
एनआइसी एसिया क्यापिटलले विगतमा मर्चेन्ट बैंकिङको ‘कर्पोरेट एड्भाइजरी’ सेवाअन्तर्गत ‘स्टार्टअप लन्चप्याड’ नामक सेवा सञ्चालनमा ल्याएको छ । पहिले पनि सेवा दिँदै २० भन्दा बढी स्टार्टअप कम्पनीहरूलाई प्रदान गरिसकेकोमा पुनः उद्योग विभागले स्टार्टअप उद्यमीहरूलाई लक्षित गर्दै सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेपछि क्यापिटलले उक्त सेवालाई पुनः सुरु गरेको हो ।
नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीहरूलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न, सहुलियतपूर्ण कर्जा प्रवाह गर्न नेपाल सरकारले बनाएको स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ अनुरूप कर्जा सुविधा लिन इच्छुक सबै स्टार्टअप उद्यमीहरूलाई परियोजनाको प्रस्ताव तयार गर्ने, उद्यमीको पक्षबाट पूरा गर्नुपर्ने कागजातमा सहयोग गर्ने तथा अन्य आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्ने क्यापिटलले जनाएको छ ।
स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ अनुसार कृषि तथा पशुपक्षीमा आधारित, वन (जडीबुटी, वन पैदावार)मा आधारित, पर्यटन प्रवद्र्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित, विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा सम्बन्धित, मानव स्वास्थ्य सेवासँग सम्बन्धित, शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित, सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित, पूर्वाधार निर्माण कार्यसँग सम्बन्धित स्टार्टअप सुविधाका लागि योग्य हुने जनाइएको छ ।
त्यस्तै, अटोमोबाइलसँग सम्बन्धित, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाहको प्रक्रियामा सुधारसँग सम्बन्धित, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित, घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने, खाद्य उत्पादन तथा प्रशोधन, फोहोरमैला व्यवस्थापन तथा वातावरणसँग सम्बन्धित कार्यहरूमा संलग्न स्टार्टअपहरू पनि कर्जा सुविधाका लागि योग्य हुने क्यापिटलले जनाएको छ ।
इच्छुक स्टार्टअपहरूले चाहेमा नेपालमै पहिलोपटक मर्चेन्ट बैंकिङको सेवाअन्तर्गत उपलब्ध कर्पोरेट एड्भाइजरी सेवाअन्तर्गतको स्टार्टअप लन्चप्याड कार्यक्रमको सहजीकरणमा कर्जा सुविधासम्बन्धी परामर्श सेवा सहजै लिन सकिने क्यापिटलले जनाएको छ ।