१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दमक, गौरादह र कमलको संगमस्थलमा शिलान्यास गरिएको चीन–नेपाल मैत्री औद्योगिक पार्क ।
२०७९ चैत १६ बिहीबार १०:२७:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

झापामा औद्योगिक पार्क : दुई वर्षअघि शिलान्यास, निर्माणमा अझै अन्योल

Read Time : > 2 मिनेट
२०७९ चैत १६ बिहीबार १०:२७:००

पहिलो चरणमा सयवटा उद्योग स्थापना गर्न ६४ अर्ब लगानी स्वीकृत भएको नेपाल–चीन मैत्री औद्योगिक पार्कको निर्माणको काम शून्य 

१६ फागुन ०७७ मा झापाको दमक, कमल र गौरादहको संगमस्थलमा बन्ने नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गर्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई वर्षभित्र सय उद्योग स्थापना गर्ने घोषणा गरेका थिए । तामझामका साथ औद्योगिक पार्क शिलान्यास भएको दुई वर्ष पूरा भइसक्दा पनि औद्योगिक क्षेत्र निर्माणको काम भने शून्य छ । 

अहिलेसम्म औद्योगिक क्षेत्र निर्माणको काम सुरु हुनै सकेको छैन । शिलान्यास स्थलवरिपरि घेराबार गरेर मानिस बस्न ‘पार्क’चाहिँ बनेको छ । शिलान्यासको दुई वर्ष पूरा हुँदा पनि कागजी प्रक्रिया पूरा गर्ने कामसमेत सकिएको छैन । जसकारण पार्क निर्माणको अत्तोपत्तो छैन । 

दमक नगरपालिका– १०, गौरादह नगरपालिका– ५ र कमल गाउँपालिका– ७ को संगमस्थल रतुवा नदीआसपासमा दुई हजार दुई सय बिघा क्षेत्रफलमा औद्योगिक पार्क बनाइने योजना छ । सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारी लक्ष्यअनुसार  नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गरिएको थियो । पहिलो चरणमा सयवटा उद्योग स्थापना गर्न ६४ अर्ब लगानी स्वीकृत भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । खासगरी इलेक्ट्रोनिक सामग्री उत्पादनका लागि चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट कन्स्ट्रक्सनले औद्योगिक पार्क निर्माण गर्ने औद्योगिक क्षेत्र व्यवस्थापनले जनाएको छ । विद्युतीय सवारीदेखि मोबाइलसम्म उत्पादन गर्ने भनिएको औद्योगिक पार्कमा चिनियाँ र कोरियन उद्योग सञ्चालन गर्ने योजना थियो । 

दुई वर्षअघि जग्गाको मुआब्जाको काम, डिपिआर तयारीको काम र लगानी बोर्डले प्रोजेक्ट डेभलभमेन्ट एग्रिमेन्टको काम नै पूरा नगरी शिलान्यास गर्दा अहिले फिल्डमा काम देखिएको छैन । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कार्यवाहक महाप्रबन्धक सञ्जय मानन्धरले लगानी बोर्डबाट प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट नहुँदा औद्योगिक क्षेत्रमा भौतिक संरचना निर्माणको काम हुन नसकेको बताए । ‘यो प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट (पिडिए) हुने क्रममा छ । यो लगानी बोर्डले गर्ने हो । पिडिए नभई काम हुँदैन । यो भएपछि मात्र निर्माणको स्वीकृति पाउँछ,’ उनले भने, ‘अब अन्तिम चरणमा छ । एक महिनाभित्र सक्ने योजना छ । यो नयाँ भएका कारण पनि केही समय लागेको हो ।’ 

वातावरणीय प्रभाव मूल्यांकन सकेका कारण छिट्टै काम सुरु हुने अपेक्षा राखेर शिलान्यास गरिएको कार्यवाहक महाप्रबन्धक मानन्धरले बताए । यद्यपि, योजनाअनुसार काम हुन नसकेको उनले स्विकार गरे । जग्गा प्राप्तिको काम अहिले पनि भइरहेको छ । ‘कतिपयको कागजात पुगेको छैन । कतिपय मुआब्जा लिन आइसकेका छन् भने कतिपय आउने प्रक्रियामा छन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘करिब–करिब पहिलो सूचना र दोस्रो सूचनामा जग्गा औद्योगिक पार्कको नाममा जग्गा आइसकेको छ ।’ केही महिनाभित्रै औद्योगिक क्षेत्रको काम सुरु गर्ने योजना रहेको उनले बताए । लगानी बोर्डले भने डिपिआर स्वीकृत गरिसकिएको जनाएको छ । प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट गर्ने प्रक्रियामा रहेको लगानी बोर्डको भनाइ छ । 

नेपाल–चीन मैत्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले चाँडै औद्योगिक पार्कमा उद्योगहरूको स्थापनाको काम गरिने बताए । यसका लागि चिनियाँ टोली नेपाल आइसकेको थापाको दाबी छ । यद्यपि, शिलान्यासपछि भने केही पनि काम अघि बढ्न नसकेको उनले स्वीकार गरे । ‘अहिलेसम्म काम केही भएको छैन । खास भन्ने हो भने दुई वर्षअगाडि जहाँ थियो त्यहीँ छ । चिनियाँ टोली नेपाल आइसकेको छ । अब चाँडै काम अघि बढाउँछौँ । निर्माणका लागि प्रक्रियामा गएको छ,’ थापाले भने, ‘सरकारको प्रक्रिया सिध्यायो भने हामी त काम सुरु गरिहाल्छौँ । सबै तयारी छ । मुआब्जा लगभग टुंगिएको छ । केही कागजात पुगेको छैन । ऐलानी जग्गामा बस्नेलाई पनि क्षतिपूर्ति दिने कुरा भइसकेको छ ।’ 

औद्योगिक क्षेत्र निर्माणका लागि अधिग्रहण गर्दा मुआब्जा वितरणमा स्थानीयले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । प्रभावितले मुआब्जा वितरण पक्षपात भएको बताउँदै आएका छन् । ‘मुआब्जाको विषयमा त गुनासो आइरहन्छ । धेरैले सरकारी मूल्यांकनभन्दा कम मूल्यांकन दिइयो भनेर गुनासो गरिरहेका छन्,’ दमक– १० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले भने, ‘चलनचल्तीको मूल्यभन्दा ९० प्रतिशत कम मूल्यांकन भएको छ । औद्योगिक पार्कले धेरैलाई सुकुमबासी बनाउँछ ।’