
जुम्लाका जेष्ठ नागरिकले आफूहरूको संघको भवनमा दुई महिनादेखि खानेपानीको समस्या रहेको गुनासो गरेका छन्। पत्रकार महासंघ जुम्लाको बिहीबारको कार्यक्रममा जेष्ठ नागरिक संघको भवनमा दुई महिनादेखि खानेपानीको समस्या रहेको संघका कार्यबाहक अध्यक्ष तुलराम न्यौपानेले बताए।
‘यो भवनमा दैनिक ६०-७० जना जेष्ठ नागरिक आउँछन्। तर, खानेपानी पाउँदैनन्। खानेपानी जडान भएको बेलामा पनि नियमित आउँदैन थियो,’ न्यौपानेले भने, ‘खलंगा खानेपानी उपभोक्ता समितिसँग भन्यौँ, तर सुनुवाइ भएन।’ पानी नहुँदा यहाँ आउने वृद्धवृद्धाले शौचालयसमेत प्रयोग गर्न पाएका छैनन्। ‘अति आवश्यक पर्दा वडा कार्यालय र ओम शान्तिको कार्यालयबाट पानी बोकेर ल्याउने गरेका छौँ। माघ महिनादेखि यो समस्या झेल्दै आएका छौँ,’ उनले भने।
कार्यक्रममा चन्दननाथ नगरपालिका १० बोहरागाउँका ८६ वर्षीय पुरिनाथ न्यौपानेले सार्वजनिक यातायातमा जेष्ठ नागरिकलाई आरक्षण सिट र छुटसमेत नदिने नगरिएको गुनासो गरे। त्यसैगरी, सहज स्वास्थ्य सेवाबाट पनि वञ्चित भएको उपस्थित जेष्ठ नागरिकहरूले बताए। हरेक सेवा प्रदायक कार्यालयमा जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई सेवामा प्राथमिकता दिने व्यवस्था भए पनि कार्यान्वयन नभएको जेष्ठ नागरिक संघ जुम्लाले जनाएको छ।
कार्यक्रममा खलंगा खानेपानी उपभोक्ता महासंघ जुम्लाका महासचिव मीनबहादुर थापाले जेष्ठ नागरिक संघको भवनमा खानेपानी लाइन जडान गर्ने निर्णय भएको जानकारी दिए। ‘सोहीबमोजिम कर्मचारीलाई पनि निर्देशन गरेका छौँ। के कति समस्या भएको रहेछ, तत्काल बुझेर खानेपानीको समस्या समाधान गर्छौं,’ उनले भने।