
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मिटरब्याज पीडितबीच बालुवाटारमा छलफल सुरु भएको छ । तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीसँग भेट वार्ताका लागि बालुवाटार पुगेका हुन् ।
उनीहरु आफ्ना माग पूरा गर्न नारा लगाउँदै बालुवाटार प्रवेश गरेका छन् । मिटरब्याज पीडित र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ ।
उनीहरुले केही दिन यता प्रधानमन्त्रीलाई भेट्न खोजेपनि पाएका थिएनन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ नै भेट गर्ने भनेपनि प्रधानमन्त्रीको कार्य व्यस्तताले सफल भएको थिएन ।
यसअघि पनि मिटरब्याज पीडितहरुले सरकारी टोलीसँग दुईपटक वार्ता गरिसकेका छन् । तर सहमति भएको छैन । आज बिहानै उनीहरुले पीडितलाई न्याय दे, मिटरब्याजीलाई कारबाही गर, जस्ता नारा लगाएर बालुवाटार प्रवेश गरेका हुन् ।
अहिले प्रधानमन्त्री र मिटरब्याज पीडितबीच वार्ता भइरहेको छ । मिटरब्याज पीडितले प्रधानमन्त्रीसामु भक्कानिएर रुँदै आफ्ना कुरा राखेका छन् ।