Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख ४ सोमबार ०७:२१:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

महासंघका अध्यक्ष ढकालले सम्हाले पदभार

लगानीको वातावरण र निजी क्षेत्रको प्रतिष्ठा प्राथमिकतामा राख्ने प्रतिबद्धता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख ४ सोमबार ०७:२१:००

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार पदभार ग्रहण गरेका छन् । अध्यक्षको पद बहालीपछि उनले महासंघ सचिवालयमा मेलमिलाप केन्द्र सञ्चालन गर्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् । महासंघको हालै सम्पन्न ५७औँ वार्षिक साधारणसभाबाट ढकाल स्वतः अध्यक्ष बनेका हुन् ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने व्यक्ति नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । पदबहाली गर्दै उनले आफ्नो कार्यकालमा पाँचवटा विषयमा केन्द्रित रही काम गर्ने बताए । वर्तमान आर्थिक संकट समाधानका लागि रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सिर्जना गर्ने र राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकतासाथ कार्यान्वयनमा लैजाने उनको अठोट रहेको छ । 

महासंघको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउने तथा नेपाली उद्यमी–व्यवसायीलाई लगानी प्रवद्र्धनका कार्यक्रम लिएर महासंघले विशेष अभियान सञ्चालन गर्नेमा पनि अध्यक्ष ढकालले जोड दिएका छन् । सानो व्यवसायबाट व्यावसायिक जीवनमा प्रवेश गरेको मानिस आज सिंगो निजी क्षेत्रको नेतृत्वदायी पदमा पुुग्दा आफूलाई गर्व लागेको बताउँदै उनले भने, ‘यसले महासंघ साना–ठूला सबैको साझा संस्था भएको प्रमाणित गरेको छ ।’ 

अध्यक्ष ढकालले सबैजना उद्योगी–व्यवसायीको आशा र भरोसाको संवाहक बनेर महासंघले काम अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । महासंघलाई ठूला, साना र मझौला सबै उद्योगी–व्यवसायीको साझा चौतारीका रूपमा स्थापित गर्न आफ्नो प्रयास रहने अध्यक्ष ढकालले उल्लेख गरे । जिल्ला नगर तथा  वस्तुगत उद्योग वाणिज्य संघहरूलाई आगामी दिनमा थप सशक्त बनाउने प्राथमिकताको रहेको पनि ढकालले उल्लेख गरे ।  

उद्योग–व्यवसाय तथा लगानीसँग प्रत्यक्ष जोडिने आर्थिक विषयसँग सम्बन्धित ऐन–नियमहरू संशोधन गर्दा वा नयाँ नीति तथा कानुन तर्जुमा गर्दा सरकार र नीति–निर्माणकर्तासँग सघन सहकार्यका लागि समेत आफूले पहल लिने अध्यक्ष ढकालले उल्लेख गरे । कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी सञ्चालन, सेवा–सुविधालगायतमा पनि आफूले ध्यान दिई समग्रमा महासंघ सचिवालयलाई एक प्रोफेसनल अर्गनाइजेसनका रूपमा सञ्चालन गर्ने उनले स्पष्ट पारे ।

कर्मचारीलाई सम्बोधन गर्दै ढकालले भने, ‘मैले यसअघि पनि तपाईंहरूबाट निरन्तर सहयोग पाउँदै आएको र अध्यक्षको कार्यकालमा पनि सोहीअनुसारले पाउने अपेक्षा गरेको छुु । मेरो सफलता तपाईंहरूको पनि सफलता भएकाले तपाईंहरूबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु ।’ 

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यकालमा सचिवालयबाट पाएको सहयोगका लागि हार्दिक धन्यवाद दिए । साथै, उनले अध्यक्ष ढकाललाई आफ्नो पूर्ण सहयोग रहने विश्वास दिलाउँदै उद्योग–व्यवसाय क्षेत्रमा ढकालको लामो अनुुभवले महासंघलाई नयाँ उचाइमा लैजाने विश्वास व्यक्त गरे । 

त्यसअघि अध्यक्ष ढकाललाई महासंघका महानिर्देशक गोकर्णराज अवस्थी नेतृत्वमा   कर्मचारीहरूले सचिवालयमा स्वागत गरेका थिए । सोमबार नै मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरूलाई प्रमाणपत्र वितरण गरे । त्यस्तै, अध्यक्ष ढकालले नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, कार्यकारिणी समिति सदस्यहरूलाई  शपथग्रहण गराए ।

कोषाध्यक्षमा चार आकांक्षी 
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा चारजनाले उम्मेदवारी दिएका छन् । निरक केसी, प्रबलजंग पाण्डे, गोपाल खनाल र सन्दीप गाडियाले कोषाध्यक्षका लागि उम्मेदवारी दिएका हुन् । महासंघको विधानमा निर्वाचित कार्यसमिति सदस्यबाट कोषाध्यक्ष चयन गर्ने व्यवस्था छ । महासंघ पदाधिकारीले चारजना आकांक्षीबाट सर्वसम्मत कोषाध्यक्ष चयन गर्नका लागि पहल गरिरहेका छन् । सर्वसम्मत कोषाध्यक्षका लागि आइतबार गरिएको प्रयासले मूर्त रूप पाउन सकेन । सहमतिका लागि सोमबार बिहान नौ बजेसम्मका लागि समय दिइएको छ । त्यतिन्जेल पनि सहमति नभए निर्वाचन प्रक्रियामा जानुपर्नेछ । 

केसी यसअघि नै महासंघको कोषाध्यक्ष भइसकेका छन् । हालको कार्यसमितिमा वस्तुगत उवासंघको तर्फबाट उनी सदस्य निर्वाचित भएका छन् । निर्वाचनमा दीपक नेपाल र उनले बराबर ६३ मत ल्याएपछि आधा–आधा कार्यकाल केन्द्रीय सदस्य रहने सहमति गरेका छन् । यदि उनी कोषाध्यक्षमा पुनः चयन भए १८ महिना मात्र कोषाध्यक्ष हुन पाउनेछन् । 

कोषाध्यक्षका आकांक्षी पाण्डेले ११ सय ३६ मत, खनालले १२ सय ८८ र गाडियाले नौ सय ४० मत ल्याएर एसोसिएटतर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए । निर्वाचनमा पाण्डेले वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको प्यानलबाट एसोसिएट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । तर, अन्तिम समयमा भरतराज आचार्यलाई उपाध्यक्षको उम्मेदवार बनाउने सहमति भएपछि उनी पछाडि हटेका थिए ।