१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रमेश सुवेदी काठमाडौं
२०७९ चैत २७ सोमबार ०७:११:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लयमा फर्कंदै साबिक दुईपटकको विजेता मच्छिन्द्र

मुख्य प्रशिक्षकको जिम्मेवारी पाएकै दिन किशोरकुमार केसीले साबिक दुईपटकको विजेता मच्छिन्द्रलाई तीन अंक दिलाए । मच्छिन्द्रले लिगमा दोस्रो जित निकाल्ने क्रममा संकटलाई २–१ ले हरायो ।

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
२०७९ चैत २७ सोमबार ०७:११:००

मच्छिन्द्र फुटबल क्लब साबिक दुईपटकको विजेता हो । मच्छिन्द्रले यसपटक पनि उपाधि जित्दै सहिद स्मारक ए डिभिजन लिगमाथि ह्याट्रिकको लक्ष्य राखेको छ । तर, मच्छिन्द्रले चालू ए डिभिजन लिगमा सकारात्मक नतिजा निकाल्न सकेको छैन । उपाधि दाबेदार मच्छिन्द्र लिगको नवौँ स्थानमा छ । उपाधि रक्षा गर्ने उद्देश्यका साथ अगाडि बढेको मच्छिन्द्रले नेपाली फुटबलकै राम्रामध्ये एक मानिने प्रशिक्षक किशोरकुमार केसीलाई आइतबार अनुबन्धित गरेको छ । 

केसीलाई मुख्य प्रशिक्षणको जिम्मेवारी दिएकै दिन मच्छिन्द्रले लिगमा दोस्रो जित निकाल्यो । दशरथ रंगशालामा मच्छिन्द्रले बलियो प्रतिद्वन्द्वी संकटा क्लबलाई २–१ ले हरायो । यससँगै मुख्य प्रशिक्षकमा नवनियुक्त केसीले पनि मच्छिन्द्रमा सुखद सुरुवात गरेका छन् । यसअघि लगातार दुईपटक लिग च्याम्पियन बनाएका प्रवेश कटवालले राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी पाएपछि मच्छिन्द्र छाडेका थिए । कटवालको प्रशिक्षणमै मच्छिन्द्रले ०७६ र ०७८ मा ब्याक टु ब्याक उपाधि हात पारेको थियो ।

कटवालपछि मुख्य प्रशिक्षक बनेका केसीले आफ्नो लक्ष्य पनि क्लबलाई उपािध दिलाउनु नै रहेको बताएका छन् । रमाइलो पक्ष के रह्यो भने केसीले पहिलो दिन खेलाडीलाई अभ्यास गराएनन् । जिम्मेवारी पाएलगत्तै उनी मैदानको ‘टचलाइन’मा मात्र उभिन पुगे । ‘मैले खेलाडीलाई अभ्यास नै गराएको छैन, सीधै मैदानमा खेलाडीलाई निर्देशन दिन आएको हुँ,’ केसीले नयाँ पत्रिकासँग भने, ‘क्लब र मेरो पनि लक्ष्य च्याम्पियन हुने हो, यसका लागि म तयार छु ।’ 

पछिल्लो समय ए डिभिजन लिगमा दबाब बढेको महसुस उनले गरेका छन् । उनी भन्छन्, ‘यो समय प्रतिस्पर्धाकै छ । क्लब र ममाथि दबाब पनि छ । यही दबाबको सामना गर्न आएको हुँ ।’ लामो समयपछि ए डिभिजन लिग सम्हालेका केसीले संकटाले निकै प्रतिस्पर्धात्मक खेलेको प्रतिक्रिया दिए । ‘खेल सोचेकोभन्दा टफ रह्यो, तर हामीले बाजी मारेका छौँ,’ खेलको विश्लेषण गर्दै केसीले भने । 

सात खेलबाट नौ अंक
लिगमा मच्छिन्द्रको दोस्रो जित हो । मच्छिन्द्रले सात खेलमा तीन बराबर र दुई खेलमा हारको सामना गरी नौ अंक जोडेको छ । उपाधि दाबेदारी प्रस्तुत गरिरहेको संकटाको समान सात खेलबाट ९ अंक छ । संकटाले दुई जित, तीन बराबर र दुई हार नतिजा निकालेको छ । जितले संकटाको पाँचौँ स्थानमा पुग्ने सपना पूरा भएन । मच्छिन्द्रको जितमा राष्ट्रिय टोलीका सदस्य विमल घर्तीमगर र विदेशी खेलाडी आफिज ओलावालेले समान एक गोल गरे । संकटाका लागि राष्ट्रिय टोलीका सदस्य मनीष डाँगीले एक गोल फर्काए । पहिलो हाफ १–१ गोलको बराबरीमा समाप्त हुँदा मच्छिन्द्रले दोस्रो हाफमा थप एक गोल गर्‍यो । 

१९औँ मिनेटमा विमलले मछिन्द्रलाई अग्रता दिलाए । मछिन्द्रको अग्रता केवल दुई मिनेटको मात्र रह्यो । मनीषले खेलको २१औँ मिनेटमा संकटालाई १–१ को बराबरीमा ल्याए । दोस्रो हाफको सुरुमै आफिजले मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए । प्रशान्त अवस्थीले मिलाएको पासलाई आफिजले गोलमा परिणत गरेका हुन् । संकटाका गोलरक्षक टिकेन्द्र थापाले बचाउने प्रयास गरे पनि आसिफको प्रहारलाई रोक्न सकेनन् । खेलको इन्जुरी समयमा मच्छिन्द्रका छिरिङ गुरुङ मैदानमा अचेत भई लडे ।

आफ्नै खेलाडी पुजन उपरकोटीसँग ठोकिँदा छिरिङ मैदानमै बेहोस भए । उनको स्वास्थ्य अवस्था सामान्य भएको क्लबले बताएको छ । संकटाका प्रशिक्षक सल्यान खड्गीले दोस्रो हाफको सुरुमै गोल बेहोर्दा क्लब पराजित भएको बताए । दोस्रो हाफको सुरुमै गोल बेहोर्नु नराम्रो हो । यो हारले आगामी यात्रा सहज हुनेछैन,’ उनले भने । 

आर्मी र सातदोबाटोबीचको खेलमा ६ गोल 
त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले ३–३ को रोमाञ्चक बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको रात्रिकालीन खेलमा आर्मीले तीनपटकको अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो । आर्मीका लागि जिलेस्पीजंग कार्कीले दुई तथा दीपक गुरुङले एक गोल गरे । सातदोबाटोका लागि मातमुरातोभ र विलियम ओपोकुले गोल गरेका थिए । आर्मीका सुरोज बस्नेतले आफ्नै पोस्टमा बल छिराए । खेलको चौथो मिनेटमा जगजितको पासमा जिलेस्पीले आर्मीलाई अग्रता दिलाए । 

सातदोबाटोका दीपकराजसिंह ठकुरीको प्रहार रोक्ने क्रममा २५औँ मिनेटमा आर्मीका सुरोजले आत्मघाती गोल गरे । सातदोबाटोका रक्षकले क्लियर गर्न नसकेको बललाई जिलेस्पीले ३९औँ मिनेट गोल गर्दै २–१ को अग्रता दिलाएका थिए । ४८औँ मिनेटमा सातदोबाटोका सार्दाेरबेकले गोल गर्दै २–२ को बराबरीमा खेल पुर्‍याए । ५२औँ मिनेटमा आर्मीका दीपकले क्रस गरेको बल सिक्स यार्ड बक्समा ड्रप हुँदै उत्कृष्ट रूपमा गोलमा परिणत भयो । सातदोबाटोका गोलरक्षक अभिषेक बरालले बल बचाउन सकेनन् । ८५औँ मिनेटमा ओपोकुले उत्कृष्ट फ्रिकिक गोल गरे । पोस्टभन्दा ३० यार्डबाट उनले गरेको प्रहार सीधै गोल भयो । सातदोबाटोको सात खेलबाट १३ अंक तथा आर्मीको समान खेलबाट ९ अंक छ ।