मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२२ कात्तिकमा गएको भूकम्पपछि भत्किएको बाजुराको पूर्वीचौकी गैरागाउँको एक घर ।
२०७९ चैत १५ बुधबार ०८:२३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिम र कर्णाली भूकम्पको जोखिममा, ६ महिनामा १४ भूकम्प

Read Time : > 1 मिनेट
२०७९ चैत १५ बुधबार ०८:२३:००

देशको पश्चिमी भूभाग भूकम्पको उच्च जोखिममा रहेको देखिएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पछिल्लो ६ महिनामा चार रेक्टर स्केलभन्दा माथिका १४ वटा भूकम्प गएका छन् । 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार २२ कात्तिकमा खप्तडबाबाको आश्रमआसपास केन्द्रबिन्दु भई भूकम्प गएयता चार रेक्टर स्केलका देशभर २६ वटा भूकम्प गएका छन् । तीमध्ये १४ वटाको केन्द्रबिन्दु सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । शर्माले भने, ‘देशभरका अनुपातमा यस क्षेत्रमा धेरै भूकम्प गइरहेको छ, यसकारणले पनि देशको पश्चिम भाग भूकम्पको उच्च जोखिममा रहेको छ ।’

आइतबार राति १०:२७ मिनेट जाँदा बाजुराको स्वामिकार्तिक गाउँपालिका साप्पाटाआसपास केन्द्रबिन्दु भई ४.३ रेक्टर स्केलको भूकम्प गयो । देशका पश्चिमी भागमा गएका १४ भूकम्पमध्ये सबैभन्दा बढी बाजुरामा पाँचपटक भूकम्प गएको छ । विभिन्न समयमा आएको भूकम्पका कारण घर तथा सार्वजनिक भवनहरू चर्किनुका साथै बस्न अयोग्य भएका छन् । भूकम्प प्रभावितहरू कोही त्रिपालमा छन् भने केही जोखिम मोलेर चर्किएकै घरमा बस्न बाध्य छन् ।

१४ वटा भूकम्पमध्ये १० सुदूरपश्चिम प्रदेशका विभिन्न भागमा र चार कर्णाली प्रदेशका विभिन्न भागमा रहेका छन् । चार रेक्टर स्केलका एक हजारभन्दा धेरै पराकम्पन गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । २२ कात्तिकमा डोटी केन्द्रबिन्दु भई आएको भूकम्पमा मानवीय क्षतिसमेत भएको थियो । त्यसको चार दिनपछि बाजुरामा ४.१, २९ कात्तिकमा बझाङमा ५.४, ८ पुसमा दार्चुलामा ४.१ र ९ पुसमा अछाममा ४.२ रेक्टरस्केलको भूकम्प गएको थियो ।

यस्तै, १० माघमा डोल्पामा ४.६, १२ माघमा बाजुरामा ५.९, २७ माघमा बाजुरा ४.१, १० फागुनमा रुकुममा ४.२, २१ फागुनमा ५.२ र २९ फागुनमा अछाममा ४.४ रेक्टरस्केलको भूकम्प गएको थियो । यस क्षेत्रमा चैत महिना लागिसकेपछि तीनवटा भूकम्प गइसकेका छन् । १० चैतमा दैलेखमा ४.१, १२ चैतमा मुगुमा ४.५ र सोही दिन बाजुरामा ४.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।