Skip This
उद्योग वाणिज्य संघको अध्यक्षमा गठबन्धनलाई हराउँदै एकीकृत समाजवादीका आचार्य विजयी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १७ शुक्रबार
  • Tuesday, 13 May, 2025
२o७९ चैत १७ शुक्रबार १२:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उद्योग वाणिज्य संघको अध्यक्षमा गठबन्धनलाई हराउँदै एकीकृत समाजवादीका आचार्य विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १७ शुक्रबार १२:१८:oo

खोटाङ उद्योग वाणिज्य संघ खोटाङकाे अध्यक्षमा ठूला तीन राजनीतिक दलका साझा उम्मेदवारलाई भारी मतले हराउँदै नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेदवार राजनप्रसाद आचार्य विजयी भएका छन्। 

कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का साझा उम्मेदवार कांग्रेसका समुन्द्रप्रसाद जोशीलाई एक सय ९६ मतले पछि पार्दै आचार्य अध्यक्षमा भारी मतले विजयी भएका हुन् । 

नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङका सचिवसमेत रहेका आचार्यले तीन सय ३४ मत प्राप्त गरेर विजयी हुँदा जोशीले एक सय ३८ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीले जानकारी दिएका छन्। कुल ६ सय ७१ मतदाता रहेको उद्योग वाणिज्य संघको बिहीबार भएको निर्वाचनमा चार सय ८० मत खसेको जनाइएको छ। 

महासचिवमा स्वतन्त्र उम्मेदवार भनिएका कांग्रेसका अजय बस्नेत भारी मतान्तरले विजयी भएका छन्। कांग्रेस, एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार माओवादी केन्द्रका सुमन श्रेष्ठलाई दुई सय १८ मतले पछि पार्दै बस्नेत विजयी भएका हुन्। 

महासचिवमा विजयी बस्नेतले तीन सय ४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्रेष्ठले एक सय २३ मतमात्र प्राप्त गरेका छन् । महासचिव पदका लागि खसेको चार सय ८० मतमध्ये १६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

कोषाध्यक्षमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार कांग्रेसका युधीर शाक्य विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार भनिएका नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेश समिति सदस्य नेत्रबहादुर कटवाललाई ६४ मतले पछि पार्दै गठबन्धनका तर्फबाट कांग्रेसका शाक्य विजयी भएका हुन्। 

कोषाध्यक्षमा विजयी शाक्यले दुई सय ६० मत प्राप्त गरेर विजयी हुँदा कटवालले एक सय ९६ मत मात्र प्राप्त गरेका छन्। अध्यक्षमा पराजित जोशीको प्यानल (समूह)बाट सदस्यमा कुमार बजिमय तीन सय ७१, कृष्णकुमार श्रेष्ठ ‘मणि’ दुई सय ७८, टंकप्रसाद आचार्य तीन सय तीन, रोशन सैंजु तीन सय १३, विपिन श्रेष्ठ दुई सय ७७ र हिरालाल पुरी दुई सय ७२ मत ल्याएर सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ  

नवनिर्वाचित अध्यक्ष आचार्यको प्यानल (समूह)बाट एकजना कैलाश भट्टराईले मात्र दुई सय ५२ मत ल्याएर विजयी भएको जनाइएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सचिव आचार्यको प्यानललाई स्वतन्त्र भनिए पनि तीनदलीय गठबन्धनमा रहेका एमालेका नेताहरूले खुलेआम भोट मागेका थिए। 

वरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मणिशोभा राई ‘माया’, सचिवमा लेखबहादुर खड्का, महिला सदस्यमा गोपीमाया आचार्य, रेनुका पोखरेल र विमला राई यसअघि नै निर्विरोध चयन भएका थिए। गत फागुन १४ गते उद्घाटन भएको उद्योग वाणिज्य संघको जिल्ला अधिवेशनमा राजनीतिक भागबन्डाको आधारमा सबै कार्यसमिति चयन गर्ने कसरत भए पनि अन्तिम समयमा असफल भएको थियो। 

उद्योग वाणिज्य संघ खोटाङमा १७ जना निर्वाचित, दुईजना मनोनीत र निवर्तमान अध्यक्षसहित २० जनाको कार्यसमिति हुने प्रावधान छ। उद्योग वाणिज्य संघको ११औँ जिल्ला अधिवेशनमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष र खुला सात सदस्यमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो।