१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
टेकराज थामी काठमाडाैं
२०७९ चैत २२ बुधबार ०६:०९:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बदलियो विमानस्थलबाट हुने सुन तस्करीको शैली

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ चैत २२ बुधबार ०६:०९:००

- ‘स्प्रे’ र तरल बनाई हुन थाल्यो सुन तस्करी
-  ५७ महिनामा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र तस्करीको डेढ क्विन्टल सुन बरामद
-  हालको बजार भाउअनुसार बरामद सुनको मूल्य एक अर्ब ४४ करोड ६७ लाख ७२ हजार

कुवेतबाट जजिरा एयरमा काठमाडौं आएका भारतीय नागरिक ४१ वर्षीय फैजन अनवेरले गन्जीमा स्प्रे गरेर ल्याएको सुन

घटना १ : कुवेतबाट जजिरा एयरको जहाज हुँदै काठमाडौं आएका भारतीय नागरिक ४१ वर्षीय फैजन अनवेर १७ फागुनको बिहान २:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिए । लगेजसहित आएका उनी विमानस्थलको आगमन कक्षबाट सरासर बाहिरिए । उनी नीलो पाइन्टमा थिए, तर उनको पहिरन अस्वाभाविक देखिन्थ्यो । शंका लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो । कुनै गल्ती नगरेको भन्दै उनी प्रहरीसँग कट्किए । शरीरबाट कपडा पालैपालो उतारियो । पाइन्ट र उनले लगाएको गन्जीको तौल अस्वाभाविक देखियो । प्रहरीले पाइन्टको भित्री भाग उल्टायो, तर केही भेटिएन । त्यसवेलासम्म फैजन गलेका थिएनन् । जब प्रहरीले पाइन्टको सिलाइ उधार्न थाल्यो, बल्ल उनी गल्न थाले । किनकि पाइन्टभित्र सुनले ‘स्प्रे’ गरिएको यस्तो पत्र थियो, जुन उनले कुवेतदेखि लगाएर आएका थिए । प्रहरीले उनको गन्जीको सिलाइ पनि उधार्‍यो । त्यसभित्र पनि सुनले ‘स्प्रे’ गरिएको अर्को पत्र भेटियो । प्रहरीका अनुसार उनको पाइन्ट र गन्जीभित्र मात्रै ‘स्प्रे’ गरिएका एक किलो दुई सय ग्राम सुन फेला परेको थियो । 

घटना २ : कपडाभित्र ‘स्प्रे’ गरी सुन तस्कर गर्ने भारतीय नागरिक ३९ वर्षीय जयकुमार जगदीश पनि हुन् । उनलाई गत २४ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक उडानतर्फ पक्राउ गरिएको थियो । उनी बुद्ध एयरको उडानबाट नेपालगन्ज जाँदै थिए । विमानस्थलस्थित ‘एक्स रे मेसिन’मा उनको ‘ह्यान्ड ब्यागेज’ हालियो । ब्यागेजभित्र सिक्रीजस्तो शंकास्पद वस्तु देखियो । प्रहरीले ब्यागेज नियन्त्रणमा लियो । र, एक–एक गर्दै ब्यागेजभित्रका सामग्री जाँच गर्‍यो । नभन्दै कपडाभित्र सुनको सिक्री फेला पर्‍यो । खोतल्दै जाँदा प्रहरीको हातमा एउटा ‘अन्डरवेयर’ फेला पर्‍यो, जसको तौल स्वाभाविक थिएन । प्रहरीले ‘अन्डवेयर’को सिलाइ उधार्न थाल्यो । नभन्दै ‘अन्डरवेयर’को ‘फल्स बटम’भित्र सुनले ‘स्प्रे’ गरिएको अर्को पत्र भेटियो । प्रहरीका अनुसार उनले ‘अन्डरवेयर’भित्र मात्रै पाँच सय १० ग्राम सुन ‘स्प्रे’ गरी राखेका थिए । जसलाई उनी भारत लैजाँदै थिए । 

घटना ३ : गत ८ कात्तिकमा पनि ‘स्प्रे’ गरिएको ४२९.८२ ग्राम सुनसहित भारतीय नागरिक ३९ वर्षीय मोहम्मद कसिम पक्राउ परे । उनी नेपाल एयरलाइन्सको जहाज हुँदै दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका थिए । उनले कार्टुन बक्सको भित्री तहमा ‘स्प्रे’ गरी सुन ल्याएका थिए । उनलाई प्रहरीले विमानस्थलबाट बाहिरिँदै गर्दा पक्राउ गरेको थियो । शंकास्पद उनलाई ‘एक्स रे मेसिन’मा राखेर चेकजाँच गर्दा मलद्वारमा समेत सुनका दुईवटा ‘क्याप्सुल’ भेटियो । क्याप्सुल गाल्दा २५०.८५ ग्राम सुन फेला परेको थियो । जसलाई उनी भारत लैजाने तयारीमा थिए । 

माथिका तीन घटनाले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी नरोकिएको, तर शैली बदलिएको देखाउँछ । ३८ क्विन्टल सुन तस्कर प्रकरणले पाँच वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र होइन, मुलुक नै तरंगित बनेको थियो । घटनामा जोडिएका ४५ भन्दा धेरै अभियुक्त पक्राउ परे, तर तस्करी रोकिएको छैन । शैली भने बदलिएका छन् । जसमा अधिकांश भारतीय नागरिक प्रयोग भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकारीहरू तस्करीकै शैली बदलिएको बताउँछन् । कार्यालयका निमित्त प्रमुख एसएसपी लालमणि आचार्यले पछिल्ला दिन तस्करीको शैली बदलिएको घटना सतहमा आएको बताए । उनले भने, ‘विमानस्थलबाट सुन विभिन्न तौरतरिकाबाट तस्कर हुने गरेको विभिन्न घटनाले पुष्टि गर्छ । विशेषगरी पछिल्लो समय ‘स्प्रे’ गरिएका सुन तस्करी हुने गरेको देखिएको छ । केही अभियुक्त पक्राउ पनि परेका छन् । उनीहरूले पाइन्ट, अन्डरवेयर, लगाएका वस्त्रमा ‘स्प्रे’ गरेर सुन तस्करी गर्ने गरेको फेला परेको छ ।’ 

अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत दीपेन्द्र चौरसिया विमानस्थलबाट हुने सुन तस्करीको शैलीमा परिवर्तन भएको बताउँछन् । ‘विमानस्थलबाट हुने सुन तस्करीको शैली बदलिएका छन् । विगतमा बिस्कुट आकारमै सुन आउँथे । अहिले तरल तथा ‘स्प्रे’ गरिएका सुन आउन थालेका छन् । विमानस्थलस्थित प्रहरी र भन्सार कार्यालयका टोलीले यस्ता घटनामा संलग्न अभियुक्त पक्राउ गरेको छ । घटना विश्लेषण गर्दा तस्करीको शैली बदलिएको देखिन्छ,’ उनले भने । 

भन्सार कार्यालयका अधिकृत चौरसियाले विमानस्थलबाट हुने सुन बरामदको घटना बढेको बताए । उनले भने, ‘विमानस्थलबाट बरामद हुने सुनको परिमाण हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले धेरै देखिन्छ । तथ्यांक विश्लेषण गर्दा विमानस्थलबाट हुने सुन तस्करी कुनै न कुनै रूपमा भइरहेको देखिन्छ । नियन्त्रण गर्न प्रहरी र भन्सार कार्यालय सक्रिय रहनुपर्छ ।’

अर्ध ठोसमा पनि हुन्छ तस्करी 
गत ८ पुसमा फ्लाई दुबईको उडानबाट अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका २७ वर्षीय सुडानी नागरिक मोहम्मद अहमद डाफल्लाको शरीर खनतलासी गर्दा ज्याकेटभित्र अर्ध ठोस अवस्थाको पहेँलो पदार्थ भेटियो । परीक्षणमा उक्त अर्ध ठोस पदार्थ सुन रहेको खुल्यो र तौल १९ किलो भेटिएको थियो । त्यस्तै, गत १९ माघमा फ्लाई दुबईकै उडानबाट अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका क्यालेनियन नागरिक ३५ वर्षीय मोहम्मद कमल महगोबको शरीर जाँच गर्दा उनको पेटीभित्र अर्ध ठोस अवस्थाको आठ किलो १७८.८० ग्राम सुन फेला पर्‍यो । भन्सार कार्यालयका अनुसार पक्राउ परेका डाफल्ला र महगोब एउटै गिरोहका सदस्य हुन् । उनीहरूले बरामद सुन स्थलमार्ग हुँदै भारत लैजाने तयारी गर्दै थिए ।  

अन्डरवेयरमा स्प्रे गरेर ल्याएको सुन

विमानस्थलबाट तस्करी दर बढ्यो, समग्रमा सुन बरामद दर घट्दो 
काठमाडौं उपत्यकाभित्रबाट गत ५७ महिनामा भन्सार कार्यालय र प्रहरीले साढे एक क्विन्टल (१५९.२६ किलो) सुन बरामद गरेको छ । जसमध्ये ८५ प्रतिशत सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएका छन् । हालको बजार भाउअनुसार बरामद सुनको मूल्य एक अर्ब ४४ करोड ६७ लाख ७२ हजार पाँच सय ७० रुपैयाँ पर्छ । 

तथ्यांकअनुसार तस्करीको दर विगत वर्षको तुलनामा पछिल्लो वर्ष बढेको छ । विमानस्थल भन्सार कार्यालयबाट आर्थिक वर्ष ०७८/७९ मा विमानस्थलबाट २० किलो ३२४.७४ ग्राम सुन बरामद भएको थियो । चालू आवको नौ महिनामै विमानस्थलबाट ४० किलो ९४१.४२ ग्राम सुन बरामद भएको छ । यो दर अघिल्लो आर्थिक वर्षको तुलनामा १०१.४३ प्रतिशतले धेरै हो । जसले विमानस्थलबाट हुने सुन तस्करी नरोकिएको बरु स्वरूप बदलेर शतप्रतिशत बढेको देखाउँछ । 

अर्कोतर्फ नेपाल प्रहरीको तथ्यांकले बरामद सुनको दर घट्दै गएको देखाउँछ । प्रहरीले गत आर्थिक वर्षमा मुलुकभरबाट ३७ किलो ४५७ ग्राम सुन बरामद गरेको थियो । चालू आवको माघ मासान्तसम्म मुलुकभरबाट नौ किलो ४७८ ग्राम मात्रै सुन बरामद गरेको छ । त्यस्तै, आव ०७७/७८ मा मुलुभरबाट ३६ किलो ३३४ ग्राम र आव ०७६/७७ मा ६० किलो ८१५ ग्राम सुन बरामद गरेको थियो । जब कि प्रहरीले मुलुकभरबाट आव ०७५/७६ मा दुई सय १३ किलो ८९७ ग्राम सुन बरामद गरेको थियो ।