मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २७ सोमबार ०९:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिवि सेवा आयोगको परीक्षामा अंक फेरबदल : प्रशासन प्रमुखको निर्देशनमा कापीको अंक थपघट, ६ जना दोषी ठहर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २७ सोमबार ०९:००:००

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा आयोगका कर्मचारीका आफन्तको उत्तरपुस्तिकामा थपघट गरेको विषयमा विशेष अदालतले ६ जनालाई दोषी ठहर गरेको छ । गत ४ असोजमा भएको फैसलाको पूर्णपाठमा अन्य चारजना प्रतिवादीलाई सफाइ दिइएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो । 

त्रिवि सेवा आयोगबाट २८ फागुन ०७३ मा प्रकाशित नतिजा र १८ फागुन ०७३ मा प्रकाशित विज्ञापनको नतिजामा गडबडी भएको उजुरी परेपछि अनुसन्धान गरेर अख्तियारले १८ असार ०७६ र १५ चैत ०७८ मा गरी दुईवटा मुद्दा दायर गरेको थियो । यी दुवै मुद्दालाई लगाउमा राखेर अदालतले सुनुवाइ गरेको थियो ।

जसमध्ये एउटामा ६ जना र एउटामा एकजना दोषी ठहर भएका हुन् । आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल, पूर्वप्राध्यापक गोविन्द ढकाल र सहप्राध्यापक ताराप्रकाश पौडेलले सफाइ पाएका हुन् । दोषी ठहर हुनेमा एकजना प्राध्यापक र एकजना सहप्राध्यापक छन् । अदालतले प्राध्यापक टेकनाथ ढकाल र सहप्राध्यापक राजेश्वर न्यौपानेलाई दोषी ठहर गरेको हो । अदालतले यो मुद्दामा त्रिवि सेवा आयोगका प्रशासन प्रमुख पदमा कार्यरत परशुराम कोइरालालाई नौ महिना कैद र आठ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको थियो । उनकी छोरी नमिता कोइरालाले समेत शाखा अधिकृत पदमा आवेदन दिएकी थिइन् । 

आयोगको कार्यालय सहायक बच्चुराम पाण्डेलाई चार महिना कैद र ६ हजार जरिवाना तथा आयोगकी मुख्य कार्यालय सहायक इन्दिरा तिवारी भन्तनालाई पनि उति नै सजाय भएको हो । तिवारीकी भदैनी समीक्षा तिवारीले मुख्य कार्यालय सहायक पदमा आवेदन दिएकी थिइन् ।

आयोगका कार्यालय सहायक बच्चुराम पाण्डेलाई चार महिना कैद र ६ हजार जरिवाना तथा आयोगकी मुख्य कार्यालय सहायक इन्दिरा तिवारी भन्तनालाई पनि उति नै सजाय भएको हो । तिवारीकी भदैनी समीक्षा तिवारीले मुख्य कार्यालय सहायक पदमा आवेदन दिएकी थिइन् । कोइराला र तिवारी दुवैले यसको जानकारी पहिले नै आयोगलाई गराउनुपर्नेमा त्यसो गरेका थिएनन् र परीक्षासम्बन्धी सबै कार्यमा सहभागी भएका थिए । समीक्षाको कापीमा चार–पाँचपटकसम्म केरमेट गरी नम्बर थप गरेको भेटिएको थियो । बच्चुराम पाण्डेले भने यी सबै काम कोइरालाको निर्देशनमा भएको भनी कसुर स्वीकार गरेका थिए । 

त्रिविका अवकाशप्राप्त सहप्रशासक रामबहादुर पाण्डेलाई कैद सजाय भए पनि उनको मृत्यु भइसहेको छ । सहप्राध्यापक राजेश्वर न्यौपानेलाई पनि चार महिना कैद र ६ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ । प्राध्यापक टेकनाथ ढकाललाई चार र तीन महिना गरी जम्मा सात महिना कैद र ६ हजार रुपैयाँ जरिवाना हुने फैसला विशेष अदालतले गरेको थियो । 

अनुसन्धानका क्रममा शाखा अधिकृत पदमा ६ जनाको अंक थपघट गरेको अनुसन्धानबाट देखिएको थियो । जसमा चारजनालाई अंक थपेर उत्तीर्ण गराइएको थियो भने दुईजनाको उत्तरपुस्तिकाको प्रथम र तेस्रो पत्रमा क्रमशः ११ र १४ अंक घटाइएको थियो । उत्तीर्ण भएका व्यक्तिको समेत लेजरमा अंक नजनाई अनुत्तीर्ण गराइएको भेटिएको थियो । लेखा अधिकृत पदका परीक्षार्थीमध्ये सातजनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा २ देखि १० अंकसम्म थप गरिएको र सहायक कानुनी सल्लाहकारका लागि परीक्षा दिएका तीनजनाको अंक केरमेट गरिएको थियो । एउटा पदका लागि भएको उक्त परीक्षामा ३७ अंक आउनेलाई १५ अंक थपिएको थियो भने दुईजनाको प्राप्तांकलाई घटाएर ५० मा झारिएको थियो । 

 उत्तर नै नलेख्दा पनि अधिकतम अंक दिनु गैरजिम्मेवारीपनाको चरम अवस्था
उत्तरपुस्तिकामा केरमेटबारेको अर्को मुद्दामा त्रिवि केन्द्रीय पुस्तकालयकी सहप्रशासक इन्दिरा घिमिरे कोइराला दोषी ठहर भएकी छन् । उनलाई विशेष अदालतले तीन महिना कैद र पाँच हजार जरिवाना हुने फैसला सुनाएको थियो । उनले पुस्तकालय सहायक पदको दोस्रो पत्रको उत्तरपुस्तिका परीक्षण गरेकी थिइन् । जसमा उत्तर नै नलेखेकोमा पनि अधिकतम् अंक दिइएको भेटिएको थियो । अख्तियारसामु उनले ‘कापी परीक्षण गर्ने समयमा मेरो दिमागले काम गरेनछ वा मैले त्यतिबेला अर्को कापीसमेत सँगसँगै हेर्दा भुलवश त्यस्तो भएको हो’ भनी बताएकी थिइन् ।