Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
अनिल यादव काठमाडाैं
२०७९ चैत १८ शनिबार ०६:३१:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सातौँपटक मन्त्रिपरिषद् विस्तार

Read Time : > 1 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ चैत १८ शनिबार ०६:३१:००

६ मन्त्रालयको जिम्मेवारी अझै प्रधानमन्त्रीको काँधमा, गठबन्धनका चार दल सरकारबाहिरै

- कानुन तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन, युवा तथा खेलकुद र स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीसँगै
- माओवादीबाट सञ्चारमा रेखा शर्मा, पर्यटनमा सुदन किराँती, संघीय मामिलामा अमनलाल मोदी र पर्यटन राज्यमन्त्रीमा सुशीला सिर्पाली ठकुरी यथावत्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक विश्वासको मत पाएपछि पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार सरकारमा १० नयाँ मन्त्रीको नियुक्ति र एकको जिम्मेवारी हेरफेर गरेका हुन् । सातौँपटक विस्तार गर्दा मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ ।

कांग्रेसबाट चार, एकीकृत समाजवादीबाट दुई तथा माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र नेसपाबाट एक–एकजना मन्त्री नियुक्त गरिएका छन् । माओवादीका एक मन्त्रीको मन्त्रालय हेरफेर गरिएको छ । नवनियुक्त मन्त्रीहरूले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका छन् । सत्तागठबन्धनमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी भएका छैनन् । 

शुक्रबार नियुक्त हुने मन्त्रीहरूमा कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास छन् । 

माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त भएका छन् । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मवारीमा रहेका नारायणकाजी श्रेष्ठको जिम्मेवारी हेरफेर गरेर गृहमा लयाइएको छ । यसअघि माओवादीबाट एक राज्यमन्त्रीसहित चार मन्त्री सरकारमा सहभागी थिए । 

एकीकृत समाजवादीबाट बेदुराम भुसाललाई कृषि तथा पशुपक्षी विकास र प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायातको जिम्मेवारी दिइएको छ । जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेक छन् । लोसपाबाट शरत्सिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । 

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । नेसपाबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेका छन् । 

शुक्रबार नै जनमत पार्टीबाट खानेपानीमन्त्री बनेका अब्दुल खानले रोजेको मन्त्रालय नपाएपछि राजीनामा दिए । जनमतले उद्योग मन्त्रालय आफूले पाउनुपर्ने दाबी गर्दै आएको थियो । 

मन्त्रिपरिषद् विस्तारपछि पनि ६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको काँधमा छ । मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन नसक्दा प्रधानमन्त्री दाहालको जिम्मामा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालय रहेको छ । 

कांग्रेसले नाम नपठाउँदा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या, जसपाले नाम पठाउन बाँकी वन तथा वातावरण र जनमत सरकारबाट बाहिरिएपछि खानेपानी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँग रहेको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा अमनलाल मोदीले निरन्तरता पाएका छन् । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा सुशीला सिर्पाली ठकुरीको पनि जिम्मेवारी हेरफेर गरिएको छैन ।