Skip This
मकवानपुरका ८ पालिकाले प्रयोगमा ल्याए स्थानीय पाठ्यपुस्तक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १५:२८:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरका ८ पालिकाले प्रयोगमा ल्याए स्थानीय पाठ्यपुस्तक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२८:oo

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर मकवानपुरका १० मध्ये आठ पालिकाले स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याएका छन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को ज (४)मा मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमनसम्बन्धी व्यवस्था गरी स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सकिने भएपछि मकवानपुरका पालिकाहरूले आफ्ना विद्यालयहरूमा स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याएका हुन्। स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याउने पालिकाहरूमा बागमती, मकवानपुरगढी, हेटौँडा उपमहानगरपालिका, भीमफेदी, इन्द्रसरोवर, थाहा नगरपालिका, मनहरी र राक्सिराङ गाउँपालिका रहेका छन्।

बाँकी दुईवटा पालिकामध्ये कैलाशले यसै शैक्षिक सत्रबाट प्रयोगमा ल्याउने तयारी गरेको छ भने बकैया गाउँपालिकाले पाठ्क्रम निर्माणको योजना अघि बढेको जनाएको छ। बकैयाका शिक्षा शाखा अधिकृत आइतराम तामाङले पालिकाले स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याउने सोच बनाएको भए पनि योजनाअनुसार काम हुन नसकेको बताए। उनले अर्को शैक्षिक सत्रबाट प्रयोगमा ल्याउने गरी यसै आर्थिक वर्षबाट पाठ्क्रम निर्माणको काम थाल्ने उल्लेख गरे। तामाङले पहिलो चरणमा कक्षा १ देखि कक्षा ५ सम्मको पाठ्यक्रम निर्माण गर्ने बताए।

यता कैलाश गाउँपालिकामा भने पाठ्यपुस्तक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पालिकाले यसै शैक्षिक सत्रबाट स्थानीय पाठ्पुस्तक प्रयोेगमा ल्याउने तयारी गरेको पालिकाका शिक्षा शाखा प्रमुख सूर्यबहादुर थिङले जानकारी दिए। पाठ्यक्रम निर्माणको पहिलो चरणअन्तर्गत विषयवस्तुको छनोटको काममा ढिलाइ हुँदा पाठ्पुस्तक छपाइको काममा पनि ढिलाइ भएको उनले बताए। राष्ट्रिय पाठ्यक्रम निर्माण निर्धारण निर्देशिकाअनुसार नै स्थानीय तहको अवश्यकतालाई जोड दिएर विषयवस्तु छनोटको काम गरिएको उनको दाबी छ।

यसअघि मकवानपुरको राक्सिराङ गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यपुस्तक निर्माण गरेर कार्यन्वायनमा ल्याएको थियो। ०७८ सालको शैक्षिक सत्रदेखि कक्षा १ देखि कक्षा ५ सम्म स्थानीय पाठ्यपुस्तक सञ्चालनमा ल्याएको राक्सिराङले चालू शैक्षिक सत्रबाट कक्षा ६ देखि कक्षा ८ सम्मको पाठ्यपुस्तकसमेत प्रयोगमा ल्याइसकेको छ।

मकवानपुरगढी गाउँपालिकाले आउँदो शैक्षिक सत्रबाट पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूमा स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याउने जनाएको छ। पालिकाले २ वर्षअघि नै स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ८ सम्म पाठ्यक्रम निर्माण गरी परीक्षणका रूपमा प्रयोगमा ल्याएकोमा नयाँ शैक्षिक सत्रबाट भने पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको हो। पालिकाभित्रका ८० प्रतिशत विद्यालयहरूमा अहिले पनि स्थानीय पाठ्यक्रम प्रयोग भइरहेको जानकारी दिँदै शिक्षा शाखाका प्रमुख रामबहादुर घलानले आउँदो शैक्षिक सत्रबाट पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने जानकारी दिए।

यता, हेटौँडा उपमहानगरपालिकाले पनि स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याएको छ। कक्षा १ देखि ३ सम्मका लागि स्थानीय पाठ्यपुस्तक सञ्चालनमा ल्याएको उपमहानगरपालिकाले कक्षा ४ देखि कक्षा ८ सम्मको पाठ्यक्रम निर्माण गरिरहेको छ। जिल्लाको भीमफेदी गाउँपालिका र बागमती गाउँपालिकाले गत शैक्षिक सत्रबाटै कक्षा १ देखि कक्षा ५ सम्मको स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याएका छन्।

बागमती गाउँपालिकाले कक्षा ८ सम्मकै पाठ्पुस्तक तयार पारेको भए पनि चालू शैक्षिक सत्रमा १ देखि ५ कक्षासम्म मात्रै पढाइ भइरहेको छ। नयाँ शैक्षिक सत्रबाट कक्षा ६ देखि ८ सम्मको पाठ्यपुस्तक लगाउने विषयमा शिक्षा समितिसँगको छलफलपछि निर्णय गर्ने शिक्षा शाखाका प्रमुख प्रमोद प्रतीक राईले जानकारी दिए। उनले यस शैक्षिक सत्रमा कक्षा ६ को पाठ्यपुस्तक मात्रै लागू गर्ने कि ८ सम्मकै गर्ने भन्ने निर्णय गर्न बाँकी रहेको बताए।

भीमफेदी गाउँपालिकाले कक्षा १ देखि कक्षा ५ सम्मको पाठ्पुस्तक तयार पारेर प्रयोगमा ल्याएको छ। चालू शैक्षिक सत्रबाटै पाठ्पुस्तक प्रयोगमा ल्याएको पालिकाले यस वर्षबाट शतप्रतिशत विद्यालयहरूमा प्रयोगमा ल्याउने तयारी गरेको पालिकाका शिक्षा शाखाका प्रमुख प्रदीप पराजुलीले जानकारी दिए। उनले कक्षा ५ सम्मको पाठ्यपुस्तक परीक्षणमै रहेकोले तत्काल माथिल्लो कक्षाको पाठ्यक्रम बनाउने पालिकाको योजना नरहेको बताए। प्रमखु पराजुलीले हाल प्रयोगमा आएको पुस्तकको प्रभावकारिता हेरेर आगामी योजना बनाउने बताए।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकाले पनि गत शैक्षिक सत्रबाटै स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याएका हुन्। इन्द्रसरोवर गाउँपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म नै स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याएको छ भने थाहा नगरपालिकाले कक्षा १ देखि कक्षा ५ सम्म मात्रै प्रयोगमा ल्याएको छ। थाहा नगरपालिकाका शिक्षा शाखाका सहायक शिक्षा अधिकृत देवेन्द्र कार्कीले कक्षा ८ सम्मका लागि स्थानीय पाठ्यक्रम तयार भइसकेकाले यही शैक्षिक सत्रबाट सञ्चालनमा ल्याउने जानकारी दिए।

जिल्लाका सबै पालिकाहरूले स्थानीय पाठ्यपुस्तकमा आफ्नो क्षेत्रको भौगोलिक अवस्था, बसोबास गर्ने जातजाति, उनीहरूको भाषा, धर्म, संस्कृति, चाडपर्व, आर्थिक, सामाजिक र राजनीतिक अवस्था, ऐतिहासिक महत्वलगायतका विषयवस्तु समेटेका छन्।