१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यु टावर । तस्बिर : संजित परियार/नयाँ पत्रिका
शान्ति तामाङ काठमाडाैं
२०७९ चैत २४ शुक्रबार ०७:३२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निर्माणाधीन काठमाडौं भ्यु टावरमा वैशाखदेखि पार्किङ खुल्दै 

मोटरसाइकल र चारपांग्रे साना गाडी मात्रै राख्न दिने, तीन सय सवारीसाधन अट्ने

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७९ चैत २४ शुक्रबार ०७:३२:००

काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा निर्माणाधीन अवस्थामा रहेको काठमाडौं भ्यु टावरको पार्किङ खुला गर्ने भएको छ । १ वैशाखदेखि उक्त टावरको पार्किङ खुला गर्ने योजनाका साथ महानगर अघि बढेको हो । एक सातापछि पार्किङ खोल्ने योजनाअनुसार काम भइरहे पनि पार्किङ क्षेत्रमा माथिल्लो तलाबाट माटो झर्ने समस्या रोकिएको छैन ।

‘भ्यु टावरको पार्किङ वैशाखमा खोल्ने प्लानिङअनुसार काम भइरहेको हो । तर, पार्किङका लागि खोल्न लागेको ठाउँमा माटो झर्ने समस्या छ । यो समस्या समाधान भए १ वैशाखदेखि सञ्चालनमा आउँछ,’ महानगरअन्तर्गत सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रमुख महेश काफ्लेले भने ।

२५ कात्तिक ०७२ मा तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनले भ्यु टावरको शिलान्यास गरेका थिए । सोही वर्ष ६ महिनाका लागि यहाँको बसपार्क खुलामञ्चमा सारिएको थियो । भ्यु टावर निर्माणको समय लम्बिँदै जाँदा तत्कालीन महानगर प्रमुख विद्यासुन्दर शाक्यले १६ वैशाख ०७८ बाट खुलामञ्चबाट पार्किङ हटाएका थिए । अहिलेसम्म पनि सार्वजनिक यातायातका साधनले सडकमै यात्रु चढाउने र ओराल्ने गरिरहेका छन् । 

 भ्यु टावरको प्राविधिक पक्षको अध्ययन हुँदै
२६ असार ०६८ को नगरपरिषद् बैठकले २३ रोपनी पाँच आना तीन दाम एक पैसामा पुरानो बसपार्कमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा टावर निर्माण गर्ने निर्णय गरेको थियो । सोही वर्ष चैतमा ठेक्का आह्वान भयो । महानगरपालिकाले २२ फागुन ०७१ मा कम्पनीसँग पिपिपी मोडलमा २९ तले बहुउद्देश्यीय टावर निर्माणको सम्झौता जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स कम्पनीसँग गर्‍यो ।

ठेकेदारसँग २९ तलाको सम्झौता गरे पनि सहरी विकास मन्त्रालयले १२ तलाभन्दा ठूलो भवन बनाउन नमिल्ने भनेपछि भदौ ०७२ मा महानगरले १२ तलाकै नक्सा पास गर्‍यो । डिजाइन र नक्सा भने अझै २९ तलाकै रहेको महानगरले जनाएको छ । गन्जागोल र विवादैविवादबीच निर्माण हुँदै गरेको भ्यु टावरलाई अब कसरी अगाडि बढाउनेबारे छिट्टै निर्णय हुने महानगरले जनाएको छ ।

महानगरका अनुसार पुल्चोक इन्जिनियरिङ क्याम्पसको टोलीले टावरको प्राविधिक पक्ष अध्ययन गरिरहेको छ । ‘कसरी काम भइरहेको छ ? गुणस्तर कस्तो छ ? कति तल्ला बनाउने, के–के थपघट गर्ने, कसरी अगाडि बढ्नेलगायत विषयमा प्राविधिक टोलीले दिएको प्रतिवेदनअनुसार अगाडि बढ्छौँ,’ काफ्लेले भने । टोलीको प्रतिवेदन वैशाख तेस्रो सातासम्म आइपुग्नेछ । 

शुल्कसहित पार्किङ सुविधा
महानगरले भ्यु टावरको पार्किङ खुलाउन लागे पनि बसपार्क भने खोलिनेछैन । महानगरका विभिन्न ठाउँबाट पार्किङ हटाउँदै गएपछि व्यापारी, सेवाग्राहीले पार्किङस्थलको माग गरिरहेका थिए । उक्त माग सम्बोधन गर्न भ्यु टावरको पार्किङ क्षेत्र खोल्न लागेको महानगरले जनाएको छ । उक्त पार्किङस्थलमा मोटरसाइकल र चारपांग्रे साना गाडीको मात्र पार्किङ गर्न सकिनेछ । भ्यु टावरको पार्किङ सशुल्क हुनेछ ।


सार्वजनिक–निजी साझेदारी (पिपिपी)का प्रमुख महेश काफ्ले भन्छन् ‘महानगरले सार्वजनिक स्थलका पार्किङ हटाउँदै गएपछि ‘कोर एरिया’को व्यापार नचल्ले अवस्थामा छ । ती ठाउँ चलायमान बनाउने गरी पार्किङस्थल व्यवस्था गर्न माग आउन थालेको छ । त्यसैले काठमाडाैं भ्यु टावरको पार्किङ खुला गर्न लागेका हौँ ।’ 

 

 

 

‘हामीले विभिन्न ठाउँका पार्किङ हटाइसकेका छौँ । हटाउने क्रममा पनि छौँ,’ पिपिपी प्रमुख काफ्लेले भने, ‘पार्किङ हटाउँदै गएपछि ‘कोर एरिया’को व्यापार नचल्ले अवस्थामा छ । ती ठाउँ चलायमान बनाउने गरी पार्किङस्थलको व्यवस्था गर्न माग आउन थालेको छ । त्यसैले भ्यु टावरको पार्किङ खुला गर्न लागेका हौँ ।’ उनका अनुसार निःशुल्क पार्किङ सम्भव नभएकाले सशुल्क पार्किङको व्यवस्था गर्न लागिएको हो ।

महानगरले बागबजार, दरबारमार्ग, कालीमाटी, कलंकी, कुलेश्वर, चाबहिल, बौद्ध, माछापोखरीलगायत ठाउँको पार्किङ हटाइसकेको छ । पार्किङकै कारण बागबजार क्षेत्रका व्यवसायी पटक–पटक आन्दोलित भएका थिए भने दरबारमार्गत्रका व्यवसायीले अझै पनि विरोधस्वरूप ब्यानर झुन्ड्याएका छन् । बागबजार क्षेत्रको पार्किङ पुरानो बसपार्कस्थित सिटी मार्केटको भुइँतलामा निःशुल्क व्यवस्था गरिएको छ । दरबारमार्गबाट आउनेका लागि विश्वज्योति हलको पार्किङ प्रयोग गर्न भनिएको छ, जुन पार्किङ सशुल्क हो । 

 पौने चार अर्बमा सम्झौता, आठ अर्ब खर्च भइसक्यो
महानगरका अनुसार टावर निर्माणको सम्झौता हुँदा तीन अर्ब ८५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । तर, अहिले उक्त रकममा वृद्धि भएर करिब आठ अर्ब पुगेको छ ।टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ, जसमा तीन सय सवारीसाधन अट्नेछन् ।

भुइँतलामा मोटरसाइकल पार्किङ हुनेछ भने पहिलो तलामा बसपार्कको काउन्टर, दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ । बैंक तथा वित्तीय कारोबार गर्ने स्थान, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय पनि हुनेछन् । टावर भूकम्प प्रतिरोधात्मक जापानी प्रविधिमा निर्माण भइरहेको छ ।