१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एन्ने एल बार्टलेट
२०८० बैशाख ७ बिहीबार १०:०६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सुडानको हिंसात्मक द्वन्द्वको नालीबेली

Read Time : > 2 मिनेट
एन्ने एल बार्टलेट
२०८० बैशाख ७ बिहीबार १०:०६:००

पछिल्ला केही दिनयता सुडानको राजधानी खार्तुममा सशस्त्र बलका प्रतिद्वन्द्वी गुटबीच भीषण द्वन्द्व चलिरहेको छ । द्वन्द्वका दौरान कम्तीमा एक सय ८० जना मारिएका छन् र कम्तीमा एक हजार आठ सय नागरिक र लडाकु घाइते भएका छन् । जनरल अब्देल फताह अल–बुर्हानको नेतृत्वमा रहेको सुडान आम्र्ड फोर्स र जनरल मोहम्मद हमदान डगालोको नेतृत्वमा रहेको ¥यापिड सपोर्ट फोर्सबीच जारी लडाइँमा लडाकु विमान राजधानीको आकाशमा उडिरहेका छन् र हतियारधारी लडाकु सडकमा ओर्लिएका छन् ।

सशस्त्र समूह र सेनाको जुधाइ : सुडानको अहिलेको भिडन्त धेरैका लागि नौलो होइन । दुई जनरल अल–बुर्हान र डगालो (हेमेद्दी) बीच केही समयदेखि शक्ति संघर्ष चलिरहेको छ । यस द्वन्द्वको ऐतिहासिक पृष्ठभूमि खोज्ने हो भने २० वर्षभन्दा पुरानो समयमा पुग्नुपर्ने हुन्छ । द्वन्द्वको बिउ रोपिँदा डार्फर संकट सुरुवाती अवस्थामा थियो र जनजाविद मिलिसिया भर्खर–भर्खर उदाउँदै थियो ।   

यही समयदेखि उत्तरी डार्फरको अब्बाला रेजिगात जनजाति समुदायको जनजाविद मिलिसिया समूहका नेता हेमेद्दी गाउँबस्तीमा आमहत्या, बलात्कार र लुट निम्त्याउने गरी गरेका आक्रमणका कारण एकाएक चर्चामा पुगे । उनले एक आमविवेकशील मानिसले नगर्ने काम गर्दा सामथ्र्य हासिल गर्न सकिन्छ भन्ने बुझेका थिए ।

सेनाका विपरीत उनका लडाकु जहाँ मन लाग्यो त्यहाँ जान र मान्छे मार्न ‘पूर्ण रूपमा उन्मुक्त’ थिए । पूर्ण उन्मुक्तिले र कुनै पनि चेन अफ कमान्डमा नबाँधिएका उनी न्यूनतम जवाफदेहितासाथ सरकारले गर्ने जुनसुकै काम पनि गर्न सक्थे । हेमेद्दीको निर्दयी मानसिकता र काममा हुने लचिलोपनले उनलाई सुडानका तत्कालीन राष्ट्रपति जनरल ओमर अल–बसिरनजिक पुर्‍यायो । ओमर अल–बसिर आफ्नै पार्टी नेसनल इस्लामिक फ्रन्टभित्रकै शत्रुबाट जोगिन एक अनौपचारिक अर्धसैनिक समूह खोजिरहेका थिए ।

हेमेद्दीको सशस्त्र समूह र्‍यापिड सपोर्ट फोर्सेस बन्न पुग्यो । सुडानको सेनासँग भिडिरहेको फोर्सेसलाई सन् २०१७ मा एक ‘स्वायत्त सुरक्षा बल’को मान्यता दिइयो । यस सम्बन्धले अल–बसिरलाई मात्रै लाभ गराएको थिएन । अर्थात् अल–बसिरलाई सहयोग गरेकाले हेमेद्दीलाई डार्फरका सुनखानीमा बेरोकटोक रजगज गर्न दिइएको थियो ।  

सुडानी जनरल देश लुट्न संघर्षरत छन् भने जनता खानाको जोहो गर्न 

 ठिक विपरीत सुडान आम्र्ड फोर्सका एक व्यावसायिक जनरल अल–बुर्हानले सन् १९९१ मा सेनामा संलग्न भएयता कैयौँ अभियान चलाइरहेका छन् । उनले द्वन्द्वको सुरुवाती दिनमै डार्फरमा ‘विद्रोह विरोधी’ अभियानको समन्वय गरेका थिए । तर, उनमा हेमेद्दीको जस्तो उद्यमशीलता वा धन थिएन । 

सन् २०१९ मा जब राष्ट्रपति अल–बसिर समस्यामा परे, तब हेमेद्दीले अल–बसिरलाई नै धोका दिएर विपक्षी समूहतिर लागे । यो धोकालाई सुडानका इस्लामवादीले बिर्सेका थिएनन् । अल–बसिर अन्ततः ‘कु’बाट अपदस्थ भए तर सेनाका जनरलसँग हेमेद्दीको सम्बन्ध सुमधुर हुन सकेन । हेमेद्दीको समूहसँग सहकार्य गरे पनि कैयौँपटक उनले अल–बुर्हानलाई खसाल्ने प्रयत्न गरेकै हुन् ।

युद्धभन्दा व्यापारको खाँचो :  अहिलेको घटनाक्रमको विकास त्यतिवेला भयो, जब सुडान आफैँ एक जटिल भूराजनीतिक विकास क्रममा जेलिएको छ । अर्थात् पुराना साझेदारी टुटिरहेका छन् । हेमेद्दीले पर्सियाको खाडीको यमनमा भइरहेको युद्धमा आफ्ना सेना पठाएर साउदी अरेबिया र यसका साझेदारलाई सघाएर बलियो सम्बन्ध निर्माण गरेका थिए । अहिले भने यमनमा आठ वर्ष पुरानो द्वन्द्व रोकिने आशावादी संकेत देखिन थालेका छन् । यसलाई चीनको मध्यस्थतामा भएको साउदी अरेबिया र इरानबीचको मेलमिलापले थप बल पुर्‍याएको छ ।

यही फेब्रुअरीमा अल–बुर्हानलाई आतिथ्य प्रदान गरेको संयुक्त अरब इमरेट्सले सुडानमा संयम अपनाउन र दुवै पक्षलाई शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेको छ । परम्परागत रूपमा अल–बुर्हान र सेनालाई समर्थन गर्ने इजिप्टले पनि शान्तिका लागि काम गर्ने इच्छा व्यक्त गरेको छ र परिस्थिति नियन्त्रणबाहिर नजाओस् भनेर युद्धविरामका लागि आह्वान गरेको छ । पछिल्लो समय सुडानसँग सम्बन्ध सुदृढ गर्दै आएको रुसले पनि संयम अपनाउन आह्वान गरेको छ । पहिले रुसले सुडानी सेनालाई हतियार पनि उपलब्ध गराएको थियो ।

सुडानवरपरका क्षेत्रका धेरै देशका लागि सुडानप्रतिको समग्र दृष्टिकोण अधिक व्यापार, न्यून युद्धमा केन्द्रित छ भन्ने देखिन्छ । मुलुकका खाडी छिमेकीले तेलमा आधारित अर्थतन्त्रलाई विविधीकरण गर्न खोजिरहेका छन् र व्यापारिक अवसरका लागि सुडानलाई गन्तव्य बनाउन खोजिरहेका छन् । र, द्वन्द्वले ती अवसरमा बाधा पु¥याउँछ ।

जनता गाँसका लागि संघर्ष गर्दै :  सुडानी जनताले लडाइँमा संलग्न हुन चाहन्छन् वा चाहन्नन् भन्ने विषयको मापन चुनौतीपूर्ण छ । हेमेद्दीले आफूलाई क्षति पुगेको पार्टी भएको दाबी गर्दै आफू सर्वसाधारणको हत्याको विरोध र नागरिक शासनको पक्षमा रहेको बताएका छन् । अल–बुर्हान हेमेद्दीलाई एकाएक शक्तिमा पुगेको अपराधीका रूपमा हेर्छन् ।

निःसन्देह परिस्थिति जति लम्बिँदै जान्छ, यी दुवैका गतिविधि त्यति नै निष्प्रभावी हुँदै जान्छ भन्ने दुवैलाई थाहा छ । तर, यी जनरल जति भिड्दै जान्छन्, अर्थतन्त्र त्यति नै ओरालो लाग्नेछ र महँगी बढ्नेछ । अल–बसिरलाई अपदस्थ गराएको ‘कु’पछि पाउरोटीजस्ता घरायसी वस्तुको मूल्य १० गुणाले र अन्य वस्तुको तीन सय प्रतिशतले बढेको छ । रोयटर्सको रिपोर्टमा खार्तुमको एक बजारमा सामान खरिद गरिरहेकी महिलाले भनेझैँ जनरल देशलाई लुट्न संघर्षरत छन् भने जनता खानाको जोहो गर्न । 
(बार्टलेट युनाइटेड अरब इमरेट्स विश्वविद्यालयकी सह–प्राध्यापक हुन्) द कन्भर्सेसनबाट