Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बलका लागि संघर्ष गर्दै नेपालका मनीष डाँडी (नीलो) र भुटानका तेन्जिन दोर्जी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२०७९ चैत १५ बुधबार ०७:१२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा 

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०७९ चैत १५ बुधबार ०७:१२:००

फाइनलमा शुक्रबार लाओससँग प्रतिस्पर्धा गर्दैै नेपाल

नेपाल र लाओसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । अब फाइनल खेल शुक्रबार हुनेछ । दशरथ रंगशालामा मंगलबार भुटानसँग १–१ गोलको बराबरी खेल्दै नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपालले दुई खेलबाट चार अंक जोड्यो । दोस्रो स्थानमा रहेको लाओसले दुई खेलबाट तीन अंक हात पार्‍यो । दुई खेलबाट एक अंक जोडेको भुटान प्रतियोगिताबाट बाहिरिएको छ । 

खेलको ९०औँ मिनेटमा दीपकराजसिंह ठकुरीले भुटानको पोस्टमा गोल गर्दै नेपाललाई सम्भावित हारबाट जोगाएका थिए । भुटान अन्तिम मिनेटमा सम्हालिन नसक्दा फाइनल पुग्नबाट वञ्चित भयो । नेपाललाई हराउँदा भुटान फाइनलमा पुग्ने थियो । लाओस प्रतियोगिताबाट बाहिरिने समीकरण बन्ने थियो । प्रतियोगिताबाट बाहिरिए पनि भुटानले इतिहासमै पहिलोपटक नेपाललाई बराबरीमा रोक्न सफल भयो । यसअघिका सबै खेलमा नेपालसँग भुटान पराजित भएको थियो । 

भुटानको सनसनी अग्रता
भुटानका तेन्जिङ नोर्बुले खेलको १९औँ मिनेटमा गोल गर्दा नेपाली समर्थक स्तब्ध भएका थिए । दावा छिरिङको कर्नर बलमा डिबक्सभित्र अनमार्क रहेका तेन्जिङले सटिक हेडिङ गोल गर्दै भुटानलाई १–० को अग्रता दिलाए । भुटानले पहिलोपटक १३औँ अन्तर्राष्ट्रिय खेलमा नेपालविरुद्ध अग्रता लिएको हो । भुटानले पहिलो तथा दोस्रो हाफमा खेल पकडमा राखेको थियो । 

घाइते अञ्जन विष्टको स्थानमा वैकल्पिक खेलाडीका रूपमा दीपकराज मध्यान्तरपछि मैदानमा छिरेका थिए । अनन्त तामाङको हेडिङ पासमा दीपकराजले डिबक्सभित्र अनमार्क रहँदै आकर्षक हेडिङ गोल गरे । दीपक ५१औँ मिनेटमा अञ्जनको स्थानमा प्रवेश गरेका थिए । राष्ट्रिय टोलीका लागि दीपकको यो पहिलो गोल हो । लाओसविरुद्ध अघिल्लो खेलमा प्रशिक्षक भिसेन्जो अल्बर्टाे एनेसले दीपकलाई डेब्यु गराएका थिए । 

हामीले राम्रो खेल्यौँ : पेमा पेमा, प्रशिक्षक, भुटान
नेपाली समर्थकलाई धन्यवाद छ । योजनाअनुसार खेल भयो । अन्तिम समयमा कर्नरमा गोल हुँदा निकै दुःखी भएँ । हामीले राम्रो खेल्यौँ । नेपालका प्रशिक्षक नयाँ छन् । सिनियर सबैजसो खेलाडी अस्ट्रेलिया पुगेका छन् । यसले नेपालले सोचेभन्दा कमजोर खेल्यो । 

दोस्रो हाफ राम्रो भयो : भिसेन्जो अल्बर्टाे, प्रशिक्षक, नेपाल 
भुटानसँगको दोस्रो हाफमा राम्रो भयो । हामीले तीन–चार अवसर गुमायौँ । अञ्जनले निकै राम्रो अवसर गुमाएका थिए । तर, दोस्रो हाफमा हामीले राम्रो गर्न सक्यौँ । मध्यान्तरपछि खेलाडीबीच केही तालमेल मिल्दा नेपालको कमब्याक भएको हो । नेपाल फाइनल पुग्नु नै महत्वपूर्ण हो ।

तालमेल नहुँदा गोल भयो : किरणकुमार लिम्बू, कप्तान, नेपाल
पहिलो हाफमा खेलाडीबीच तालमेल अभाव थियो । पहिलो हाफमा खेलाडी धेरै आत्मविश्वासी भएका थिए । नेपालले अनमार्कमा गोल बेहोरेको हो । भुटानसँग नेपालले राम्रो खेल्न सकेन । अञ्जनको मौका र दीपकको गोल अफसाइड भए । फाइनलका लागि राम्रो तयारी गर्नुपर्छ ।

नेपालको कमजोर प्रदर्शन 
६ हजार ६ सय ४० दर्शकमाझ नेपाल पहिलो हाफमा फिका देखियो । नेपाल दोस्रो हाफमा आक्रामक बनेको थियो । मनीष डाँगी, दीपकसिंहराज ठकुरी, कमल थापा र निशान खड्का मैदान प्रवेश गरेपछि नेपालले मध्यान्तरपछिको खेलमा परिवर्तन ल्याएको हो । खेलको ४५औँ मिनेटमा नेपालले बराबरी अवसर गुमायो । नवीन लामाको कर्नरमा अनन्त तामाङले हेडिङ गरेका थिए । सोही हेडिङमा पुजन उपरकोटीले मिलाएको पासमा सनिस श्रेष्ठले बारमाथि प्रहार गरे । खेलको ६९औँ मिनेटमा नेपाल गोलनजिक पुगेको थियो । एरिक विष्टले मध्यभागबाट मिलाएको पासलाई डिबक्सभित्र रहेका दीपकराजको प्रहार क्रसबारमाथिबाट गयो । खेलको अन्तिम इन्जुरी समयमा दीपकराजको गोल अफसाइड हुँदा नेपाल जितबाट वञ्चित भयो ।