा रहेको प्रहरी बिट अनधिकृत छन् । 

यस्तै, वडा २७ असनचोकमा रहेको प्रहरी बिट, वडा २२ को न्युरोड पीपलबोटमा रहेको प्रहरी बिट, वडा २० को चिकमंगलमा रहेको प्रहरी बिट, वडा १७ को धोबीचौरको प्रहरी बिट, वडा ३१ को देउराली क्लब प्रहरी बिट, वडा ७ को रातोपुलको प्रहरी बिट, वडा ६ को बौद्ध प्रहरी वृत्तअगाडिको प्रहरी बिट, वडा १३ को ताहाचलको प्रहरी बिट, वडा ३२ को पेप्सीकोला चोकको प्रहरी बिट, वडा ९ मा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडिको टाफिक प्रहरी बिट, वडा १६ को माछापोखरीमा रहेको प्रहरी बिट पनि अनधिकृत रूपमा निर्माण भएका छन् ।