मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अनामनगरस्थित तमु बौद्ध सेवा समितिको हलमा बसेका मिटरब्याजपीडित । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १७ शुक्रबार ०८:५२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चिसोले मिटरब्याजपीडित बिरामी पर्न थाले 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १७ शुक्रबार ०८:५२:००

मिटरब्याजपीडित अहिले अनामनगरस्थित तमु बौद्ध सेवा समितिको हलमा बसेका छन् । उनीहरूलाई खानाको प्रबन्ध स्वयंसेवकले गरिरहेका छन् । सुत्नका लागि हलमा म्याट ओछ्याइएको छ । तर, म्याटले भुइँको चिसो छेक्न नसकेपछि पीडित बिरामी पर्न थालेका छन् । अधिकांशलाई जरो र रुघाखोकी लागेको छ । शरीर तथा टाउको दुख्ने समस्या पनि उनीहरूमा देखापरेको छ । तनावका कारण कतिको रक्तचापसमेत बढेको छ । बिहीबार मात्रै ६ जनालाई उपचार गर्न अस्पताल लगिएको थियो । 

वीर अस्पतालमा लगिएको उनीहरूको स्वास्थ्य परीक्षणपछि चिकित्सकले पुनः हलमै फिर्ता पठाएका थिए । स्वास्थ परीक्षणपछि वीर अस्पतालबाट फर्किएकी सिराहा नरहा गाउँपालिका– २ की ४० वर्षीया पवित्रीदेवी सिंहले चिसोका कारण स्वास्थ्यमा समस्या आएको बताइन् । ‘१२ दिन हिँडेर काठमाडौं आयौँ । यहाँ बस्ने ठाउँ पाइएको छ । भुइँमा म्याट पनि ओछ्याइएको छ । तर, राति चिसो आउने रहेछ । शरीर र टाउको दुखेको छ । रुघाखोकीले सताएको छ । अस्पतालले भोलि रिपोर्ट दिने भनेको छ,’ उनले भनिन् । धनुषा सबैला नगरपालिका– १२ बरखुर्वाकी २५ वर्षीया कल्पना राई मात्रै ६ महिनाकी सुत्केरी हुन् । चिसोका कारण उनी पनि बिरामी परेकी छिन् । पाठेघर समस्याबाट पीडित उनको चिसोकै कारण ‘ब्लिडिङ’ हुन थालेको छ । चिसोका कारण उनका काखेछोरालाई पनि रुघाखोकी लागेको छ । स्वास्थ परीक्षणका लागि उनी छोरा लिएर वीर अस्पताल पुगेकी थिइन् । ‘चिसोका कारण ज्वरो आउलाजस्तो भएको छ । छोरालाई पनि रुघाखोकी लागेको छ । पाठेघरको समस्याबाट पीडित छु । चिसोकै कारण हो या अरू कारण, ६ दिनदेखि ‘ब्लिडिङ’ रोकिएको छैन । अस्पतालले भोलि रिपोर्ट दिने भनेको छ,’ तमु बौद्ध सेवा समितिको हलमा भेटिएकी उनले भनिन् । संघर्ष समितिका अनुसार उनीहरूसँगै रेखादेवी मुखिया, निरादेवी ठाकुर, तलिता मण्डल, प्रकाश मण्डल र कुमारीदेवी कामत पनि बिरामी परेका छन् । उनीहरू अहिले समितिकै हलमा आरम गरिरहेका छन् ।  

मिटरब्याजपीडितको समस्या चाँडो सम्बोधन गर्न कांग्रेसले सरकारसँग माग गरेको छ । पीडितको माग सम्बोधन गरेर शीघ्रतापूर्वक सार्थक निष्कर्षमा पुर्‍याउन र आमनागरिकको वित्तीय पहुँचलाई सहज बनाई आवश्यक कानुन निर्माणको प्रक्रिया थाल्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ । 

शक्तिशाली आयोग गठन गरी छानबिन गर्न श्रेष्ठ र कट्टेलको माग
प्रगतिशील रूपान्तरण आन्दोलन र मार्क्सवादी एकता अभियानले शक्तिशाली आयोग गठन गररे नेपालभरिका मिटरब्याजसँग सम्वन्धित सबै जाली तमसुक र यसका साहुकारबारे मिहिनसँग छानबिन गर्न माग गरेको छ । आन्दोलनका श्याम श्रेष्ठ र एकता अभियानका शम्भु कट्टेलले बिहीबार जारी गरेको विज्ञप्तिमा सम्बन्धित जाली तमसुक र यसका साहुकारबारे मिहिनसित छानबिन गर्नुपर्ने उल्लेख छ । 

‘मिटरब्याजपीडितको समस्या समाधान गर्न शक्तिशाली आयोग गठन गरिनुपर्छ । मिटरब्याजसँग सम्बन्धित जाली तमसुक र यसका साहुकारबारे मिहिनसित छानबिन गर्नुपर्छ । दोषी साहुकारलाई कडा दण्ड दिइनुपर्दछ । सबै जाली तमसुक, ऋण र जमिनलगायत कारोबार खारेज गरिनुपर्दछ, साथै पास गरेर लिइएका सबै जमिन फिर्ता गरिनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ । श्रेष्ठ र कट्टेलले जाली साहुकारसित अब उप्रान्त ऋण लिनै नपर्ने परिस्थिति सिर्जना गर्न बैँकहरूले गरिब र निम्नमध्यम किसान तथा सर्वसाधारणलाईे परियोजना नै धितो राखेर थोरै र सस्तो ब्याज दरमा र सरल र सहजतापूर्वक ऋण दिने व्यवस्था गरिनुपर्ने बताएका छन् ।