१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
तस्बिर : एजेन्सी
२o८१ जेठ ६ आइतबार o५:५६:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

भारतीयबाहेकका लागि कैलाश यात्राको अनुमति

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o५:५६:oo

भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीका लागि कैलाश मानसरोवर यात्रा खुला, ल्हासा र नेपालको केरुङ नाकाबाट मात्रै कैलाश यात्रीलाई अनुमति, १८ वैशाखदेखि हुम्ला पनि खुल्ने

चीनले भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीका लागि कैलाश मानसरोवर यात्रा खुला गरेको छ । कोभिड– १९ का कारण चीनले विदेशीलाई तिब्बत प्रवेशमा लगाएको रोक यस वर्षबाट हटाएसँगै कैलाश यात्रा खुलेको हो । चीन सरकारले तिब्बतको राजधानी ल्हासा र नेपालको केरुङ नाकाबाट मात्रै कैलाश यात्रीलाई जाने अनुमति दिएको छ ।

भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीको टोली आगामी साता कैलाश यात्राका लागि जाने तयारीमा छ । भारतीय तीर्थयात्रुले जान नपाएपछि आर्थिक रूपमा असर परेको कैलाश यात्राका नेपाली टुर अपरेटर व्यवसायी बताउँछन् । 

‘कैलाश जाने विदेशीका लागि अनुमति (परमिट) प्राप्त हुन थालेको छ । आगामी साता कैलाशका लागि नेपालबाट टोली प्रस्थान गर्नेछ,’ कैलाशको यात्रा गराउने पर्यटन व्यवसायीहरूको संस्था एसोसिएसन अफ कैलाश टुर अपरेटर्सका अध्यक्ष जितेन्द्र बस्नेतले नयाँ पत्रिकासँग भने, ‘भारत र चीनबीचको राजनीतिक विषयले गर्दा भारतीय यात्रुलाई चीनले अनुमति (परमिट) दिएको छैन । दुवै देशले एक–अर्को नागरिकलाई पर्यटन भिसा नदिएको असर हाम्रो पर्यटन क्षेत्रमा पनि परेको छ ।’ 

सम्बद्ध स्रोतका अनुसार कैलाश यात्रासम्बन्धी हेर्ने ल्हासाका चिनियाँ अधिकारी गत साता काठमाडौं आएका थए । ली नामका ती अधिकारीले कैलाश यात्रा गराउने टुर अपरेटरसँग छलफल गरेका थिए । ‘भारतले चिनियाँ नागरिकलाई पर्यटक भिसा रोकेको अवस्था छ । भारतले सहज नगरेसम्म हामी पनि भारतीयलाई कैलाश जान दिँदैनौँ भन्ने उनीहरूको भनाइ थियो,’ उनीहरूसँग बैठकमा सहभागी एक नेपाली टुर सञ्चालकले भने । 

एक नेपाली कूटनीतिक अधिकारीले भने कैलाशमा भारतीय तीर्थयात्रुलाई जान अनुमति नदिएको विषयमा नेपालले केही पनि गर्न नसक्ने बताए । उनले भने, ‘भारतले चिनियाँ नागरिकलाई पर्यटक भिसा दिने कि नदिने भन्ने विषय नेपालको होइन, नेपाली व्यवसायीको त झन् हुँदै होइन ।’ चीन सरकार र भारत सरकारसँग पारस्परिकताको विषयमा नेपाल सरकार नजोडिने उनको भनाइ थियो । ‘भारत र चीनले छलफलबाट समाधान निकाल्ने विषयमा हाम्रो भूमिका केही पनि हुँदैन । हामी कैलाश यात्राका लागि सहज परिस्थिति बनोस् भनेर प्रार्थना गर्नेबाहेक केही गर्न सक्दैनौँ,’ ती अधिकारीले भने । 

कैलाशका लागि हरेक वर्षको मेदेखि सेप्टेम्बरसम्म मुख्य सिजन मानिन्छ । कैलाशको यात्रा गराउने पर्यटन व्यवसायीको संस्था एसोसिएसन अफ कैलाश टुर अपरेटर्ससँग चिनियाँ अधिकारीले भारतीय नागरिकका लागि भिसा दिने सरकारी नीति सुनाएका थिए । यो संगठनअन्तर्गत ३५ व्यावसायिक संस्थाले कैलाश यात्राको प्रबन्ध गर्दै आएका छन् ।

व्यवसायीका अनुसार नेपालबाट कोभिडभन्दा पहिला हरेक वर्ष नेपाली, भारतीय र अन्य मुलुकका गरी करिब २० हजार जना कैलाश मानसरोवर जाने गरेका थिए । नेपालगन्जबाट हुम्लाको हिल्सा भएर तिब्बतको ताक्लाकोट हुँदै एउटा रुट तथा रसुवागढीबाट केरुङ हुँदै कैलाश मानसरोवर जाने अर्को रुट कार्यान्वयनमा थियो । अहिले हुम्लाबाट जाने रुट चीनले खुला गरेको छैन ।

भारत र चीनबीच हिमालय सीमामा टकराबको अवस्था अन्त्य नभएको अवस्थामा चीनले भारतीय यात्रीलाई नेपाल भएर जान रोकेको हो । चीनको सुरक्षाका लागि तिब्बत संवेदनशील मानिन्छ भने कैलाश क्षेत्र तिब्बतको पनि अति संवेदनशील क्षेत्र मानिन्छ । भारतको उत्तरी सीमा लद्दाख तथा उत्तराखण्डसँग जोडिएको कैलाश क्षेत्रमा चीनले ठूलो संख्यामा सेना तथा सैन्य उपकरण तैनाथ गर्दै आएको छ । 

वेलावेलामा चिनियाँ र भारतीय सेनाबीच सीमा क्षेत्रमा हुने झडपका कारण भारत र चीन दुवै सीमा क्षेत्रमा सतर्क छन् । कैलाशलाई चीनले निषेधित क्षेत्र (रेस्ट्रिक्टेड जोन) घोषणा गरेको छ । चिनियाँ जनमुक्ति सेनाको नियन्त्रणमा रहेको कैलाशमा विदेशी नागरिकको यात्राको अनुमति तथा कानुनी बन्दोबस्त चीन सरकारको फरेन एक्सचेन्ज सेन्टरले मिलाउँदै आएको छ ।

ल्हासामा रहेको फरेन एक्सचेन्ज सेन्टरको कार्यालय मार्च पहिलो सातामा खुल्ने गरेको छ । सेन्टरको कार्यालयसँग समन्वय गरेर नेपाली ट्राभल अपरेटरहरूले नेपालबाट कैलाशमा यात्रीहरू जाने बन्दोबस्त गर्दै आएका छन् । भारतीयहरू रोकिएपछि नेपालगन्ज र हुम्लाको अर्थतन्त्रमा ठूलो असर पर्ने जानकारहरूको भनाइ छ । कैलाश जाने भारतीय यात्रीका कारण नेपालगन्ज तथा हुम्लाका होटेल चलेका थिए । ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार १८ वैशाखदेखि हुम्ला नाकाबाट मानिस तथा सामान ओहोरदोहोर सुरु गर्ने दुवै पक्षबीच सहमति भएको छ । यद्यपि, तातोपानी नाकाबाट भने कार्गो मात्रै ओहोरदोहोर हुनेछ । 

कैलाश यात्रामा जाने भारतीय र नेपाली तीर्थयात्रीको खानपिन र सहयोगका लागि हरेक सिजनमा करिब पाँच हजार नेपाली संलग्न हुँदै आएका छन् । ‘कैलाश जान आउने भारतीय यात्रीहरू जाँदा दुई दिन र आउँदा दुई दिन नेपालमा रोकिने अवस्था हुन्थ्यो,’ एसोसिएसनका अध्यक्ष बस्नेतले भने, ‘चार रात उनीहरू नेपालमा बस्दा नेपाललाई आर्थिक रूपमा फाइदा हुन्थ्यो । भारत र चीनको विवादका कारण हामीलाई पर्यटनमा असर पर्न थालेको छ ।’

ad
ad