१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
प्रेम गौतम काठमाडाैं
अनिल यादव काठमाडाैं
२o८१ जेठ २ बुधबार o६:२६:oo
Read Time : > 6 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपनिर्वाचनमा दलहरूका यस्ता रणनीति

Read Time : > 6 मिनेट
प्रेम गौतम, काठमाडाैं
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:२६:oo

- सत्तासमीकरणको अंकगणितीय खेलका लागि उपनिर्वाचन परिणाम महत्वपूर्ण नभए पनि आगामी राजनीतिको ‘धारणा निर्माण’का लागि ठूलो आधार हुने भएकाले दलहरू सम्पूर्ण शक्तिका साथ चुनावी मैदानमा
- सत्तागठबन्धनका पाँच दल साझा उम्मेदवारको पक्षमा 

आगामी १० वैशाखमा तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचन आफ्नो पक्षमा पार्न दलहरूले सम्पूर्ण शक्ति केन्द्रित गरेका छन् । उम्मेदवार चयनदेखि परिचालनसम्मका रणनीति बनाएर उनीहरू चुनावी मैदानमा होमिएका छन् । 

सत्तागठबन्धनका पाँच दलले तनहुँ र चितवनमा कांग्रेस तथा बारामा जसपाका उम्मेदवारलाई अघि सारेका छन् । कांग्रेसले आफ्नो भागमा परेका क्षेत्रमा विरासत जोगाउने गरी रणनीति बनाएर काम थालेको छ । एमालेले त्रिपक्षीय प्रतिस्पर्धामा लाभ उठाउने रणनीतिसहित तीनवटै क्षेत्रमा केन्द्रीय पदाधिकारीहरूलाई खटाउँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तनहुँ र चितवनमा सहजै जित हासिल गर्ने तथा बारामा कडा प्रतिस्पर्धाबीच नतिजा आफ्नो पक्षमा पार्ने आन्तरिक विश्लेषण छ । जसपाको सत्तागठबन्धनका बलमा चुनाव जित्ने अपेक्षा छ ।

कांग्रेसले दुवै क्षेत्रमा जिल्लाबाट सिफारिस नाममध्येबाट भूगोलकै उम्मेदवारलाई टिकट दिएको छ । उम्मेदवारी मनोनयनको अघिल्लो दिन आइतबार विगतको निर्वाचनमा बागी उम्मेदवारी दिने र असहयोग गर्ने नेता–कार्यकर्ताको कारबाही फुकुवाको निर्णय लियो । गठबन्धनको भोट जोगाउन जिल्ला, पालिका र वडास्तरमा संयन्त्र बनाइएका छन् ।

कांग्रेसका एक पदाधिकारीले त्रिपक्षीय प्रतिस्पर्धामा तनहुँमा एमालेलाई फाइदा पुग्न सक्ने र चितवन ‘रेडजोन’मै रहेको बताए । उनका अनुसार विपक्षी उम्मेदवारको गतिविधि ‘नोटिस’मा राखेर थप रणनीति बनाउन केन्द्रीय नेताहरूलाई नै सक्रिय बनाइएको छ । युवा मत आकर्षित गर्न सक्ने आधारमा युवा महामन्त्रीद्वय विश्वप्रकाश शर्मालाई चितवन २ र गगन थापालाई तनहुँ १ को कमान्डर तोकेको छ । ‘उम्मेदवारी मनोनयनसम्ममा तनहुँमा कांग्रेसको अवस्था बिग्रिसकेको छैन, चितवनमा यसअघि स्वतन्त्रको क्रेज चुनौती छ । विपक्षी उम्मेदवारको रणनीतिलाई नजर राखेर थप योजनामा अघि बढ्ने रणनीतिमा छौँ,’ ती नेताले भने । 

केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसले केन्द्रीय पदाधिकारी र नेतालाई परिचालन गरेर नतिजा निकाल्न सक्रिय रहेको बताए । उनले दुवै क्षेत्रमा गठबन्धनको मत, कांग्रेसको असन्तुष्टि व्यवस्थापन भएको र अघिल्लो निर्वाचनको तुलनामा वैकल्पिक भनिएका पार्टीप्रति असन्तुष्टि बढ्दै गएको अवस्था रहेकाले आफ्ना उम्मेदवारको जितको आधार बनेको दाबी गरे । 

उनले आवश्यकताअनुसार जिल्ला र केन्द्रबाट रणनीति तय गरिने बताए । ‘पार्टीमा असन्तुष्टि छैन । गठबन्धनको ‘भोट ट्रान्सफर’ गराउन जिल्ला, पालिका र वडास्तरमा संयन्त्र बनाइएका छन् । अघिल्लो निर्वाचनमा नयाँ पार्टीमा देखिएको ‘क्रेज’ असन्तुष्टिमा परिणत भएको छ । आवश्यकताअनुसार थप रणनीति बनाउँछौँ,’ उनले नयाँ पत्रिकासँग भने । 

कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका स्वर्णिम वाग्लेले कांग्रेसका परम्परागत मत काट्ने सम्भावना कांग्रेस नेताहरूले देखेका छन् । चितवनमा कांग्रेसकै असन्तुष्ट समूहको भूमिका र स्वतन्त्र पार्टीको क्रेजलाई चुनौती देखेको छ । 

वाग्लेले कांग्रेसको मत काटेको अवस्थामा एमालेलाई फाइदा पुग्न सक्ने कांग्रेसको आन्तरिक आकलन छ । त्यहाँ वैकल्पिक धारको विवेकशील साझा पार्टीको पनि वाग्लेलाई समर्थन छ । त्यस्तै, कांग्रेसका पूर्वजिल्ला सचिव विश्वनाथ बास्तोलाले पनि वाग्लेलाई मत मागेका छन् ।

वाग्लेले कांग्रेस त्याग्नुअघि निरन्तर महामन्त्री थापाको निकट भएर काम गरेका थिए । यस आधारमा महामन्त्री थापालाई नै तनहुँमा जित निकाल्ने जिम्मेवारी दिइएको छ । चितवनमा स्थानीय निर्वाचनमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको पक्षमा मत मागेका छन् । चितवनमा यसअघि स्वतन्त्रको क्रेज चिर्न सामाजिक सञ्जालको परिचालनलाई पनि प्राथमिकतामा राखेको छ । साथै वैकल्पिक उम्मेदवारकोे र विपक्षी उम्मेदवारको रणनीतिलाई नजर राख्न अनुगमन संयन्त्रसमेत बनाइएका छन् । 

आइतबार कारबाही फिर्ता गरेर यसअघिका निर्वाचनमा भएको असन्तुष्टि व्यवस्थापनको रणनीति लिएको छ । यी सबै आधारमा कांग्रेसले जनमानसमा लोकप्रिय छवि रहेको र युवा मतलाई आकर्षित गर्न सक्ने आधारमा महामन्त्रीद्वयलाई कमान्डर तोकेको हो । महामन्त्रीद्वयले उम्मेदवारी दर्ताको नेतृत्व गरे भने ‘टुरिस्ट उम्मेदवार’लाई मत नदिन आग्रह गरेका छन् । 

कांग्रेसले निर्णायक मानिएको ‘युवा मत’ आकर्षित गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । ‘सबै मूल्यांकन गरेर फ्रेस युवा क्रेज भएका र जनतालाई बुझाउन सक्ने आधारमा महामन्त्रीद्वयलाई कमान्डर बनाएर पठाइएको हो,’ एक पदाधिकारीले नयाँ पत्रिकासँग भने । 

कांग्रेसले समानान्तर रूपमा बारा २ मा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई मत दिन पार्टीपंक्तिलाई सक्रिय बनाएको छ । माओवादी र एकीकृत समाजवादीले उपनिर्वाचनमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवारलाई सघाउने निर्णय गरेका छन् । चितवन २ र तनहुँ १ मा कांग्रेसका उम्मेदवार र बारा २ मा जसपाका उम्मेदवारलाई सघाउने निर्णय भएको छ । 

तनहुँमा कांग्रेसका गोविन्द भट्टराई, चितवनमा कांग्रेसकै जितनारायण श्रेष्ठ र बारामा जसपाका उपेन्द्र यादव गठबन्धनका साझा उम्मेदवार छन् । दुवै दलले गठबन्धनका साझा उम्मेदवारलाई समर्थन जनाउँदै मत दिन पार्टीपंक्तिलाई निर्देशन दिने निर्णय गरेका छन् । साथै गठबन्धनका शीर्ष नेताहरू निर्वाचन क्षेत्रमा पुगेर मत माग्ने तयारी गठबन्धनको छ ।

माओवादी नेता देव गुरुङले माओवादीले गठबन्धनका तर्फबाट उम्मेदवारलाई जिताउन भूमिका खेल्ने बताए । उनले गठबन्धन बलियो रहेकाले भोट ट्रान्सफरमा कुनै समस्या नहुने बताए । ‘गठबन्धनका घटकका तर्फबाट साझा उम्मेदवार रहेका स्थानमा हामी निर्वाचनमा सक्रिय रहेर सहयोग गर्छौँ । हाम्रा उम्मेदवारलाई जिताउन हामीले खेल्नुपर्ने सबै भूमिका खेल्नेछौँ । गठबन्धनबाट भोट ट्रान्सफर हुन्छ । हाम्रा उम्मेदवारले जित्ने आधार बलियो छ,’ उनले भने ।

एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी जिल्लादेखि वडासम्म रहेका गठबन्धनका संयन्त्र परिचालित हुने र आवश्यकताअनुसार केन्द्रीय नेताहरूलाई परिचालन गरिने बताउँछन् । उनी सबै आधारमा गठबन्धनको उम्मेदवार निर्वाचित हुने आधार बनेको दाबी गर्छन् । ‘स्थानीयस्तरमा रहेका संयन्त्रले काम गर्छन् । केन्द्रीय नेताहरू जसको जहाँ आवश्यकता पर्छ त्यहाँ खटिन तयार छौँ । तनहुँमा कांग्रेसको बलियो आधार छ । चितवनमा पपुलर र योङ क्यान्डिडेट उठाएका छौँ । चितवनमा स्वतन्त्र पार्टीका उम्मेदवारको उम्मेदवारीकै विषयमा प्रश्न छ । बारामा लोसपासहित गठबन्धन एक ठाउँमा छ । हेभिवेट उम्मेदवार हुनुहुन्छ । यसमाथि गठबन्धनको साथ थपिँदा हाम्रा उम्मेदवारको जित सुनिश्चित छ,’ उनले भने ।

गठबन्धन पाँच दल साझा उम्मेदवारको पक्षमा 
सत्तागठबन्धन साझा उम्मेदवारलाई जिताउने रणनीतिमा छ । शीर्ष नेताले गठबन्धनका उम्मेदवारलाई सघाउन संयुक्त आह्वान नै गरेका छन् । मंगलबार संयुक्त विज्ञप्ति जारी गरी शीर्ष नेताले तीनवटै निर्वाचन क्षेत्रमा आफ्ना आधिकारिक उम्मेदवारलाई सघाउन आग्रह गरेका हुन् । शीर्ष नेताहरूले निर्वाचनलाई परिणाममुखी बनाउन नेता–कार्यकर्तालाई सक्रिय रहन र गठबन्धन दलका तीनै तहका भ्रातृ तथा शुभेच्छुक संस्थालाई परिचालन गर्न निर्देशन दिएका छन् ।

‘उपनिर्वाचन हुने प्रतिनिधिसभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ–आफ्नो तहबाट सम्पूर्ण पार्टीपंक्तिलाई व्यापक परिचालन गर्नु–गराउनु हुन हार्दिक आह्वान गर्दछौँ,’ विज्ञप्तिमा छ । 

१० वैशाखमा हुने उपनिर्वाचनका लागि गठबन्धन दलका तर्फबाट तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराई, चितवन २ मा कांग्रेसबाट जितनारायण श्रेष्ठ र बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् । विज्ञप्तिमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् । 

सरकार विस्तारमा असन्तुष्टि जनाउँदै जनमत पार्टी सरकारबाट बाहिरिएपछि सत्तागठबन्धनमा नौ दल छन् । तर, विज्ञप्तिमा सरकारमै रहेका नागरिक उन्मुक्ति पार्टी र नेसपा र सरकारलाई समर्थन गरेका जनमोर्चा र प्रभु साह नेतृत्वको आम जनता पार्टीले भने हस्ताक्षर गरेका छैनन् । 

केन्द्रीय पदाधिकारी परिचालन गर्ने एमाले रणनीति

एमालेले तीन क्षेत्रमा हुने उपनिर्वाचनमा केन्द्रीय पदाधिकारीलाई खटाउने भएको छ । तीनवटै क्षेत्रको चुनावी सभालाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने तयारी रहेको छ ।

‘कम्तीमा एउटा क्षेत्रको दुई–तीनवटा चुनावी सभालाई अध्यक्षले सम्बोधन गर्ने गरी तयारी गरेका छौँ,’ सचिव रघुवीर महासेठले नयाँ पत्रिकासँग भने, ‘पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यहरू, जिल्ला कमिटी, पालिका र वडा कमिटी सबै फिल्डमा खटिनेछौँ,’ उनले भने । 

चितवन २ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव गोकर्ण विष्टलगायत केन्द्रीय नेता खटिनेछन् । यो क्षेत्रमा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार छन् । तनहुँ १ मा उपाध्यक्ष युवराज ज्ञवाली र सचिव पद्मा अर्याललगायत केन्द्रीय नेता खटिने भएका छन् । यो क्षेत्रमा एमालेका सर्वेन्द्र खनाल उम्मेदवार छन् । यस्तै, बारा २ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सचिव रघुवीर महासेठलगायत केन्द्रीय नेता खटिनेछन् । यो क्षेत्रमा एमालेका पुरुषोत्तम पौडेल उम्मेदवार छन् ।

महासेठका अनुसार उपनिर्वाचन हुने जिल्ला र क्षेत्रमा मिसन ग्रासरुटमा खटिएका नेताहरूलाई सोही क्षेत्रमा परिचालन गर्ने एमालेको नीति छ । यसबाहेक निर्वाचन हुने जिल्ला र क्षेत्रका नेतालाई सम्बन्धित क्षेत्रमा फर्किन एमालेले निर्देशन दिइसकेको छ । 

एमालेले तीनवटै क्षेत्रमा जित्ने दाबी गरेको छ । एमालेप्रति जनताको विश्वास रहेको र गठबन्धनको कुनै अर्थ नभएको महासेठले दाबी गरे । एमालेको नीति, ओली सरकारले गरेका काम र लोकप्रिय उम्मेदवारका कारण एमालेको जित निश्चित रहेको उनले दाबी गरे । ‘हामीले लोकप्रिय उम्मेदवार उठाएका छौँ । तीनवटै क्षेत्रमा स्थानीय बासिन्दा उम्मेदवार हुनुहुन्छ । पार्टीको नीति र सरकारमा भएको वेला गरेको कामका आधारमा हामी सबै क्षेत्र जित्छौँ,’ उनले भने । 

रास्वपा ‘क्लिनस्विप’ रणनीतिमा

उपनिर्वाचनमा तीनै क्षेत्रमा जित निकाल्ने दाबीसहित राष्ट्रिय स्वतन्त्र पार्टीले ‘क्लिनस्विप’ रणनीति तयार पारेको छ । सोही कारण रास्वपा सभापति रवि लामिछानेले सार्वजनिक रूपमै भनिरहेका छन्, ‘हामी क्लिनस्विप गर्छौँ । एकको बदला तीन सांसद भएर संसद् छिर्छौँ ।’

चितवन २ मा सभापति लामिछाने, तनहुँ १ मा अर्थशास्त्री स्वर्णिम वाग्ले र बारा २ मा पूर्वडिआइजी रमेश खरेललाई उम्मेदवार बनाएको रास्वपाको तीनमध्ये दुई क्षेत्र सहजै जित्ने र अर्को एक क्षेत्रमा कडा प्रतिस्पर्धा हुने आन्तरिक विश्लेषण छ । मंसिरको मनोविज्ञानका आधारमा मत बटुल्ने र पुराना दलमाथि आक्रामक रवैया अपनाएर उपनिर्वाचनमा जित निकाल्ने रास्वपाको रणनीति छ । 

रास्वपाले चितवन २ सबैभन्दा ढुक्कको क्षेत्र मानेको छ । रास्वपाका महामन्त्री मुकुल ढकालका अनुसार सभापति लामिछानेले यसअघि जुन भारी मतान्तरले जित हासिल गरेका थिए, त्यसमा कमी नहुनु यसपालि पनि जितको बलियो आधार हो । ‘चितवन २ मा हाम्रो मत घटेको छैन, झन् बढेको छ । त्यसैले सहजै जित्छौँ,’ उनले भने । 

लामिछानेले यसअघि यहाँ नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार एक सय ६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार दुई सय ६१ मत प्राप्त गर्दा सत्तागठबन्धनका साझा उम्मेदवार रहेका श्रेष्ठले १५ हजार ९९ मत ल्याए ।

त्यस्तै, रास्वपाले तनहुँ १ मा यसअघि आएको समानुपातिक मत र उम्मेदवार छनोटलाई जित्ने आधार मानेको छ । ‘तनहुँमा हाम्रो समानुपातिक मत राम्रो आएको छ,’ महामन्त्री ढकालले भने, ‘त्यतिवेला पहिलो चुनाव भएकाले हाम्रो घन्टी चुनाव चिह्नबारे राम्रोसँग प्रचारप्रसार गर्न सकेका थिएनौँ । त्यसमाथि त्यहाँको हाम्रो उम्मेदवारबारे धेरै अनभिज्ञ थिए । अहिले त कांग्रेसबाटै अर्थशास्त्री स्वर्णिम वाग्ले उम्मेदवार बन्नुभएको छ ।’ 

कांग्रेसको पकड क्षेत्र मानिएको तनहुँ १ मा वाग्ले पूर्वकांग्रेसी भएका कारण धेरै मत आफूतिर ‘ट्रान्सफर’ हुने रास्वपाको आकलन छ । तनहुँ १ मा यसअघि रास्वपा १२ हजार सात सय ७३ समानुपातिक मत ल्याएर चौथो स्थानमा थियो । प्रत्यक्षमा भने रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत मात्रै ल्याएका थिए ।

बारा २ मा भने रास्वपाको हिसाबकिताब प्रस्ट छैन । धेरैजना प्रतिस्पर्धी हुनु र रास्वपाका उम्मेदवार खरेल प्रहरी सेवामा रहँदा त्यहाँका जनतामाझ पारेको प्रभाव नै मुख्य जित्ने आधार बनेको रास्वपाका नेताहरूको दाबी छ । बारा २ मा ३६ जनाको उम्मेदवारी परेका कारण त्यहाँ प्रतिस्पर्धीबीच नै भोट बाँडिने र आफ्नो उम्मेदवार जित्न सक्ने रास्वपाको बुझाइ छ । 

बारा २ मा हाम्रो उम्मेदवार नभएका कारण यसअघिको चुनावमा समानुपातिक मत आएन,’ महामन्त्री ढकाल भन्छन्, ‘त्यहाँ धेरै प्रतिस्पर्धी भएकाले भोट बाँडिएर हामीले जित्न सक्छौँ । अर्को कुरा, रमेश खरेलले प्रहरी सेवामा काम गर्दा पर्सा, बारा क्षेत्रमा उहाँको पिपुल टु पिपुल लेभल कनेक्सन छ । उहाँले त्यहाँ बनाएको छविले चुनावमा निर्णायक भूमिका खेल्ने हाम्रो आकलन छ ।’

 

 

ad
ad