१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format o८:o९:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

स्वार्थ बाझिने समिति विघटन गर्न माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:o९:oo

दमकका मेयर निजीका सञ्चालक र सरकारी अस्पतालका अध्यक्ष 

स्वार्थको द्वन्द्व बाझिने गरी दमक नगरपालिकाका मेयर रामकुमार थापा दमक अस्पतालको अध्यक्ष बनेपछि दलहरूले आपत्ति जनाएका छन् । सत्तागठबन्धनका दलहरूले निजीमा लगानी गरेका थापा सरकारी दमक अस्पतालको अध्यक्ष बनेपछि स्वार्थको द्वन्द्व देखिने निष्कर्ष निकालेका हुन् । 

नयाँ पत्रिका दैनिकले शनिबारको अंकमा ‘निजी अस्पताल सञ्चालक दमकका मेयर सरकारी अस्पतालका पनि अध्यक्ष’ शीर्षकमा समाचार प्रकाशित गरेपछि सत्तागठबन्धनका दलले सोमबार पत्रकार सम्मेलन गर्दै मेयर थापाको अध्यक्षतामा रहेको दमक अस्पतालको व्यवस्थापन गर्ने स्वास्थ्य संस्था व्यवस्थापन समिति विगठन गर्न माग गरेका हुन् । 

दमक नगरप्रमुख थापा दमक– ७ मा सञ्चालित ओम इन्टरनेसनल मेची हस्पिटल एन्ड रिसर्च प्रालिका सञ्चालकसमेत हुन् । उनलाई ७ चैतको कार्यपालिका बैठकले दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालको अध्यक्ष बनाएको थियो । ‘एउटा निजी अस्पतालको सञ्चालक सरकारी अस्पतालको अध्यक्ष हुँदा शंका उब्जिएको छ । यो नियोजित हो,’ नेकपा माओवादी केन्द्रका दमक इन्चार्ज बेदु गौतमले भने, ‘दमक अस्पताल व्यवस्थापन समिति विगठन हुनुपर्दछ । विज्ञसहितको अर्को समिति गठन गर्न हामी माग गर्छौँ ।’ दमक अस्पतालको अवस्था भद्रगोल हुँदा पनि व्यवस्थापनमा चासो नदेखाउने मेयर थापाले अस्पतालको अध्यक्ष बन्न भने मरिहत्ते गरेको उनको आरोप छ । ‘दमक अस्पतालमा जनशक्ति छैन । मेसिनहरू नहुँदा नागरिकले सास्ती व्यहोर्नुपरेको छ,’ उनले भने, ‘बिमामा पाइने औषधी अस्पतालको फार्मेसीमा छैन ।’ 

१५ शय्याको दमक अस्पतालले अहिले पनि जनशक्ति अभावमा सबै सुविधा दिन सकेको छैन । दमक अस्पतालमा झापाका माई पश्चिम क्षेत्रका शिवशताक्षी, कमल, गौरादहलगायत क्षेत्रका नागरिक उपचारका लागि आउने गरेका छन् । दमक अस्पताल दिनेमध्येको प्रसूति सेवा नगरप्रमुखको लगानी रहेको २५ बेडको ओम मेची हस्पिटलले दिँदै आएको छ । दमक अस्पतालमा जनशक्ति अभावमा प्रसूतिका लागि आउने मासिक १५० लाई मात्रै सुविधा दिँदै आएको छ । दमक अस्पतालमा आउने आधाभन्दा बढी बिरामीलाई अस्पतालले नगरप्रमुख थापाको लगानी रहेको ओम मेची अस्पतालमा रिफर गर्दै आएको छ । 

दमक नगरपालिकाले स्वार्थको द्वन्द्व हुने गरी गरेको निर्णय सच्याइनुपर्ने नेपाली कांग्रेस दमकका सभापति प्रकाश प्रसाईंले बताए । ‘निजी अस्पतालको सञ्चालक सरकारी अस्पतालको अध्यक्ष बन्ने, एन्जिओ अस्पताको अध्यक्ष बन्ने कुरा स्वार्थको द्वन्द्वको नमुना हो । यो कार्यपालिकाको गलत निर्णय हो । यो निर्णय सच्याइनुपर्छ,’ प्रसाईंले भने, ‘एमालेको उक्सावटमा नगर प्रमुख आफैँ अध्यक्ष बन्नु हास्यास्पद कुरा हो । नगर प्रमुख त दमकका सबै संघ–संस्थाको संरक्षक हो । दमक अस्पतालको अध्यक्ष भएर यहाँको हैसियत कहाँ पुग्यो ?’

नेकपा एकीकृत समाजवादीका दमक अध्यक्ष महेश घिमिरेले नगरप्रमुख थापा नाफा कमाउने उद्देश्यले सरकारी अस्पतालको अध्यक्ष बनेको आरोप लगाए । ‘उहाँको निजी अस्पतालमा लगानी भएपछि पक्कै नाफाको आशा त गरेकै हुन्छ । उहाँले अब सरकारी अस्पताललाई राम्रो बनाएर आफ्लो लगानीको अस्पताल ढुवाउनुहुन्छ ?,’ उनले भने । 

पत्रकार सम्मेलनमा नगरउपप्रमुख रेगिना भट्टराईले बहुमतका आधारमा नगरप्रमुख र एमालेबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यले विभिन्न समिति बनाएको बताइन् । उनले कांग्रेसबाट प्रतिनिधित्व गर्ने दलले कार्यपालिका बैठकको निर्णयमा फरक मत राखेको जानकारी दिइन् । नगरप्रमुख थापाले भने निजीमा लगानी गरेको स्वीकार गर्दै आएका छन् । यद्यपि उनले आफूले अस्पतालबाट जनतालाई सेवा दिने प्रतिक्रिया दिँदै आएका छन् ।