राष्ट्रिय सभा सदस्य मदनकुमारी साह गरिमाले तिलगंगा आँखा अस्पताललाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् ।
मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग गर्नुपर्ने आवश्यक्ता औँल्याइन् । इसा अवार्डबाट सम्मानित तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतप्रति बधाई ज्ञापन गर्दै उनले विश्वमा आफ्नो योेग्यता र सेवाबाट नेपाललाई चिनाएकोमा सबै नेपालीका लागि गर्वको विषय भएको स्पष्ट पारिन् ।
‘बहराइन सरकारको प्रतिष्ठित इसा अवार्डबाट सम्मानित हुनुभएको डा. सन्दुक रुइतप्रति हार्दिक बधाई ज्ञापन गर्दछु । विश्वमानचित्रमा नेपाललाई योग्यता र सेवाभावबाट चिनाउनुभएकोमा डा. रुइतमाथि हामी गर्व गर्दछौँ । यस अनुकरणीय कार्यका लागि डा. रुइतप्रति आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु । आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग र तिलगंगा आँखा अस्पताललाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउन आर्थिक वर्ष ०८०–८१ मा समावेश गर्न सरकारसँग जोडदार माग गर्दछु,’ उनले भनिन् ।