
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद पूर्वाधार नीति संवाद शनिबार हुने भएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङले बुधबार आयोजित पत्रकार सम्मेलनमा देशको भौगोलिक अवस्थाअनुसार कस्तो पूर्वाधार निर्माण गर्न उपयुक्त हुनेलगायतका विषयमा सुझाव संकलन गर्ने उद्देश्यले संवाद राखेको बताए ।
मापदण्डसहितका पूर्वाधार निर्माणको नीति निर्माण गराउने, खेल पूर्वाधारको स्तर निर्धारणको मापदण्ड तयार गर्ने, खेलकुद पूर्वाधारको वर्तमान अवस्थाबारे जानकारी गराउन, पूर्वाधारका लागि लगानीको अवस्थाका विषयमा जानकारी दिने उद्देश्यले संवाद आयोजना गर्न लागिएको हो ।
भौगोलिक अवस्थितिका आधारमा पूर्वाधार निर्माणको नीति तयार गर्नेलगायतका विषयमा संवाद केन्द्रित रहनेछ । राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ ।