
केरलाको लुका सकर फुटबल क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । लुका सकरले मंगलबार विराटनगरको सहिद रंगशालामा भएको दोस्रो सेमिफाइनलमा साबिक विजेता एपिएफलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो ।
निर्धारित र अतिरिक्त समयमा दुवै पक्षबाट कुनै पनि गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टी सुटआउटमा लुका सकरका गोलरक्षक सनफिर नायक हुँदै ११ हजार रुपैयाँ जिते ।
उनले एपिएफका विशाल स्याङ्तानको प्रहारलाई उत्कृष्ट बचाउ गरे । एपिएफका गोलरक्षक राजु नगरकोटी आफैँले प्रहार गरेको पेनाल्टी बारमा लागेको थियो । नगरकोटीको असफल पेनाल्टीसँगै एपिएफ प्रतियोगिताबाट बाहिरियो । एपिएफका दीपेश धिमाल र सविन गुरुङले मात्र गोल गरे । लुकाका लागि चाल्स, मोहम्मद रफी, मोहम्मद असद र पउलले गोल गरेका थिए । लुकाका क्यामुदिनको प्रहारलाई गोलरक्षक नगरकोटीले बचाएका थिए ।
प्रतियोगिताको उपाधिका लागि लुका सकरले घरेलु टोली विराटनगरसँग बिहीबार खेल्नेछ । उपाधि विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख २५ हजार रुपैयाँ हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ हात पार्नेछन् ।
आयुषको ह्याट्रिकमा सुदूरपश्चिमको जित
धनगढी- घरेलु टोली सुदूरपश्चिम–११ स्पोर्टस् क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले मंगलबार नेपाल पुलिस क्लबलाई ४–० ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । धनगढी रंगशालामा सुदूरपश्चिमलाई जित दिलाउने क्रममा आयुष श्रेष्ठले ह्याट्रिक गरेका थिए । खेलको पाँचौँ मिनेटमा सुदूरपश्चिमका स्वामी हार्दिकले १–० को अग्रता दिलाए । खेलको ३०औँ मिनेटमा आयुषले सुदूरपश्चिमलाई २–० को स्थितिमा राखे । खेलको ५१औँ र ६३औँ मिनेटमा गोल गर्दै आयुषले ह्याट्रिक पूरा गरे । यस संस्करणकै यो नै पहिलो ह्याट्रिक हो । आयुष नै खेलका म्यान अफ दी म्याच हुँदै १० हजार रुपैयाँ हात पारे । सुदूरपश्चिमले १६ चैतमा हुने सेमिफाइनलमा थ्री स्टार क्लबको सामना गर्नेछ । सुदूरपश्चिमविरुद्ध पुलिसका खेलाडीले थुप्रै गोल अवसर चुकाएका थिए । प्रतियोगिताअन्तर्गत बुधबार मनाङ मस्र्याङ्दी र क्यामरुनको एभिनियर फुटबल क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।
चर्च ब्वाइज सेमिफाइनलमा
सिमरा- चर्च ब्वाइज युनाइटेडले नेपाल एपिएफ क्लबलाई २–१ ले हराउँदै मंगलबार १३औँ जितपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल स्थान पक्का गरेको छ । सिमरा रंगशालामा एपिएफले सुरुवाती अग्रता रक्षा गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । ए डिभिजन क्लब चर्च ब्वाइजले नतिजा उल्ट्याउँदै पहिलोपटकको सहभागितामै सेमिफाइनल यात्रा तय गर्यो । अब फाइनल प्रवेशका लागि चर्च ब्वाइजले न्युरोड टिमको सामना गर्नेछ । एपिएफका मिडफिल्डर सन्तोष श्रेष्ठले खेलको २३औँ मिनेटमा १–० को अग्रता दिलाए । त्यसपछि चर्च ब्वाइजका सन्तोष न्यौपाने र रञ्जित पाण्डेले एक–एक गोल गर्दा एपिएफ पराजित भयो । खेलको ३१औँ मिनेटमा चर्च ब्वाइजका सन्तोषले १–१ को बराबरी गरे । खेलको ४३औँ मिनेटमा रञ्जितले उत्कृष्ट गोल गर्दै चर्च ब्वाइजलाई २–१ को अग्रता दिलाए । प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा हेटौँडाको मकवानपुर ११ ले ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाको सामना गर्नेछ ।