
समुद्री सतहबाट २,८९६ मिटर उचाइमा रहेको तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा अवस्थित चर्चित पर्यटकीय क्षेत्र हो, गुफापोखरी । लालीगुराँसको राजधानीले परिचित नेपालको एक महत्वपूर्ण पर्यटकीय क्षेत्र पनि हो । जहाँ झन्डै २८ प्रकारका लालीगुराँसका प्रजाति पाइन्छन् । यो क्षेत्र लालीगुराँसलगायत वन, प्राकृतिक मनोरम दृश्य, जलाधार स्रोत, ऐतिहासिक, धार्मिक एंव सांस्कृतिक दृष्टिकोणले सम्पन्न रहेको पूर्वाञ्चलको महत्वपूर्ण क्षेत्रका रूपमा लिइन्छ ।
गुफापोखरीबाट विश्वकै अग्लो हिमाल सगरमाथा, तेस्रो अग्लो हिमाल कञ्चनजंघा र पाँचौँ अग्लो हिमाल मकालुलगायत दर्जनौँ हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । हिउँद महिनामा हिउँ खेल्ने र वसन्त ऋतुमा ढकमक्क लालीगुराँस फूलले यस क्षेत्रलाई स्वर्गजस्तै सुन्दर बनाउँछ ।
यो क्षेत्र एसियाकै एक उच्च पहाडी क्षेत्रमा रहेको महत्वपूर्ण घाँसे मैदानका रूपमा पनि परिचित छ । लालीगुराँस, दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु तथा पक्षी प्रजाति, बहुमूल्य औषधिजन्य वनस्पतिका साथै जैविक र भौगोलिक विविधताले
भरिपूर्ण छ ।
गुफापोखरी कसरी पुग्ने ?
काठमाडौंदेखि बन्दीपुरसम्म बसको सुविधा छ । त्यसपश्चात् दुई दिन पैदल यात्रा अथवा जिपबाट जान सकिन्छ भने मोटरबाइकमा धरान, धनकुटा, हिले, वसन्तपुर, चौकी हुँदै गुफापोखरी पुग्न सकिन्छ ।
टिएमजे (तिनजुरे, मिल्के र जलजले) पदयात्रा गरेर कसरी पुग्ने ?
पहिलो दिन : ४५ मिनेटको काठमाडौं–तुम्लिङटार हवाईजहाज यात्रापछि दुई घन्टा बस वा जिपयात्रापश्चात् मुडे पुगिन्छ । भौगोलिक हिसाबले सुन्दर मुडे बजार चियाबगानको अर्को नामले पनि चिनिन्छ । पहिलो दिनको वास मुडेमै बस्न सकिन्छ ।
दोस्रो दिन : बिहानको नास्ता गरेर केही हिँडेपछि कालोगाउँ बस्ती हुँदै घुरबिसे पुगिन्छ । यहाँबाट तेस्रो डाँडैडाँडा गुराँसको बगान छिचोल्दै रमणीय ठाउँ चौकी पुग्न सकिन्छ । चौकीमा वास बस्न पनि सकिन्छ ।
तेस्रो दिन : बिहान उठेर नास्ता गरेपछि डाँडैडाँडा मंगलबारे, सृमाने, लामपोखरी हुँदै गुफापोखरी पुगिन्छ ।
चौथो दिन : बिहानै भ्यु प्वाइन्टबाट मनोरम हिमालहरूको दृश्य अवलोकनपश्चात् जिपबाट तुम्लिङटार अथवा हिले फर्कन सकिन्छ ।