
महेन्द्रनगरदेखि बाजुरातर्फ हिँडेको एक यात्रुबाहक बसबाट प्रहरीले अवैध चिनीसहितको सामान बरामद गरेको छ। शुक्रबार महेन्द्रनगरदेखि यात्रु बोकेर पहाडी जिल्ला हिँडेको ना ४ ख ४०२७ नम्बरको बसबाट १० क्विन्टल चिनी बरामद भएको हो।
इलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी बिट कलुवापुरले बस चेकजाँचका क्रममा अवैध चिनी बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डाँगीका अनुसार ७० हजार रुपैयाँबराबरको उक्त अवैध सामान पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरबाट नियन्त्रणमा लिइएको हो।
भन्सार राजस्व नकाटी ल्याइएको उक्त चिनी भन्सार कार्यालयमा बुझाएको उनले बताए। एकातिर राजस्व छली, अर्कोतिर यात्रुलाई मारमा पारेर अवैध सामान तस्करी बढेको छ। त्यसो त यात्रुबाहक बसमा व्यावसायिक प्रयोजनका सामान ओसार्न पाइँदैन।
तस्करीका नयाँ नयाँ ‘भेटियन्ट’ फेला परेपछि त्यसलाई रोक्न प्रहरीलाई भ्याइनभ्याई भएको छ। तस्कर समूहले भारतबाट सेटिङमा यात्रुबाहक बस प्रयोग गर्न थालेपछि कञ्चनपुरमा तस्करी नियन्त्रणबाहिर गइरहेको छ। भारतबाट तस्करी गरेर ल्याएको उक्त ठूलो परिमाणको चिनी कसको हो भन्ने विषयमा प्रहरीले केही जनाएको छैन।
भन्सार कार्यालयका अलावा सीमा क्षेत्रमा चारैतिर सशस्त्र प्रहरी हुँदाहुँदै पनि तस्करीको चिनी बजार र गाउँबाट बरामद हुन थालेपछि मिलोमतोमा तस्करी भइरहेको आशंका जन्माएको छ। यद्यपि, बरामद गरेर तस्कर समूहलाई कानुनी दायरामा ल्याउने प्रयासमा प्रहरी लागेको स्थानीयवासीको भनाइ छ। तस्करविरुद्ध प्रहरीका कमान्डर परिर्वतन हुँदा नीति परिवर्तन हुने गरेको भन्दै सधैँ एकैखाले नीति लिनुपर्ने स्थानीयको सुझाव छ।