१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २९ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २९ बुधबार ११:१४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जापानी प्रविधिको रिकिसी कम्पोस्ट मल नेपालमा उत्पादन सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २९ बुधबार ११:१४:oo

कुहिने फोहोरबाट साखः ग्रुपले जापानी प्रविधिमा आधारित रिकिसी कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । विगत ४५ वर्षदेखि व्यवसाय गर्दै आएको साखः ग्रुपले कृषि क्षेत्रमा ‘क्लाइमेट कन्ट्रोल’ प्रविधिबाट विभिन्न किसिमको च्याउ उत्पादनपछि दोस्रो परियोजनाका रूपमा कम्पोस्ट मल उत्पादन सुरु गरेको हो ।

करिब १५ करोड रुपैयाँको लगानीमा कम्पोस्ट मल उत्पादन सुरु गरिएको कम्पनीको भनाइ छ । कुनै पनि मेसिनको प्रयोग नगरी कुहिने फोहोरबाट गन्धरहित कम्पोस्ट मल उत्पादन सुरु गरेको कम्पनीको दाबी छ । साखः ग्रुपका निर्देशक किरणप्रकाश साखःले यस कम्पोस्ट मलको प्रयोगले बालीनालीमा कुनै पनि प्रकारका किरा नलाग्ने र कीटनाशक औषधिको प्रयोग गर्नुनपर्ने बताए ।

कम्पनीले हालसम्म चारवटा ठाउँमा मल उत्पादन गर्दै आइरहेको छ । दुधौली नगरपालिका, भक्तपुरको थिमी, पाँचखाल र राप्तीमा मल उत्पादन गर्दै आइरहेको छ । आवश्यकता परेको खण्डमा सात सय ५३ वटै स्थानीय तहसँग समन्वय गरी मल उत्पादन बढाउन सकिने गरी कम्पनीले तयारी थालेको र त्यसमा स्थानीय तहको भूमिका प्रमुख हुने जनाइएको छ ।

कम्पनीकी प्रबन्ध निर्देशक उषा गिरीले रासायनिक मलका कारणले माटोमा उर्वराशक्ति ह्रास आएको अवस्थामा यस मलको प्रयोगले माटोको उर्वराशक्ति जोगाउने, उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न भूमिका खेल्ने दाबी गरिन् । साखःले उत्पादन गरेको मल रासायनिक मलभन्दा सस्तो र माटोका लागि उपयुक्त रहेको गिरीको भनाइ छ । 

उनले भनिन्, ‘मल बनाउन स्थानीय सरकारहरूसँगको सहकार्यमा फालिएका कुहिने फोहोरसमेतको प्रयोग गरिने भएकाले फोहोर व्यवस्थापनमा ठूलो भूमिका खेल्न सक्छ ।’ कम्पनीले अहिले कृषि ज्ञानकेन्द्रलाई प्रतिकेजी २५ रुपैयाँमा उक्त मल बिक्री गर्दै आएको छ । सरकारले यदि कम्पनीसँग सहकार्य गरेमा नेपालका लागि आवश्यक मल फोहोरबाट उत्पादन गर्न सक्ने क्षमता रहेको साखःको भनाइ छ ।

उनका अनुसार मल उत्पादनका लागि आवश्यक फोहोर संकलन गरेर अहिले ५८ वटा कोठाबाट उत्पादन सुरु गरिएको छ । उक्त ५८ वटा कोठाबाट दुई महिनामा पाँच सय टन मल उत्पादन हुनेछ ।कम्पनीले पहिलो चरणमा पाँच सय टन कम्पोस्ट मल उत्पादन गर्दै आएको छ । तर, बजारमा माग बढेको अवस्थामा उक्त उत्पादनलाई बढाएर एक हजार टन उत्पादन गर्ने योजना बनाएको उनको भनाइ छ । कम्पनीले छिट्टै कम्पोस्ट मल उत्पादनका लागि एक सय ५० वटा कोठा थप गर्ने भएको छ ।