Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०८० बैशाख १० आइतबार ०६:०१:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बर्सेनि दुई हजारभन्दा बढीको ‘ब्रेनडेथ’, तर ६ वर्षमा ३५ जना मात्रै अंगदान गर्न तयार

Read Time : > 4 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०८० बैशाख १० आइतबार ०६:०१:००

ब्रेनडेथ भएकाको अंग पाउने प्रतीक्षामा मिर्गौलाका ७७० र कलेजोका २५ बिरामी

घटना १ : मस्तिष्क मृत्युबाट प्राप्त मिर्गौला परीक्षणमै रासकुमारीको सकियो ५१ हजार

भक्तपुरको सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा गत वैशाखदेखि मिर्गौलाको डायलाइसिस गराइरहेकी रोल्पाकी ३२ वर्षीया रसकुमारी बुढामगर प्रत्यारोपणका लागि मस्तिष्क मृत्युबाट आउन सक्ने अंग कुरिरहेकी छिन् । परिवारका सदस्य र नजिकका नातेदारले मिर्गौला दिने अवस्था नभएपछि उनी प्रत्यारोपणका लागि मस्तिष्क मृत्यु भएकाबाट अंगदान कुरिरहेकी हुन् । 

एक वर्षअगाडि खुट्टा सुन्निएर सुर्खेत अस्पताल पुगेकी उनलाई मिर्गौला फेल भएको आशंका गर्दै काठमाडौं रिफर गरियो । बी एन्ड बी अस्पतालमा थप परीक्षणपछि मिर्गौला फेल भएको पुष्टि भएपछि उनले नियमित डायलाइसिस गराउनुपर्ने भयो । केही महिनासम्म इमर्जेन्सी डायलाइसिस गराइसकेपछि भक्तपुरको अंग प्रत्यारोपण केन्द्रमा डायलाइसिसको पालो पाइन् । तर, प्रत्यारोपणका लागि भने आमा, बहिनी र भाइसँग रगत समूह नमिल्ने र इच्छुक अन्य सदस्यमा कुनै न कुनै स्वास्थ्य समस्या देखिएपछि उनी मस्तिष्क मृत्यु कुरिरहेकी हुन् । ‘अस्पतालले अंगदान आइहालेमा प्रत्यारोपण गराउने लिस्टमा राखेकाले प्रत्येक तीन महिनामा विभिन्न स्वास्थ्य परीक्षण गराइरहेको छ । फागुनमा मस्तिष्क मृत्युबाट आएको मिर्गौलाका लागि परीक्षण गर्दा ५१ हजार रुपैयाँ खर्च भयो, तर मिर्गौला मिलेन । अब अर्को अंग कहिले आउने भन्ने टुंगो छैन,’ हप्तामा दुईपटक डायलाइसिस गराइरहेकी बुढामगरले भनिन् । डायलाइसिस निःशुल्क भए पनि अंग आउन सक्ने आसमा नियमित स्वास्थ्य परीक्षणको खर्च व्यहोर्न सक्ने अवस्थामा नरहेको उनले पीडा सुनाइन् ।

घटना २ : आफन्तको रगत समूह नमिल्दा मस्तिष्क मृत्युको अंगदान कुर्दै जमुना

काठमाडौंकी ३३ वर्षीया जमुना टण्डन पनि वर्षौँदेखि मिर्गौला प्रत्यारोपणका लागि मस्तिष्क मृत्युबाट आउने अंगदान कुरिरहेकी छिन् । ०७३ फागुनबाट नियमित डायलाइसिस गराइरहेकी उनी परिवारका सदस्यसँग रगत समूह नमिल्ने र स्वास्थ्य समस्याका कारण अंग नपाएको बताउँछिन् । ‘मिर्गौला पाउने भनेर अहिलेसम्म तीनपटकसम्म प्रत्यारोपणअघि गर्नुपर्ने सम्पूर्ण परीक्षण गरिसकेँ । गत आइतबार पनि अंग आउने भनेर परीक्षण थालिएको थियो, तर सम्बन्धित व्यक्तिका आफन्तले अंगदान गर्न नमानेपछि रोकियो,’ उनले भनिन् । प्रत्येकपटक स्वास्थ्य परीक्षणका लागि मात्रै २० देखि २३ हजार रुपैयाँसम्म खर्च हुने गरे पनि मस्तिष्क मृत्युबाट अंग पाउन निकै मुस्किल भइरहेको उनको भनाइ छ ।

डा. कल्पना श्रेष्ठ, प्रमुख, मानव अंग प्रत्यारोपण समन्वय समिति 
अंगदानका लागि तयार भएका व्यक्तिमा समेत विभिन्न स्वास्थ्य समस्या हुने र प्रत्यारोपणको समयमा हुने विभिन्न जटिलताका कारण धेरैजसो अंगहरू प्रत्यारोपण गर्न सम्भव हुँदैन । त्यसमाथि हामीकहाँ अंगदानका लागि तयार हुने संख्या एकदमै न्यून छ । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग लिन मिल्ने कानुन बनेको ६ वर्षमा जम्मा ३५ जना अंगदान गर्न तयार भएका थिए । जसमध्ये पाँचजनाबाट मात्रै अंग लिन सकिएको छ ।

नेपालमा बर्सेनि तीन हजार व्यक्तिको मिर्गौला फेल हुन्छ 
मानव शरीरको अंग प्रत्यारोपण ऐनले मान्यता दिएअनुसार परिवारका सदस्य र नजिकका नातेदारबाट अंग पाउने अवस्थामा नरहेका हजारौँ बिरामी मस्तिष्क मृत्युबाट आउने अंग कुरिरहेका छन् । मानव अंग प्रत्यारोपण समन्वय समितिमा मात्रै अंग उपलब्ध गराइदिन भन्दै सात सय ७० जना मिर्गौला बिरामीले नाम दर्ता गराएका छन् । तर, बर्सेनि दुई हजार व्यक्तिको मस्तिष्क मृत्यु हुने अनुमान गरिए पनि पछिल्लो ६ वर्षमा जम्मा पाँचजना व्यक्तिको अंगबाट १० जनाको मिर्गाैला प्रत्यारोपण गरिएको छ । 

मस्तिष्क मृत्यु भएका स्वस्थ व्यक्तिबाट अंग निकालेर बिरामीमा आवश्यकताअनुसार प्रत्यारोपण गर्न सकिने भए पनि अंगदानबारे सचेतना नहुँदा अंगहरू पाउने अवस्था नरहेको मानव अंग प्रत्यारोपण समन्वय समिति प्रमुख डा. कल्पना श्रेष्ठले बताइन् । ‘अंगदानका लागि तयार भएका व्यक्तिमा समेत विभिन्न स्वास्थ्य समस्या हुने र प्रत्यारोपणको समयमा हुने विभिन्न स्वास्थ्य जटिलताका कारण धेरैजसो अंगहरू प्रत्यारोपण गर्न सम्भव हुँदैन । त्यसमाथि हामीकहाँ अंगदानका लागि तयार हुने संख्या एकदमै न्यून छ । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग लिन मिल्ने कानुन बनेको ६ वर्षमा जम्मा ३५ जना अंगदान गर्न तयार भएका थिए । जसमध्ये पाँचजनाबाट मात्रै अंग लिन सकिएको छ,’ उनले भनिन् ।

प्रत्येक १० जनामध्ये एकजनामा मिर्गौलाको समस्या छ भने बर्सेनि तीन हजार व्यक्तिको मिर्गौला फेल हुने गरेको अनुमान गरिएको छ । तर, देशभर जम्मा १५ वटा स्वास्थ्य संस्थामा भइरहेको प्रत्यारोपणमा बर्सेनि साढे तीन सयसम्म मिर्गौला प्रत्यारोपण भइरहेका छन् । 

मिर्गौला मात्रै नभई कलेजो प्रत्यारोपणका लागि पनि २५ जना बिरामी ब्रेनडेथबाट अंग पाउने आसमा बसिरहेका छन् । नेपालमा बर्सेनि कम्तीमा एक हजार व्यक्तिको कलेजो प्रत्यारोपण गर्नुपर्ने भए पनि अंगदान दिने स्वस्थ व्यक्तिको सीमितता र मस्तिष्क मृत्युबाट अंग पाउने अवस्था निकै न्यून रहेकाले बिरामीले समयमा प्रत्यारोपण गर्न नपाइरहेको चिकित्सकहरू बताउँछन् । समन्वय समितिको तथ्यांकअनुसार हालसम्म मस्तिष्क मृत्युबाट जम्मा तीनजनाको कलेजो प्रत्यारोपण भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार दैनिक चारदेखि आठजना र बर्सेनि कम्तीमा दुई हजारजनाको मस्तिष्क मृत्यु हुने गरेको छ । काठमाडौं उपत्यकामा मात्रै बर्सेनि एक हजारको मस्तिष्क मृत्यु हुने गरेको अनुमान गरिएको छ । 

अंगदानबारे सचेतना नहुँदा समस्या, ठूला सरकारी अस्पतालले नै दिँदैनन् सूचना 
मस्तिष्क मृत्युलाई मृत्यु नस्विकार्ने सामाजिक मान्यताका कारण अंगदान प्रभावकारी हुन नसकेको न्युरोलोजिस्ट डा. वसन्त पन्तले बताए । सडक दुर्घटना र विशेषगरी स्वस्थ व्यक्तिबाट मात्रै अंग लिनुपर्ने, तर परिवारका सदस्यहरूले अंगदानका लागि स्वीकृति दिने अवस्था न्यून भएकाले समस्या भइरहेको उनको भनाइ छ । ‘मस्तिष्क मृत्यु हुँदा पनि अन्य अंगले काम गरिरहेका हुन्छन् । यस्तो अवस्थामा परिवारले मृत्यु स्वीकार्न गाह्रो मान्छन् । खासगरी मस्तिष्कले काम गर्न छाडिसके पनि मृत्यु भइसकेको भन्ने सचेतना नहुँदा अंगदान समस्या भइरहेको हो । यसबाहेक सामाजिक र धार्मिक मान्यताका कारणसमेत परिवारले अंग दिन मान्दैनन्,’ उनले भने ।

मृत्यु भइसकेपछि खेर जाने अंग दान गर्न सकिन्छ भन्ने सचेतना नहुनुले ब्रेनडेथ ट्रान्सप्लान्ट प्रभावकारी बन्न नसकेको कलेजो प्रत्यारोपण विशेषज्ञ डा. रमेश भण्डारीले बताए । ‘हामीकहाँ अंगदानबारे जानकारी नै नहुनु र दुर्घटनाबाट भएको मृत्युलगत्तै अंगदान गर्न तयार नहुने मनस्थितिले समस्या भइरहेको हो । यसबाहेक स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, चिकित्सक, प्रहरी र अन्य सम्बन्धित प्रशासनिक निकायबीच समन्वय अभावका कारणसमेत ब्रेनडेथ ट्रान्सप्लान्ट प्रभावकारी बन्न सकेको देखिन्न,’ उनले भने ।

मस्तिष्क मृत्यु चिकित्सकले स्वीकृत गरेर अंग प्रत्यारोपण समन्वय समिति वा सम्बन्धित स्वास्थ्य संस्थालाई सूचित गर्नुपर्ने हुन्छ । तर, दैनिकजसो चारदेखि आठजनाको मस्तिष्क मृत्युका घटना भइरहे पनि सरकारी ठूला अस्पतालले नै अंगदानका लागि सूचना गर्र्दैनन् । मस्तिष्क मृत्युपछि शरीरका अन्य अंग प्रत्यारोपण गर्न मिल्ने नमिल्ने यकिन गर्न परीक्षण गर्नुपर्ने, परिवार र प्रहरीलगायतको स्वीकृति लिनुपर्ने झन्झटका कारण अस्पतालले नै अंगदानमा चासो नदिएको प्रत्यारोपण विशेषज्ञहरूको भनाइ छ ।

मस्तिष्क मृत्युबाट कुन अंग कति समयसम्म प्रत्यारोपण गर्न मिल्छ ? 
चिकित्सकहरूका अनुसार दुर्घटनाबाट हुने स्ट्रोक र हेड इन्जुरीका कारण मस्तिष्कले काम गर्न छाडेको अवस्थालाई मस्तिष्क मृत्यु भएको मानिन्छ । अर्थात् मस्तिष्कको मृत्यु भइसकेपछि पनि भेन्टिलेटरको सहायताले अन्य अंगले भने काम गरिरहेका हुन्छन् । मिर्गौला, कलेजो, आँखालगायत अंगहरू मस्तिष्क मृत्यु भएको केही समयभित्रै अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । तर, यसका लागि विशेषज्ञ चिकित्सकहरूले सम्बन्धित संस्थाको प्रशासनिक कर्मचारीको रोहवरमा मस्तिष्क मृत्यु भएको स्वीकृत गर्नुपर्ने हुन्छ । 

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट विभिन्न अंग निकालेर अर्को व्यक्तिमा छोटो समयमै प्रत्यारोपण गर्नुपर्ने हुन्छ । जसमध्ये मुटु चारदेखि पाँच घन्टाभित्र, फोक्सो चारदेखि आठ घन्टाभित्र, कलेजो र प्यान्क्रियाज आठदेखि १२ घन्टाभित्र, मिर्गौला २० देखि ३६ घन्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । तर, मस्तिष्क मृत्यु भइसके पनि अन्य अंगले समेत बिस्तारै काम गर्न छोड्ने भएकाले सकेसम्म छिटो अंग निकालिसक्नुपर्ने डा. पुकार श्रेष्ठले बताए । ‘एउटा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मुटु, कलेजो, मिर्गौलालगायत आठवटा अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । तर, छोटो अवधिमा मस्तिष्क मृत्यु भएको व्यक्तिको परिवारका सदस्यको मञ्जुरी लिएर अर्को व्यक्तिमा प्रत्यारोपण गरिसक्नुपर्ने भएकाले निकै समस्या भइरहेको छ । मेडिकल टिमले समयमै प्रत्यारोपण गर्न सक्ने अवस्था भए पनि सामाजिक र व्यावहारिक जटिलताका कारण ब्रेनडेथ ट्रान्सप्लान्ट प्रभावकारी बन्न सकिरहेको छैन,’ उनले भने ।