१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o६:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

१९औँ एसियाडको तयारी ३ वैशाखदेखि

चीनको हाङझावमा हुने १९औँ एसियाडमा पदक जित्न सक्ने खेलका रूपमा बक्सिङ, तेक्वान्दो र कराँतेलाई परिषद्ले उच्च प्राथमिकतामा राखेको छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o६:२५:oo

नेपालले चीनको हाङझावमा हुने १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)को तयारी ३ वैशाखदेखि गर्ने भएको छ । अर्थ मन्त्रालयबाट मंगलबार एसियाड शीर्षकमा दुई करोड रुपैयाँ उपलब्ध गराएपछि राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगितामा सहभागिता जनाउनका लागि वैशाखबाट तयारी सुुरु गर्ने भएको हो ।

एसियाडमा नेपालबाट २३ खेलमा अधिकतम एक सय ६८ खेलाडीले भाग लिने बुधबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिएका छन् । ‘हाङझावमा हुने एसियाडको तयारी वैशाखको पहिलो सातादेखि सुरु हुनेछ,’ सदस्यसचिव घिसिङले भने । 

एसियाड ६ देखि २१ असोजसम्म हाङझावमा आयोजना हुनेछ । राखेपले गठन गरेको हाई परफर्मेन्स कमिटीको सिफारिसअनुसारै विशेष प्रशिक्षण सुरुवात गर्न लागेको हो । परिषद्ले छनोट गरेका २१ खेललाई विभिन्न समूहमा वर्गीकरण गरेको छ ।

रणनीतिक र सहभागी उद्देश्यका साथ प्रतिस्पर्धामा नेपालको सहभागिता रहने घिसिङले जनाए । पदक जित्ने सम्भावित खेललाई रणनीतिक र पदकको न्यून सम्भावना रहेको खेललाई आमसहभागिताका रूपमा लिएको सदस्यसचिव घिसिङले जनाए । ‘हामीले एसियाडमा दुई किसिमको लक्ष्य राखेका छौँ । पहिलो, रणनीतिक हुनेछ, जसले पदक सम्भावना बोकेको खेललाई चिनाउनेछ,’ उनले भने, ‘दोस्रो, केवल आमसहभागिताका हिसाबले एसियाली खेलकुदमा खेलाडीले भाग लिनेछन् ।’ 

 पहिलो चरणमा चार सय २५ खेलाडी
परिषद्ले एसियाड तयारी र छनोट प्रक्रियाअन्तर्गत पहिलो चरणमा चार सय २५ खेलाडी समावेश गर्ने भएको छ । खेलाडी छनोट र प्रशिक्षणको समयतालिकासमेत सार्वजनिक गर्दै सदस्यसचिव घिसिङले ७ वैशाखसम्म पहिलो चरणको प्रशिक्षण हुने जनाए । पहिलो चरणबाट छानिएर आएका खेलाडीलाई ८ देखि १० वैशाखसम्म एसियाडको प्रोटोकलअनुसार स्वास्थ्य परीक्षण गराइनेछ । स्वास्थ्य परीक्षणपछि पहिलो चरणमा छनोट भएका खेलाडी ११ वैशाखदेखि ३ जेठसम्म अर्को प्रशिक्षणमा सहभागी हुनेछन् ।

एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, ट्रायथलन, उसु, भलिबल, कुस्ती, पौडी र भारोत्तोलनबाट पनि परिषद्ले पदकको आशा गरेको छ

 त्यसपछि ४–५ जेठसम्म दोस्रो चरणको खेलाडी छनोट हुने घिसिङले बताए । दोस्रो चरणमा दुई सय ९५ खेलाडी सीमित हुनेछन् । दोस्रो चरणसम्म आइपुग्दा एक सय ३० खेलाडी प्रशिक्षणबाट बाहिरिनेछन् । स्वास्थ्य परीक्षणपछि ६–२५ जेठसम्म दोस्रो चरणमा छनोट भएका खेलाडी प्रशिक्षणमा रहनेछन् । एसियाडको अन्तिम चरणको छनोट २६ जेठदेखि १ असारसम्म हुने जानकारी घिसिङले गराए । यही अन्तिम चरणको प्रशिक्षणबाट एसियाडका लागि एक सय ६८ खेलाडी छनोट गरिनेछ । अन्तिम चरणमा छनोट भएका खेलाडीलाई १९औँ एसियाड सुरु नहुँदासम्म प्रशिक्षणमा राखिनेछ ।

 तेस्रो चरणमा छनोट भएका खेलाडीलाई पदक सम्भावनाअनुरूप वैदेशिक प्रशिक्षणमा समेत पठाइने जानकारी सदस्यसचिव घिसिङिले गरेका छन् । ‘अन्तिम चरणमा छनोट भएका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाइनेछ, यसका लागि परिषद्ले पहल गरिरहेको छ,’ घिसिङले भने, ‘स्वदेशमा समेत विदेशी प्रशिक्षकबाट प्रशिक्षण गराइने योजना छ ।’

यसैबीच, घिसिङले अर्थ मन्त्रालयबाट बाँकी रकम आउने विश्वास व्यक्त गरेका छन् । ‘हामीलाई अर्थ मन्त्रालयबाट एसियाडको तयारीअन्तर्गत प्रशिक्षणका लागि दुई करोड रुपैयाँ प्राप्त भएको छ, यद्यपि यो रकमले तयारी गर्न सकिँदैन, नपुग रकम अर्थ मन्त्रालयले दिने प्रतिबद्धता जनाएको छ,’ सदस्यसचिव घिसिङले भने, ‘प्रशिक्षण करिब लगातार साढे पाँच महिना चल्नेछ, कुनै पनि हालतमा प्रशिक्षण रोकिँदैन ।’

 तीन खेल उच्च प्राथमिकतामा
१३औँ दक्षिण एसियाली खेलकुद र अन्य अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा परिषद्ले एसियाडमा सहभागी हुने २१ मध्ये ११ खेललाई विशेष प्राथमिकतामा राखेको छ । नेपालले यसै ११ खेलबाट पदक जित्न सक्ने सदस्यसचिव घिसिङको भनाइ रहेको छ । ‘एसियाडमा मूलतः हामीले ११ खेलबाट पदकको बढी सम्भावना देखेका छौँ, यस खेललाई टप ११ को कोटामा राखी प्रशिक्षण गराइनेछ,’ घिसिङले भने । अझ यसमध्ये बक्सिङ, तेक्वान्दो र कराँतेलाई उच्च प्राथमिकताको वर्गमा राखेपले निर्धारण गरेको छ । सदस्यसचिव घिसिङले यसै उच्च प्राथमिकतामा रहेका खेलबाट नेपालले १९औँ एसियाडमा पदक जित्न सक्ने बताए । 

यसबाहेक, ११ खेललाई पनि पदककै दृष्टिकोणबाट हेरिएको छ । एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, ट्रायथोलन, उसु, भलिबल, कुस्ती, पौडी, भारोत्तोलनबाट पनि परिषद्ले पदकको आशा गरेको सदस्यसचिव घिसिङले बताए । ‘हामीले उच्च प्राथमिकताका खेल र त्यसपछिका ११ खेलबाट पनि पदक जित्ने लक्ष्य राखेका छौँ,’ एसियाडमा पदकको आशावादी भएका घिसिङले भने । 

परिषद्ले थप चार खेललाई पनि एसियाडमा सहभागी गराउने योजना रहेको उनको भनाइ छ । ‘हामीले टेनिस, स्क्वास, रग्बी र ई–स्पोर्टस् तथा पुरुष भलिबलसमेत एसियाडमा सहभागी गराउन योजना बनाएका छौँ,’ घिसिङले भने, ‘परिषद्ले नेपाल ओलम्पिक कमिटीसँग यस विषयमा छलफल गरिरहेको छ, सहभागी गराउन पहल गर्ने प्रक्रियासमेत अगाडि बढाइनेछ ।’ पाँच वर्षअघि इन्डोनेसियामा भएको १८औँ एसियाडमा नेपालले पदक सम्भावना बोकेको खेल निर्धारण गरेको थियो । यद्यपि, ती खेलका खेलाडी पदकको नजिकसम्म नै पुग्न सकेनन् । 

पदक आशा नगरेको प्याराग्लाइडिङबाट नेपालले ऐतिहासिक रूपमा रजत पदक हात पारेको थियो । परिषद्ले आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, ह्यान्डबल, टेबलटेनिस, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन खेललाई सहभागिताका रूपमा मात्र लिएको छ । परिषद्का सदस्यसचिव घिसिङले नेपालले १९औँ एसियाडमा कति पदकको लक्ष्य राखेको स्पष्ट पार्न सकेनन् । तर, उनले सम्भावित पहिलो दुई वर्गका खेलबाट पदकको प्रचुर सम्भावना भएको जनाए । ‘यति नै पदकको लक्ष्य भन्ने छैन, तर हामीले उच्च प्राथमिकता र टप ११ मा वर्गीकरण गरेका खेलले पछिल्लो समयमा अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा प्रदर्शन गरेको आधारमा नेपालले एसियाडमा पदक जित्न सक्छ भन्न सक्छौँ,’ समग्रमा १४ खेलबाट पदक जित्ने आशा गरेका घिसिङले भने । 

 

ad
ad