मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७९ चैत १७ शुक्रबार ०६:३६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

६ दशकपछि विराटनगर विराट गोल्डकपको च्याम्पियन

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ चैत १७ शुक्रबार ०६:३६:००

घरेलु मैदानमा विराटनगरले ६१ वर्षपछि उपाधि जित्ने क्रममा बिहीबार लुका सकर क्लबलाई ४–० ले निराश पार्‍यो 

विराटनगर सिटीले ६१ वर्षपछि सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार भएको फाइनलमा विराटनगरले भारत केरलाको लुका सकर क्लबलाई ४–० ले हराउँदै उपाधि हात पारेको हो । ०१९ सालमा आयोजक मोरङ–११ ले उपाधि हात पारेको थियो । ६१ वर्षपछि घरेलु मैदानमा विराटनगरले उपाधि उचाल्न ६ दशक कुर्नुपर्‍यो । च्याम्पियन विराटनगरले २० लाख १५ हजार र उपविजेता केरलाले १० लाख १५ हजार रुपैयाँ पाएका छन् । 

विराटनगरलाई उपाधि दिलाउने क्रममा अफिज ओरवा, विमल घर्तीमगर, मेसुके र अभिषेक गुरुङले गोल गरेका थिए । फाइनलको म्यान अफ दी म्याच विराटनगरका सुरज बिके घोषित हुँदै ११ हजार रुपैयाँ पाए । फाइनलमा विधागत पुरस्कारमा विराटनगरको वर्चस्व रह्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा विराटनगरका मेसुके घोषित भए । यसैगरी, फेयर प्लेयर टोली जावलाखेल युथ क्लब भयो । विराटनगरका अभिषेक गुरुङ प्रतियोगिताकै उच्च गोलकर्ता भए । उनले प्रतियोगितामा दुई गोल गरेका थिए । 

भारतका चालिज क्युराको उत्कृष्ट स्ट्राइकर भए । विराटनगरका युका सुजुकी उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट गोलरक्षक विराटनगरका विशाल श्रेष्ठ घोषित भए । उत्कृष्ट डिफेन्डरमा च्याम्पियन टोलीका देवेन्द्र तामाङ र प्रशिक्षक पनि विराटनगरकै सन्तोष न्यौपाने भए । विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ पाए । 

यसअघि, खेलको सातौँ मिनेटमा विराटनगरका अफिज ओरवाले अग्रता गोल गरेका थिए । खेलको ७८औँ मिनेटमा विमल घर्तीमगरले विराटनगरलाई २–० को स्थितिमा राखे । खेलको ८९औँ मिनेटमा मेसुकेले घरेलु टोलीलाई ३–० को अग्रता दिलाए । इन्जुरी समयमा विराटनगरका अभिषेकले ४–० को जित पक्का पारे ।